काठमाडौं । कोरोना भाइरसका कारण विश्वमा खस्किएको राष्ट्रिय अर्थतन्त्र र शैक्षिक उद्योगलाई मध्यनजर गर्दै अस्ट्रेलियन सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीहरुको भिषा आवेदन खोल्ने तथा केही सहुलियत समेत प्रदान गर्ने निर्णय गरेको छ।
अस्ट्रेलियन सरकारको चौथो ठूलो आम्दानीको स्रोतका रुपमा रहेको शैक्षिक उद्योगको हालत दिनानुदिन खराब बन्दै गएपछि अस्ट्रेलियन सरकारले अन्तर्राष्ट्रिय उडान सुरु हुनेवित्तिकै विध्यार्थीका लागि बाटो खुला गरिदिने निर्णय गरेको हो ।
खनिज, पर्यटन र शैक्षिक उद्योग अस्ट्रेलियाको आम्दानीका मुख्य स्रोत हुन्। त्यसमा पर्यटनको शून्यता अनि शैक्षिक उद्योगको खस्कदो अवस्थाले अस्ट्रेलियाको अर्थतन्त्रमै प्रभाव पारेको छ। जसका कारण धेरैपछि यो मुलुकमा आर्थिक मन्दी छाएको थियो ।
सोमबार राति अस्ट्रेलियन आप्रवासन मन्त्री एलन टजले अन्तर्राष्ट्रिय सीमा खोल्ने वित्तिकै विद्यार्थीहरुको आगमन प्रारम्भ हुने बताएका छन्।
अस्ट्रेलिया बाहिर रहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरु जसको भिषा सकिएको छ, उनीहरुका लागि पुन भिषा आवेदनमा समेत कुनै शुल्क नलाग्ने निर्णय गरिएको छ ।
यस्तै कोरोनाका कारण अस्ट्रेलिया बाहिर बसेर अनलाइन पढाइ गरिरहेका विद्यार्थीका लागि पढाइपछि टिआरको ब्यवस्थापन गरिने भएको छ। कोरोनाका कारण अंग्रेजी भाषा परीक्षा प्रभावित भएका विद्यार्थीका लागि थप समय प्रदान गरिने निर्णय समेत सरकारले गरेको छ।
कोरोनाका कारण देश बाहिर अड्किएर बसेका विद्यार्थींले अब त्यहीबाट टिआर आवेदन गर्न सकिने व्यवस्था समेत गरिएको मन्त्री टजले बताएका छन् ।
‘यो अत्यन्तै सकरात्मक सन्देश हो यसले विद्यार्थीमा छाएको नैराश्यता केही हदसम्म समाधान गर्ने प्रयास गरेको छ,’ किङ्गस्टन इन्सिच्युटका निर्देशक दीपक खनालले सरकारको निर्णयपछि प्रतिक्रिया दिँदै भने।
‘काम विशेषले अस्ट्रेलिया छाडेका र उतै अड्किएका विद्यार्थी तथा नयाँ आउन चाहनेहरुको लागि अब बाटो खुलेको छ, मात्र अन्तर्राष्ट्रिय उडान खुल्ने प्रतिक्षा रहेको छ’, खनालले भने ।