अफगानिस्तानको नान्गाहार प्रान्तमा भएको तिब्र गतिको बाढीका कारण कम्तीमा १६ जनाको मृत्यु भएको छ । शुक्रबार अबेर राती आएको बाढीमा परी मृत्यु भएकामध्ये अधिकांश बालबालिका रहेको अधिकारीहरूले जनाएका छन् ।
बाढीले अरु सयौँ घर तथा भौतिक संरचनाहरूमा समेत क्षति पुर्याएको अधिकारीहरूको भनाइ छ । देशको नान्गाहार प्रान्तमा पर्ने कोज्कुनार जिल्लामा घटना भएको प्रान्तीय सरकारका प्रवक्ता अतुल्लाह खोगिएनीले शनिबार जानकारी दिए ।
“अत्यधिक वर्षापछि आएको बाढीका कारण मृत्यु भएका १६ जना मध्ये १२ जना त बालबालिका मात्रै रहेका छन्,” उनले भने । बाढीमा परेर अरु चार जना बालबालिका अझै पनि बेपत्ता अवस्थामै रहेको प्रवक्ता खोगिएनीले बताए ।
बाढीमा परेकाहरूलाई उद्धार गर्ने, घाइतेहरूलाई उपचार गर्ने र बेपत्ता भएकाहरूको खोजी गर्ने कार्य भने जारी रहेको उनकाे भनाइ छ ।