चीनमा लगातार दोस्रो दिन कोरोना संक्रमितको संख्या थपिएपछि लकडाउन गरी आसपासका हजारौँ मानिसको परीक्षण सुरु गरिएको छ ।
बेइजिङको हेडियान इलाकामा एक थोक बजारमा कोरोना संक्रमित भेटिएपछि सो आसपासका १० इलाकामा लकडाउन लागू गरिएको छ साथै परीक्षण गर्ने काम जारी रहेको अधिकारीहरूले जनाएका छन् । पछिल्लो २४ घन्टामा ४९ जना नयाँ संक्रमित थपिएको र त्यसमध्ये ३६ संक्रमित बेइजिङका रहेको जनाएका छन् ।
चीनमा पछिल्लो दुई दिनदेखि पुनः कोरोना संक्रमितको संख्या बढ्न थालेको हो । यसअघि गत साता बेइजिङमा रहेको एक खाद्य बजारमा कोरोना संक्रमण पाइएको थियो ।
गत वर्षको डिसेम्बरमा वुहानबाट कोरोना भाइरसको संक्रमण फैलिए पनि चीनले त्यसलाई नियन्त्रणमा लिन सफल भएको थियो ।