चीनले तिब्बती पठारमा आफ्ना सैनिकलाई तालिम दिनका लागि मार्सल आर्टका २० प्रशिक्षकलाई पठाएको छ । सैनिकलाई मार्सल आर्टको तालिम दिनका लागि प्रशिक्षक पठाउनुको आधिकारिक कारण भने चीनले खुलाएको छैन । तर, भारतीय सैनिकसँग भएको भिडन्तपछि चीनले लिएको यो निर्णयलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
सो भिडन्तमा भारतीय सैनिकका एक उच्च अधिकारीसहित २० जनाको ज्यान गएको थियो । चीनतर्फ पनि हताहती भएको अनुमान गरिएको छ, तर चीनले अहिलेसम्म कुनै पनि आधिकारिक जानकारी दिएको छैन ।
सन् १९९६ मा भएको सम्झौताअनुसार एलएसी क्षेत्रमा सुरक्षाका लागि खटिने दुवै तर्फका सैनिकले बन्दुक वा बिस्फोटक पदार्थ बोक्न पाउँदैनन् । तर, भारतले हालकै भिडन्तपछि अवस्था हेरेर हतियार प्रयोग गर्न पाउने गरी सेनालाई निर्देशन दिएको छ ।
आर्मीलाई तालिम दिन मार्सल आर्टका प्रशिक्षक पठाइने सम्बन्धी खबर चीनको आधिकारिक सञ्चारमाध्यमले जुन २० मा प्रकाशित गरेको हङकङका सञ्चारमाध्यमले जनाएका छन् ।
चीनको सरकारी टेलिभिजन सिसिटिभीका अनुसार इनबो फाइट क्लबका २० प्रशिक्षकहरु तिब्बतको राजधानी ल्हासामा बस्ने बसेको जनाइएको छ । तर, चिनियाँ सञ्चारमाध्यमले ती प्रशिक्षकले भारतसँगको सीमामा रहेका सैनिकलाई प्रशिक्षण दिएको वा दिइरहेको भन्ने कुरा पुष्टि गरेका छैनन् ।
परमाणु हतियारयुक्त भारत र चीनले हालै भएको सीमा भिडन्तका लागि एकअर्कामाथि दोष लगाउँदै आएका छन् ।
४५ वर्षपछि भारत–चीन सीमामा सैनिकको ज्यान जाने गरी भएको भिडन्तपछि उत्कर्षमा पुगेको तनाव सैन्य तथा कूटनीतिक वार्ता मार्फत समाधान गर्नका लागि तत्पर रहेको दुवै पक्षले बताउँदै आएका छन् । त्यसका लागि वार्ताहरु पनि भइरहेका छन् । तर, आरोप–प्रत्यारोपको शृङ्खला भने जारी छ ।