कोरोना भाइरसको महामारीमा जुध्नको लागि अधिकांश देशमा लकडाउन गरिएको छ । बन्दाबन्दीमा सबै सामाजिक दूरी कायम गर्न बाहिर हिड्डुल बन्देज छ । तर कोरोना महामारी विश्वभर चलिरहदा केही देशमा न काम गर्नमा कुनै रोकतोक छ, न घुमफिर गर्नमै । उनीहरूको दैनिकी पुरानै अवस्थामा फर्किसकेको छ ।
कारण हो उनीहरूले कोरोना भाइरसलाई परास्त गरिसकेका छन् । अझै ती मध्ये कतिपयले कोरोनामुक्त देश समेत घोषणा गरेका छन् । विभिन्न स्रोतका आधारमा कोरोनामाथि विजयी हासिल गर्न सफल मुलुक र कोरोनामिुक्त हुन उनीहरूले चालेका प्रभावकारी कदमका बारेमा चर्चा गर्दैछौँ ।
स्लोभेनिया
विश्वका अधिकांश मुलुक कोरोना भाइरस (कोभिड–१९) सँग लड्न संघर्ष गरिरहदा १५ मे मा स्लोभानियाले कोरानालाई पराजित गर्यो । स्लोभेनिया सरकारले त्यसै दिन मुलुकलाई कोरोनामुक्त घोषणा गर्याे । यसरी कोरोनामाथि विजय घोषणा गर्ने स्लोभेनिया पहिलो युरोपेली देश हो ।
मार्च अन्तिमतिर स्लोभेनियामा दैनिक ४० देखि ७० संक्रमित भेटिएका थिए । फेब्रुअरी पहिलो हप्तामै महामारीविरुद्ध लड्न कमिटी गठित गरिएको थियो । स्लोभेनियामा प्रधानमन्त्रीको राजीनामापछि १३ मार्चमा सरकार परिवर्तन भएको थियो ।
त्यसको ३ दिनपछि अर्थात् १६ मार्चमा त्यहाँ पूर्णतः लकडाउन गरिएको थियो । यहाँ बाहिरबाट आएका हरेक व्यक्तिलाई १४ दिनका लागि क्वारेन्टाइनमा राखियो । १५ मेपछि सबै क्षेत्र खुल्न थाले, स्कुल पनि खोलिएको छ । त्यहाँ अहिले चार–पाँच जना संक्रमित उपचाररत रहे पनि नयाँ संक्रमति देखिएका छैनन् ।
आइसल्यान्ड
आइसल्यान्ड उत्तर युरोपमा अवस्थित ६ लाख ६४ हजार जनसंख्या रहेको टापू हो । आइसल्यान्डमा कोरोनाको पहिलो संक्रमित २८ फेब्रअरीमा भेटिएका थिए । त्यसपछि ५ मेसम्म कुल जनसंख्याको १३.५ प्रतिशत नागरिकको कोरोना परीक्षण गरियो । तर, जनवरीको अन्तिम साताबाटै आइसल्यान्डमा बाहिरबाट आउनेहरूलाई हस्पिटल लगेर परीक्षण गर्न थालिएको थियो । जुन बेला विश्वका धेरैजसो देशले एयरपोर्टमा मात्र स्क्रीनिङ गरी यात्रुलाई छाडिरहेका थिए ।
आइसल्यान्डमा भने भाइरसको ‘हट स्पट’ मानिएका देशबाट आएका मानिसलाई आइसोलेसनमा राख्न थालिएको थियो । कोरोना नियन्त्रण तथा रोकथामका लागि आइसल्यान्डले लकडाउनको सहारा लिनुपरेन । यद्यपि, हाइ स्कुल, हेयर सैलुन र अत्यावश्यकबाहेकका व्यवसायिक क्षेत्रलाई १५ मार्चदेखि बन्द गरियो । यी क्षेत्र ६ हप्तासम्म बन्द गरिए पनि ४ मेदेखि खुलाएको छ ।
ब्रुनाइ
ब्रुनाइको नेसनल आइसोलेसन सेन्टरमा अहिले १ जना मात्र संक्रमित भेटिएका छन् । त्यहाँ ७ मेपछि कुनै नयाँ केस बाहिर आएको छैन । ब्रुनाइमा लकडाउन पनि गरिएन ।
तर, राष्ट्रियस्तरमा केही आवश्यक दिशा–निर्देश जारी गरिएको थियो । ब्रुरुनेईले कोरोना महामारीलाई विना लकडाउन नियन्त्रित गरिदिएको छ ।
मोरिसस
अफ्रिकी महाद्वीपको दक्षिण–पूर्व किनारामा रहेको मोरिससमा १२ लाखको हाराहारीमा मानिस बस्छन् । तर, त्यो विश्वमा १०औं सबैभन्दा घनावस्ती भएको देश हो । जहाँ १८ मार्चमा पहिलो संक्रमित भेटिएको थियो ।
लगत्तै स्कुल, अत्यावश्यकबाहेकका पसल र बोर्डर बन्द गरियो । एकसातापछि २४ मार्चमा जब संक्रमितको संख्या ४२ पुग्यो, तब लकडाउन गरियो । मोरिससले लकडाउन अवधिमा परीक्षण र कन्ट्याक्ट ट्रेसिङलाई उच्च प्राथमिकतामा राखेर काम गर्यो । मोरिससले कोरोनालाई सजिलै हराउनुको एक कारण त्यो हो स्वास्थ्य सेवा प्रणाली निकै राम्रो सुधार गरिनु ।
न्युजिल्यान्ड
कोरोनाविरुद्ध पूर्णरुपमा जित हासिल गर्ने संघारमा रहेको अर्को मुलक हो, न्युजिल्यान्ड । त्यहाँ ३ फेब्रुअरीदेखि नै सरकारले चीनबाट आउने यात्रीलाई रोक लगाईएको थियो । त्यहाँ २८ फेब्रअरीमा पहिलो संक्रमित भेटिएका थिए । जब संक्रमितको संख्या १ सय नाघ्यो, तब २१ मार्चमा सरकारले सावधानी अपनाउन भन्दै लकडाउन गरियो । न्युजिल्यान्डमा कुनै व्यक्तिमा कोरोना पुष्टि भएको ४८ घण्टाभित्रै उसको कन्ट्याक्ट ट्रेसिङ गरिन्थ्यो । अर्थात्, कुनै व्यक्तिमा कोरोना पुष्टि हुनासाथ अघिल्ला दिनमा भेटेका सबै मानिसलाई सावधान रहन भनिन्थ्यो । परीक्षण नहुँदासम्म ‘होम क्वारेन्टाइन’मा रहने सल्लाह दिइन्थ्यो ।
त्यहाँ ५ हप्तापछि अर्थात् २८ अप्रिलदेखि सबै पसल र व्यवसाय खुलाइयो । त्यहाँ अन्तिम संक्रमित २० मेमा भेटिएका थिए । अर्थात् दुईसाता यता त्यहाँ नयाँ संक्रमित भेटिएका छैनन् । लकडाउन खुलाइनु र नयाँ संक्रमित पनि नभेटिनुले यहाँको जनजीवन सामान्य बनिसकेको छ ।
फरो आइल्यान्ड
डेनमार्कको स्वशासित आइल्यान्डले ९ मेमा नै आफूलाई कोरोनामुक्त क्षेत्र घोषणा गरेको थियो । ज्वालामुखी र चट्टानको १८ द्वीपको यो क्षेत्रमा अन्तिम संक्रमित २३ अप्रिलमा पहिचान गरिएको थियो । खुशीको कुरा त्यहाँ पनि कोरोनाबाट कसैको मृत्यु हुन पाएन । त्यहाँको स्थानीय सरकारले कोरोनामुक्त घोषणा गर्दा देशमा १८ प्रतिशत मानिसको परीक्षण भइसकेको थियो ।
फरो आइल्यान्डका प्रधानमन्त्री स्टेग नील्सनले कोरोनामाथि विजय हासिल हुनुको श्रेय समयमै चालिएको कदम र प्रशासनको गाइडलाइन्स पालना गर्ने आफ्ना जनतालाई दिएका छन् ।
कम्बोडिया
कम्बोडियामा २७ जनवरीमै पहिलो संक्रमित भेटिएका थिए । वुहानबाट फर्किएका ६० वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको थियो । त्यसपछि ७ मार्चमा एक स्थानीय व्यक्तिमा कोरोना भेटियो । यहाँको सरकारले यो सूचना पाउनासाथ ती जापानी नागरिकको सम्पर्कमा आएका मानिसहरूको ट्रेस सुरु गर्याे ।
ती व्यक्तिको सम्पर्कमा आएकामध्ये ३ जनाको रिपोर्ट नेगेटिभ आयो भने १ को पोजिटिभ आएको थियो । त्यसपछि ती ४ जनाको सम्पर्कमा आएका थप ४० कम्बोडियनलाई होम क्वारेन्टाइनमा बस्न भनियो । प्रशासनको यस्तो चुस्त कार्बाहीकै कारण कम्बोडियाले कोरोनामाथि जित हासिल गरेको छ।
टोबागो
त्रिनिदाद एवम् टोबागोमा २६ अप्रिलपछि ३१ मेमा कोरोनाको नयाँ संक्रमित भेटिएका थिए । ती व्यक्ति पहिलेदेखि नै क्वारेन्टाइनमा थिए । पहिलो संक्रमित १२ मार्चमा भेटिएका थिए । २९ मार्चमा लकडाउन गरियो । पोजिटिभ पाइएका मानिसको तीव्र कन्ट्याक्ट ट्रेसिङका कारण यहाँ संक्रमित बढेनन् । यहाँ कुल ३ हजार १ सय ६९ परीक्षण गरिएको थियो ।
अरुबा
एटलान्टिक महासागरको यो सानो आइल्यान्डले १३ मार्चमा पहिलो संक्रमित भेटिएको ४ दिनपछि नै आफ्ना सीमाहरू सिल गरेको थियो । यहाँ २८ मार्चबाट राति ९ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यू लगाइएको थियो । साथै, मानिसहरूलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन भनिएको थियो । यहाँ मेसम्म कर्फ्यू तोड्ने १ सय ८० मानिसलाई गिरफ्तार गरिएको थियो । मात्र १ लाख जनसंख्या भएको यो देशमा मार्चपछि कोरोना संक्रमित भेटिएका छैनन् ।