विश्वभरि करिब ४० प्रतिशत वनस्पति र जीवजन्तु लोप हुने खतरा बढेको छ ।
कतिपय नयाँ प्रजातिहरुको नाम र उनीहरुका बारेमा विस्तृत विवरण संकलन गर्न नपाउँदै प्रजातिहरु लोप हुने गरेकाले आफूहरुलाई तथ्यांक राख्नै समय अपुग हुने गरेको अनुसन्धानकर्ताले बताएका छन् ।
विश्वका हरेक पाँच प्रजातिका वनस्पति मध्ये दुई प्रजाति प्राकृतिक वातावरणमाथि मानवीय अवरोधका कारण लोप हुने अवस्थामा पुगेको अन्तर्राष्ट्रिय अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।
वनस्पती तथा फङ्गाई पृथ्वीमा मानव तथा प्राणीको अस्तित्वका लागि महत्वपूर्ण पक्ष हुन् । तर अहिले वनस्पति तथा फङ्गाईहरु पहिचान गर्न नपाउँदै लोप हुने क्रममा रहेको वैज्ञानिकहरुले बताएका छन् ।
किव डाइरेक्टर अफ साइन्स, प्राध्यापक एलेक्सान्ड्रे एन्तोनेलीले अहिलेको समय लोपको समय रहेको बताएका छन् । उनले भनेका छन्, ‘हामी अहिले लोपको युगमा छौँ । यो अति चिन्ताजनक कुरा हो र तत्काल प्रभावकारी कदमको खाँचो छ ।’
उनले भनेका छन्, ‘हामीले यो दौड हारिरहेका छौँ किनकि हामीले थाहा पाउनुभन्दा पहिले नै वनस्पतिहरु लोप भएका छन् ।’
बाँकी रहेका वनस्पति मध्ये सीमित मात्रै खाद्यान्न तथा इन्धनका रुपमा प्रयोग गर्न मिल्ने रहेको प्रतिवेदनमा उल्लेख छ ।
विश्वमा अहिले सात हजार भन्दा बढी वनस्पति मात्रै खान योग्य क्षमताको रहेको र तिनीहरुलाई भविष्यमा खाद्यान्न बालीका रुपमा प्रयोग गर्न मिल्ने देखिएको छ । त्यसमध्ये पनि सीमित मात्रै बढ्दो जनसंख्याको खाद्य माग पूरा गर्नका प्रयोग गरिएको छ ।
यस्तै झण्डै २५ सय वनस्पतिले विश्वका दशौँ लाख मानिसलाई इन्धन प्रदान गर्न सक्ने प्रतिवेदनमा उल्लेख छ ।
वनस्पति लोप हुने दर यसअघि आँकलन गरिए भन्दा अत्याधिक रहेको अनुमान वैज्ञानिकले बताएका छन् । विश्वबाट एक लाख ४० हजार अर्थात ३९.४ प्रतिशत भास्कुलर प्लान्टहरु लोप हुने जोखिममा रहेको वैज्ञानिकले आँकलन गरेका छन् । यो दर सन् २०१६ मा २१ प्रतिशत थियो ।
औषधिका रुपमा प्रयोग हुने ७२३ प्रजातिका वनस्पतिसमेत लोप हुने जोखिममा रहेको पाइएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । सन् २०१९ मा १९ सय ४२ वनस्पति तथा १८ सय ८६ नयाँ फङ्गाई विज्ञानिकले सूचिकृत गरेका छन् ।