एजेन्सी । बेलारुसका राष्ट्रपति एलेक्जेन्डर लुकाशेन्काका विपक्षीहरू हजारौँको सङ्ख्यामा राजधानी मिन्स्कमा भेला भएर विवादित चुनावविरूद्ध प्रदर्शन गरेका छन् । सरकार समर्थक प्रदर्शन विपक्षीको भन्दा सानो थियो ।
धाँधलीपूर्ण भनिएको चुनावी नतिजा र विगतका प्रदर्शनमा भएको प्रहरी हस्तक्षेपलाई लिएर बढ्दो आक्रोशकाबीच ‘स्वतन्त्रताको निम्ति अभियान’ भन्ने मूल नाराका साथ उनीहरू राजधानीमा भेला भएका हुन् ।
जानकारी अनुसार राष्ट्रपति विरोधी प्रदर्शनमा करिब दुई लाख २० हजार मानिस सहभागी भएका छन् । विपक्षी नेतृ स्भेट्लाना तिखानोभ्स्कायाले सप्ताहन्तमा भेला हुन गरेको आग्रहपछि प्रदर्शनमा कैयौँ हजार मानिस सहभागी भएका हुन् । उनी भने प्रवासमा छन् ।
तर, उक्त भेलालाई सम्बोधन गर्दै उनको पूर्व समूहकी सदस्य मारिया कोलेनिस्कोवाले भनिन्, ‘तपाईँहरू अद्भूत हुनुहुन्छ, म तपाईँहरूलाई माया गर्छु, साथीहरू यो अन्तिम मौका हो, राम्रो र जनताको पक्षमा उभिनुस् ।’
पोल्याण्ड र चेक गणतन्त्रमा पनि बेलारुसका प्रदर्शनकारीको समर्थनमा भिड जम्मा भएको छ । फ्रेन्च राष्ट्रपतिले शान्तिपूर्ण प्रदर्शनमा युरोपेली संघको समर्थन जारी रहने बताए ।
राष्ट्रपतिको आग्रह
विपक्षीहरूको भन्दा सानो कैयौँ हजार मानिसहरूको भिडलाई सम्बोधन गर्दै राष्ट्रपति लुकाशेन्का विपक्षीहरूविरुद्ध खनिएका थिए । उनले आफ्ना समर्थकलाई देश र स्वतन्त्रताको रक्षा गर्न आग्रह गरे ।
बेलारुसका निम्ति बाह्य सैन्य खतरा देखिएमा सुरक्षा सहायता गर्न रुसले सहमति जनाएपछि सरकार विरोधी र्यालीहरू निस्किरहेका छन् । लुकाशेन्काले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सप्ताहन्तमा दुईपटक कुराकानी गरेपछि विरोध र्याली आयोजना हुन थालेका हुन् ।
लामो समयदेखि बेलारुसमा शासन गरिरहेका उनले छिमेकी देशहरूमा नेटोको सैन्य अभ्यासलाई लिएर आपत्ति जनाएका छन् । तर तिखानोभ्स्कायाले राम्ररी मतगणना गरिएको स्थानमा आफू ६० देखि ७० प्रतिशत मतका साथ विजयी भएको दाबी गरेकी छन् ।
‘राज्यको मृत्यु’
सरकार पक्षीय र्यालीमा स्थानीय सञ्चार माध्यमले ३१ हजार र आन्तरिक मामिला मन्त्रालयले करिब ६५ हजार मानिस सहभागी रहेको अनुमान गरेका छन् । आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै लुकाशेन्काले आफ्नो रक्षाको निम्ति केही आवश्यक नरहेको बताए ।
उनले पुनः मतदानको माग अस्वीकार गर्दै त्यसो भएमा बेलारुस राज्यको मृत्यु हुने बताए । गत आइतवारको चुनावमा भारी मतका साथ विजयी भएको लुकाशेन्काको घोषणा पछि बेलारुस अशान्त छ ।
मतदान र मतगणनामा धाँधली भएको भन्दै उक्त चुनावको व्यापक रूपमा विरोध भइरहेको छ । त्यहाँको निर्वाचन आयोगले सन् १९९४ बाट शक्तिमा रहेका लुकाशेन्काले ८० प्रतिशतभन्दा बढी मत पाएको र मुख्य विपक्षी स्भेट्लाना तिखानोभ्स्कायाले १० प्रतिशतभन्दा केही बढी भोट पाएको जनाएको छ ।– बीबीसी