अफ्रिकी राष्ट्र मालीमा विद्रोही सैनिकहरूले ‘कु’ गर्ने प्रयास गरेको बीबीसीले उल्लेख गरेको छ । राष्ट्रपति इब्राहिम केइताविरुद्ध केही समययता भइरहेको प्रदर्शनबीच सैनिकहरुले सत्ता आफ्नो हातमा लिएको बताइएको छ ।
अफ्रिकन युनियनका प्रमुख मौसा फकी महामतले मंगलबार सेनाले मालीका राष्ट्रपति र प्रधानमन्त्रीलाई सेनाले पक्राउ गरेकोमा ट्वीटरमार्फत कडा शब्दमा निन्दा गरेका छन् । सैनिकहरुले राष्ट्रपति काइता र प्रधानमन्त्री बउबउ सिस्सीलाई पक्राउ गरेको स्थानीय संचारमाध्यमहरूले जनाएका छन् ।
मंगलबार राजधानीको स्वतन्त्रता स्मारक वरपर बामकोमा प्रदर्शन समेत भएको छ । मालीका न्यायमन्त्रीको स्वामित्वमा रहेको एउटा भवनमा आगो लगाइएको छ भने त्यहाँ लुटपाट पनि गरिएको छ ।
मंगलबार बिहान राजधानी सहरको बाहिर १५ किलोमिटर टाढा रहेको सैनिक शिविरमा विद्रोहको प्रयासको खबर आएको थियो । कूटनीतिक स्रोतको हवला दिँदै त्यहाँ सैनिक शिविरमा विद्रोह भएको सञ्चारमाध्यमहरूले जनाएको छ ।
यता, अफ्रिकी युनियनले मालीमा गरिएको ‘कु’ को विरोध गरेका छन्। फ्रान्सले पनि सेनालाई सत्ता आफ्नो हातमा नलिन र ब्यारेकमा फर्कन आग्रह गरेको छ।