बंगलादेशमा रहेको विश्वको सबैभन्दा ठूलो शरणार्थी शिविरमा कोरोना भाइरसको संक्रमण भेटिएको छ । धेरै जनसंख्या भएको यस शिविरमा भाइरस फैलियो भने नियन्त्रण गर्न गाह्रो हुने भन्दै अगाडिदेखि नै चिन्ता बढिरहेको थियो ।
त्यहाँ अधिकांश रोहिंग्या शरणार्थी सन् २०१७ मा म्यानमारको सैनिक आक्रमणपछि आएर बसेका छन् ।
१० लाख जनसंख्या रहेको रोहिंग्या शरणार्थी शिविरमा कोरोना भाइरसबाट दुईजना संक्रमित भेटिएका छन् । सरकारी रोहिंग्या शरणार्थी रिपेटरिएसन कमिसनमा काम गर्ने एक चिकित्सकले कक्स बजारमा रहेका शरणार्थीमा कोरोना संक्रमणको पुष्टि भएको बताए ।
संक्रमित व्यक्तिलाई आइसोलेसनमा राखेर उपचार गरिइरहेको छ । यो शिविरमा मार्चको १४ देखि लकडाउन जारी छ ।
यो शिविरमा धेरै जनसंख्या, पानीको अभाव, सरसफाइको कमी आदि कारणले भाइरस संक्रमण फैलिन उपयुक्त वातावरण छ ।