काठमाडौं । नेपाल-भारत ज्वाइन्ट ओभरसाइड मेकानिज्म (संयुक्त निगरानी संयन्त्र) को भर्चुअल बैठक सम्पन्न भएको छ ।
सोमबार बसेको सो बैठकले नेपालमा भारतीय सहयोगमा निर्माणाधीन परियोजनाहरूको प्रगति सन्तोषजनक रहेको निष्कर्ष निकालेको छ ।
बैठकमा आयोजनाहरूको प्रगतिलाई सन्तोषजनक मान्दै आवश्यकताअनुसार थप सहकार्य गरी परियोजनालाई टुंग्याउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।
तराईका सडक, सीमापार रेल, अरुण–३ हाइड्रोपावर परियोजना, पेट्रोलियन पाइप लाइन, पञ्चेश्वर बहुउद्देश्यीय परियोजना, भूकम्पपछिको पुननिर्माण, सिंचाइ, प्रसारण लाइन, नेपाल पुलिस एकेडेमीको निर्माण, एकीकृत जाँच चौकी, रामायण सर्किट, महाकाली नदीमा पुल, कृषि, सांस्कृतिक सम्पदाको संरक्षणका विषयमा छलफल भएको पनि बताइएको छ ।
त्यसैगरी, बैठकपश्चात विज्ञप्ति जारी गर्दै भारतीय दूतावासले पछिल्लो एक वर्षमा भारत सरकारले नुवाकोट र गोरखामा भूकम्प प्रभावितहरूलाई ४६ हजार ३०१ घर निर्माणमा सहयोग गरेको जनाउँदै कोभिड–१९ को समयमा पनि नेपाललाई आवश्यक समयमा स्वास्थ्य सामग्री र औषधि सामग्री भारतले सहयोग गरेको उल्लेख छ ।
यसका अलवा सो विज्ञप्तिमा भारतीय सहयोगमा सञ्चालित विकास परियोजनाहरूको अनुगमन र समीक्षा गर्न केही अप्ठेरो अवस्था भए त्यसको गाँठो फुकाउने सहमति भएको बताइएको छ ।
भारतले नेपालमा लगानी गरेको परियोजनाहरूको कामको नतिजा राम्रो नभएपछि दुई सरकारबीच उक्त संयन्त्र बनाउने निर्णय भएको थियो ।
पछिल्लो समय नेपाल भारतबीच उत्पन्न भएको दरारका बीचमा भएको यो बैठक र दुवै देशका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता भएको छ । यी दुवैलाई महत्वका साथ हेरिएको छ ।