प्रतिलिपि अधिकार दाबी भएपछि फेसबुक, इन्स्टाग्राम र ट्विटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १० दिन अगाडि प्रहरीबाट हत्या गरिएका जर्ज फ्लोइडप्रति समर्पित भिडिओलाई हटाइदिएका छन्।
सो भिडिओमा प्रदर्शनका फोटो र भिडिओ छन् भने नेपथ्य राष्ट्रपति डोनाल्ड ट्रम्पको आवाज सुन्न सकिन्छ। भिडिओ हिंसाका उदाहरणहरू समेत दिइएको छ।प्रहरीको ज्यादतीबाट जर्ज फ्लोइडको मृत्यु भएपछि १० दिन देखि अमेरिकाभर निरन्तर प्रदर्शन भइरहेको छ।
गत शुक्रबार भिडिओ हटाइएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटरले चरमपन्थी वामपन्थीहरू सहयोग गर्ने त्यस्तो गरेको आरोप लगाएका थिए। उनले ट्विटरको कदम एकतर्फी भएको आरोप लगाएका छन्।
ट्विटरले भने प्रतिलिपि अधिकारको दाबी पुगेकाले भिडिओ हटाएको जनाएको छ।
यसैगरी इन्स्टाग्रामको समेत स्वामित्व भएको फेसबुकले पनि भिडिओको कन्टेन्टमाथि वास्तविक अधिकार भएका व्यक्तिको दाबीपछि भिडिओ हटाएको जनाएको छ।
हटाइएको ३ मिनेट र ४५ सेकेण्ड लामो भिडिओ बुधबार ट्रम्पको राष्ट्रपति चुनावमा संलग्न अभियानले ट्विट गरेको थियो।
भिडिओलाई ट्रम्पको आधिकारिक यूट्यूब च्यानल र फेसबुकमा समेत अपलोड गरिएको थियो। फेसबुक र यूट्यूबमा गरेर सो भिडिओ १४ लाख पटक हेरिएको रोयटर्सले जनाएको छ।
युट्युबले भने ट्रम्पको चुनावी अभियानले अपलोड गरेको भिडियो ट्विटरमा अपलोड गरिएको भिडिओसँग नमिल्ने र प्रतिलिपि अधिकार लाग्ने नदेखिएकाले नहटाएको जनाएको छ।
ट्रम्पले गरेका दुई ट्वीटमा ट्विटरले तथ्य जाँचको चिन्ह लगाइदिएपछि ट्रम्प प्रशासन र ट्विटर टकरावको अवस्थामा छन्।त्यसको प्रतिक्रियामा ट्रम्पले केही दिन पहिले सामाजिक संजालहरूलाई दिदैं आएका केही विशेष कानुनी सुरक्षालाई हटाउने आदेश दिएका थिए।
विगतमा पनि ट्वीटरले ट्रम्पका दुई वटा भिडिओ हटाइदिएको थियो । ती भिडिओमा ब्याटम्यान सिरिज सिनेमाको 'द डार्क नाइट राइजेज' र निकेलब्याकको 'फोटोग्राफ'को आवाज प्रयोग भएका थिए।