काठमाडाैं । मालीका राष्ट्रपति इब्राहिम बुबाकार केइटाले आफ्नो पदबाट राजीनामा दिएका छन् । मालीको सरकारी टिभीमा सम्बोधन गर्दै उनले संसद् र सरकार पनि भङ्ग गरेको घोषणा गरेको बिबिसीले जनाएको छ ।
‘आफ्नो शासनकालमा रक्तपात भएको म हेर्न चाहन्न’, राष्ट्रपति बुबाकारकाे भनाइ छ ‘सेनाले आफ्नो शक्तिको आडमा मेरो शासनलाई खतम पार्छ भने म के गर्न सक्छु र ?’
राष्ट्रपति इब्राहिमले टिभी च्यानलमार्फत यो घोषणा गर्नुभन्दा केही घण्टा पहिले मालीका विद्रोही सैनिकले राष्ट्रपति इब्राहिम, प्रधानमन्त्री बोबू सिसेलगायत केही सरकारी अधिकारीहरुलाई हिरासतमा लिएको थियो ।
सेनाको यस विद्रोहको सुरुवात मंगलबार मालीको राजधानी बामाको नजिक सैनिक क्याम्पमा गोलीको आवाजसँगै भएको थियो । मालीको सेनामा जिहादी चरमपन्थीसँगको लगायतार संघर्ष र आफ्नो तलबको विषयलाई लिएर लामो समयदेखि असन्तुष्टि थियो ।
राष्ट्रपति इब्राहिमले सन् २०१८ मा लगातार दोस्रोपटक चुनाव जितेका थिए । दोस्रो कार्यकालमा पनि भ्रष्टाचार, अर्थव्यवस्था बिग्रिनु तथा साम्प्रदायिक हिंसा बढेका कारण राष्ट्रपति प्रति असन्तुष्टि बढेको थियो ।
यिनै कारणले गर्दा मालीमा केही महिनादेखि ठूलो मात्रामा विरोध प्रदर्शन हुँदै आएका थिए ।