काठमाडौं । एक साताअघि मात्र महावौद्धमा व्यवसाय गर्ने व्यक्तिमा कोरोना भाइरस संक्रमण देखियो । उनी नेपाली थिएनन् । लकडाउन र सीमा बन्द भएकै अवस्थामा उनी काठमाडौं आइपुगेर व्यापार व्यवसाय चलाउन थालिसकेका थिए । भारतसँगको सीमादेखि काठमाडौंसम्म सबैतिर कडा गरेको सरकारी दावी कति कमजोर छ भन्ने दृष्टान्त दिन यो केस पर्याप्त छ ।
अहिले दैनिक ५० हजारभन्दा धेरै संक्रमित रेकर्ड गर्न थालेको ६ दिन भइसक्यो छिमेकी मुलुक भारतमा । नेपालसँग खुला सीमा भएकाले त्यहाँ हुने संक्रमणको वृद्धिदरले यहाँ सोझो प्रभाव छाड्छ । भारतबाट नेपाल भित्रने नेपालीमात्र होइन, भारतीय कामदार र व्यवसायीसमेत छन् जो विभिन्न उपाय लगाएर आउनेक्रम जारी छ ।
नेपालसँग सबैभन्दा लामो सीमा जोडिएका भारतीय राज्यहरु बिहार र उत्तर प्रदेश अहिले कोभिड १९ बाट अत्याधिक प्रभावित छन् । त्यसैले त्यहाँको जोखिमले नेपालमा असर पारिरहन्छ । नेपालमा पनि कतिपय ठाउँमा कोरोना समुदाय स्तरमा फैलिसकेको छ ।
भारतबाट आउनेक्रम घटे पनि समाप्त भइसकेको छैन । तर, क्वारेन्टाइनमा राख्ने र उनीहरुमाथि निगरानी बढाउनेक्रममा भने सुस्तता बढ्दै गएको छ । त्यसले नेपाल भयमुक्त हुने अवस्थाभन्दा धेरै पर पुगिसकेको छ ।
बिहार भारतको राज्यहरुमा सबैभन्दा कम कोरोना भाइरस परीक्षण भएको राज्यमा पर्छ । नेपालसँग सबैभन्दा लामो सीमा यही राज्यसँग जोडिएको छ । नेपालको प्रदेश नम्बर दुई पूर्णत यही राज्यसँग जोडिएको छ भने प्रदेश १ र वाग्मती प्रदेशका केही क्षेत्रसँग सीमा जोडिन्छ ।
बिहारमा सोमबारसम्म ५७ हजार २४ जनामा कोरोना भाइरस संक्रमित रेकर्ड भएका छन् । त्यहाँ ३ सय २९ जनाको मृत्यु भइसकेको छ । र, कम परीक्षण हुनुका कारण संक्रमितको संख्या कम देखिएको हो, भारतका अन्य राज्यको तुलनामा ।
नेपालसँग लामो सीमा जोडिने भारतको अर्को राज्य उत्तर प्रदेश हो जहाँ कोरोनाको कहर गहिरिँदो छ । उत्तर प्रदेशले मध्य नेपालदेखि पश्चिम नेपालसम्म जोड्छ । प्रदेश नम्बर ५ र सुदूर पश्चिमसँग जोडिएको उत्तर प्रदेशबाट संक्रमित भित्रने सम्भावना अत्याधिक छ ।
उत्तर प्रदेशमा संक्रमित संख्या केही दिनभित्रै एक लाख भन्दा धेरै हुने छ । सोमबारसम्म त्यहाँ ९२ हजार ९ सय २१ जना रेकर्ड भएका संक्रमित छन् । त्यहाँ १ हजार ७ सय ३० जना संक्रमितले ज्यान समेत गुमाइसकेका छन् ।
उत्तर प्रदेश र बिहार दुवै भारतका अत्याधिक जनसंख्या भएका राज्यहरु हुन् । यी दुवै राज्य भारतका अन्य राज्यको तुलनामा आर्थिक र शैक्षिक लगायतका इन्डिकेटरमा पनि कमजोर छन् । दुवै राज्यबाट धेरै संख्यामा कामदारहरु भारतका अन्य राज्यमा कामका लागि जाने गर्छन् । नेपालमा पनि सबैभन्दा धेरै यिनै दुई राज्यबाट भारतीयहरु काम तथा व्यवसायका लागि नेपाल भित्रने गर्छन् ।
पूर्वी नेपालसँग जोडिएको भारतीय राज्य पश्चिम वंगाल पनि कोरोनाको चर्को चपेटामा छ। त्यहाँ ७५ हजार ५ सय १६ जना रेकर्डेड संक्रमित छन् । वंगालमा १ हजार ६ सय ७८ जनाले ज्यान गुमाइसकेका छन् । बिहार र उत्तर प्रदेशबाट जस्तो पश्चिम बंगालबाट नेपाल आउजाउ हुँदैन । तर, थोरै संख्यामा नै भए पनि ओहरदोहरले संक्रमणको जोखिमलाई पनि ज्युँदै राख्छ।
पश्चिम नेपालसँग जोडिएको उत्तराखण्डमा संक्रमित संख्या केही कम छ । त्यहाँ ७ हजार ५ सय ७९ जनामा संक्रमण देखिएको छ भने ८६ जनाले ज्यान गुमाइसकेका छन् । महाकाली नदीका कारण सीमा वारपार गर्न कठिन भए पनि ठप्प भने छैन । पूर्वी नेपालसँग जोडिएको भारतको राज्य सिक्किममा भने कोरोना संक्रमण दर अन्यत्र हेरी कम छ । त्यहाँ अहिलेसम्म ६ सय ५८ जनामा संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु ।