एजेन्सी । सन् २०२० को नोबेल शान्ति पुरस्कार संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमलाई प्रदान गरिने भएको छ । एक वर्षमा ८८ देशका ९ करोड ७० लाख मानिससम्म सहयोग पुर्याउन सफल राष्ट्रसंघीय खाद्य कार्यक्रमले नोबेल शान्ति पुरस्कार पाउन सफल भएको हो ।
नर्वेको नोबेल कमिटीकी अध्यक्ष बेरिट राइस एन्डर्सनले नोबेल शान्ति पुरस्कारको घोषणा गरिन् । उनले सन् २०१९ मा ८८ देशका करिब १० करोड मानिससम्म विश्व खाद्य कार्यक्रमले सहायता पुर्याएको भन्दै प्रशंसा गरेकी छन् ।
विश्व खाद्य कार्यक्रमम विश्वभरका मानिसको भोक मेटाउने र खाद्य सुरक्षालाई बढावा दिने सबैभन्दा ठूलो संगठन हो । संगठनले कोरोनाका क्रममा विश्वभरमा गरिब तथा भोकमरीमा परेकाहरुलाई खाना खुवाउनका लागि अहम् भूमिका खेलेको थियो ।
पुरस्कारले कोरोना महामारीका क्रममा विश्व खाद्य कार्यक्रमको जिम्मेवारी अझै बढेको छ ।
कोरोनाका कारण भोकसँग जुधिरहेका मानिसको संख्या कयौँ गुणाले बढेको अवस्थामा खाद्य कार्यक्रमको भूमिका अझै बढेको हो । 'जबसम्म कोरोनाविरुद्धको भ्याक्सिन आउँदैन, तबसम्म खाना नै सबैभन्दा उत्कृष्ट भ्याक्सिन हो,' संस्थाले भनेको छ ।