भारतमा शनिबार बिहानको तथ्यांकअनुसार ‘कोभिड १९’ का संक्रमितहरूको संख्या ७ हजार नाघेको छ । प्राप्त समाचारअनुसार यहाँ शनिबार विहानसम्म ७ हजार ४४७ जनामा यसको संक्रमण भएको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकरी दिएको छ ।
पछिल्ला केही दिनमा कोभिड १९ का संक्रमितहरूको संख्या बढ्दै गएको छ । भारतमा शुरुदेखि नै सबैभन्दा बढी संक्रमित महाराष्ट्र राज्यमा देखिएका छन् । शुक्रबारजस्तै शनिबार पनि यो क्रम जारी नै रहेको सो मन्त्रालयले जानकारी दिएको छ ।
भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टा यता मृत्यु हुनेको संख्या पनि अहिलेसम्मकै सबैभन्दा धेरै पाइएको छ । गएको २४ घन्टामा यहाँ ४० जनाको ज्यान गएको सो मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या २३९ पुगेको भारतका स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् ।
महाराष्ट्रमा कोभिड १९ का संक्रमितहरू दिन प्रतिदिन बढ्दै गएको देखिएको छ । महाराष्ट्र राज्यमा मात्र संक्रमितहरूको संख्या १ हजार ५७४ जना पुगेको शनिबार बिहान प्राप्त समाचारमा जनाइएको छ ।
महाराष्ट्रमा मात्र ११० जनाको ज्यान गएको बताइएको छ । यहाँका १८८ जना उपचारपछि घर फर्किएका छन् ।
यसरी भारतका अरु राज्यहरूको तुलनामा महाराष्ट्र सबैभन्दा बढी प्रभावित भएको देखिएको समाचारमा जनाइएको छ । यसरी भारतमा केही दिनयता बढ्दो रुपमा यसका संक्रमितहरू देखिएका पनि बताइएको छ । यहाँका ६३४ जना संक्रमित भने उपचार पछि निको भएर घर फर्किएका छन् । मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ ६ हजार ५६५ जना कोरोनाका संक्रमित विरामी अस्पतालमा छन् ।
भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २३९ जना पुगेको पुष्टि भारतको स्वास्थ्य मन्त्रालयले गरेको छ ।