स्लोभानिया । कोरोना भाइरसको महामारी फैलिँदै गएपछि त्यसलाई नियन्त्रण गर्न भन्दै स्लोभानियामा देशव्यापी कर्फ्यू घोषणा गरिएको छ । देशव्यापी कर्फ्यू रातिमा मात्रै लागु हुने र मंगलबारदेखि सुरु हुने अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । युरोपेली मुलक स्लोभानियामा पछिल्लो समय कोरोना भाइरसको महामारी अत्यन्त नराम्रोसँग फैलिएको समाचारमा जनाइएको छ ।
हरेक बेलुका ९ बजेदेखि विहान ६ बजेसम्म कफ्र्यु लागु हुने भएको छ भने ६ जनाभन्दा बढी व्यक्ति भेला हुन नपाइएने भएको छ । त्यसैगरी कतै हिँडडुल गर्नु परेमा पनि पर्याप्त र अत्यावश्यकता ठहरिने कारण देखाउनु पर्ने व्यवस्था गरिएको छ ।
स्लोभानियामा सरकारले पनि औपचारिक रुपमा देशमा कोरोना भाइरसको महामारी फैलिएको घोषणा गरेको छ । देशमा सोमबार मात्रै ५३७ जनाका कोरोना भाइरसको नयाँ संक्रमण पुष्टि भएको छ । कुल दुई हजार ६३७ जनाको कोरोना परीक्षण गर्दा त्यति जनामा कोरोना भाइरसको संक्रमण भएको देखिएको हो । महामारी फैलिन सुरु भएदेखि स्लोभानियामा अहिले पहिलो पटक कफ्र्यु लागु गर्ने घोषणा गरिएको हो ।