अफगानिस्तानको मार्डियान जिल्लाको एक सडकमा राखिएको बम विस्फोट हुँदा सोही बाटो भएर हिँडेका ६ जना सर्वसाधारण नागरिकको ज्यान गएको छ । अफगानिस्तानको उत्तरी जाजियान प्रान्तमा बुधबार सो दुर्घटना भएको प्राप्त समाचारमा जनाइएको छ ।
उक्त प्रान्तका प्रवक्ता अब्दुल मरुफ अजरले सो जानकारी दिएका हुन् । उनले उक्त सडकमा बेवारिसे अवस्थामा राखिएको बम विस्फोट भएर तीन जना बालबालिका र दुई महिलासहित ६ जनाको ज्यान गएको बताए ।
अफगानिस्तानको आन्तरिक मामिलासम्बन्धी मन्त्रालयका प्रवक्ता तारिक आरियानले अफगानिस्तानमा हिंसा मच्चाइरहेका तालिबान आतंककारीहरुले सो बम राखेको हुन सक्ने कुराको जानकारी दिए ।
उक्त प्रान्तमा पनि तालिबानहरुको ठूलो उपस्थिति रहेको बताइएको छ । त्यसैले तालिबानले नै बम राखेको उनले जानकारी दिए । तर तालिबानहरुले भने यस विषयमा कुनै पनि प्रतिक्रिया दिएका छैनन् । यसअघि भने उनीहरुले अफगास्तिानमा यसैगरी बम विस्फोट गराएर सर्वसाधारणको हत्या गर्ने गरेका थिए ।