स्टकहोम । अमेरिकी कवियत्री लुईस ग्लुकलाई साहित्य तर्फको नोवेल पुरस्कार प्रदान गर्ने घोषणा गरिएको छ । कवितामा पारिवारिक जीवन र मानव हुनुका पिडासम्वन्धी विषयहरुलाई अति प्रभावकारी तरिकाले प्रस्तुत गरिएकाले उनलाई नोवेल पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो ।
नोवेल पुरस्कार छनौट कमिटिले बिहीबार उनलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको समाचारमा जनाइको छ । नोवेल पुरस्कारको ११२ वर्षीय इतिहासमा नोवेल साहित्य पुरस्कार पाउने उनि १६औँ महिला साहित्यकार हुन् । न्युयोर्कमा जन्मिएकी ग्लुक अहिले ७७ वर्षको भएकी छन् । उनि याले विश्वविद्यालयको संकाय सदस्य पनि छन् ।
उनलाई कवितामा मृत्यु, बाल्यकाल र पारिवारिक जीवनलाई काव्यिक शैलीमा प्रस्तुत गर्न सिपालु कवियत्रीका रुपमा चिनिन्छ । उनले सन् १९९३ मा द वाईल्ड आईरिसका लागि पुलिट्जर पुरस्कार र सन् २०१४ मा नेस्नल बुक अवार्ड पनि पाएका थिए ।
यस वर्ष नोवेल पुरस्कार घोषणा गर्नेक्रममा चिकित्साशास्त्र, भौतिक शास्त्र र रसायनशास्त्रका विजेताको नाम यसअघि नै घोषणा भइसकेको छ । साहित्य तर्फको नोवेल पुरस्कार गत बर्ष पोल्याण्डका लेखक ओल्गा तोकाचुक र अस्ट्रियाका नाटककार पिटर हान्क दुवैलाई संयुक्त रुपमा प्रदान गरिएको थियो ।