फ्रान्सका राष्ट्रपति एम्यानुअल माक्रोँले कम्तीमा नोभेम्बरभरीका लागि दोस्रो देशव्यापी लकडाउनको घोषणा गरेका छन् ।
शुक्रवारबाट लागु हुने यो नयाँ प्रतिबन्ध अन्तर्गत मानिसहरू अत्यावश्यकीय काम र उपचारका लागि मात्रै घरबाट बाहिर निस्किन पाउने छन्।
रेस्टुरेन्ट बारहरू बन्द रहनेछन् भने विद्यालय र फ्याक्ट्रीहरू खुलै हुनेछन् । एप्रिल यता फ्रान्समा कोभिडका कारण भएको मृत्यु उच्च तहमा पुगेको छ । मङ्गलवार एकैदिन ३३ हजार नयाँ सङ्क्रमितको सङ्ख्या पुष्टि भएको बिबिसीले जनाएकाे छ । माक्रोँले पहिलोभन्दा कोरोनाभाइरसको दोस्रो लहर कठिन हुनेमा कुनै शंका नरहेको भन्दै देशले त्यो खतरा मोल्न नसक्ने बताए ।
यसअघि, जर्मन चान्सलर एंगेला मर्केलले आफ्नो देशले नियन्त्रणका लागि कदम चाल्नुपर्ने र कोरोनाभाइरस फैलिन नदिन देशव्यापी प्रयासहरूको आह्वान गरेकी थिइन् ।
युरोपेली थुप्रै देशहरूमा सङ्क्रमण तीव्र रुपमा बढिरहेको छ । थुप्रै देशहरूमा रातिको समयमा कर्फ्यू लगाइएको छ। ४ करोड ६० लाख जनसङख्या भएको फ्रान्समा पनि रातिको समयमा कर्फ्यू लगाइएको छ। यद्यपि, एकजना मन्त्रीले भने सामाजिक अन्तर्क्रियालाई रोक्न सरकार विफल भएको भन्दै गुनासो गरेका छन्।
बुधवार राष्ट्रका नाममा सम्बोधन गर्दै माक्रोँले महामारीको वेगलाई बढ्न नदिन फ्रान्सले अब "निर्मम तरिकाले ब्रेक" लगाउनुपर्ने बताएका छन् । उनले कोभिडका बिरामीको चापले फ्रान्सका अस्पतालहरूका सघन उपचार कक्षहरू आधा भरिसकेको बताएका छन् ।
मार्चमा लगाइएको यसअघिको लकडाउनमा जस्तै यसपटक पनि मानिसहरूले घरबाट निस्किन जायज कारण खुलाएर फारम भर्नुपर्नेछ। सामाजिक भेलाहरूमाथि भने प्रतिबन्ध कायमै छ। "वसन्त ऋतुमा जस्तै घरबाट काम गर्न बाहिर जान पाइनेछ, उपचारका लागि डाक्टर कहाँ जान पाइनेछ, आफन्तलाई सहायताका लागि जान पाइनेछ र घर नजिकै हिड्न जान पाइन्छ," माक्रोँले भने।
तर उनले सार्वजनिक सेवा र फ्याक्ट्रीहरू भने खुला नै रहने र अर्थतन्त्र पनि रोकिन नहुने बताएका हुन् । लकडाउन डिसेम्बर १ तारिखसम्म लागु हुनेछ र त्यसपछि पन्ध्र-पन्ध्र दिनमा पुन: निर्णय गरिनेछ ।