आत्महत्या गर्न बाध्य बनाएको आरोपमा पक्राउ परेका भारतीय पत्रकार अर्नव गोस्वामी जमानतमा रिहा भएका छन् । गोस्वामीलाई सर्वाेच्च अदालतले जमानतमा रिहा गर्ने आदेश सुनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
सन् २०१८ मा दुई जना व्यक्तिको आत्महत्या घटनामा गोस्वामीलाई जिम्मेवार ठहर्याउँदै महाराष्ट्र प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो । महाराष्ट्रको अलिबाग सेसन अदालतले १४ दिन थुनामा राख्न अनुमति दिएको थियो । त्यसपछि गोस्वामीले अन्तरिम जमानत माग गर्दै मुम्बई उच्च अदालतमा निवेदन दिएका थिए । मुम्बई उच्च अदालतले उनलाई जमानत दिन अस्वीकार गरेपछि गोस्वामी सर्वोच्च पुगेका थिए ।
भारतीय टेलिभिजन रिपब्लिक टीभीका संस्थापक तथा प्रधानसम्पादक गोस्वामीलाई गएको १९ गते मुम्बईमा रहेको उनकै घरबाट प्रहरीले पक्राउ गरेको थियो । डिजाइनर अन्वय नाइकले आत्महत्या गर्नुपूर्व लेखेको सुसाइड नोटमा आफूले पाउनुपर्ने पाँच करोड ४० लाख भारतीय रुपैयाँ नपाएकोले आत्महत्या गर्नुपरेको लेखेको सञ्चारमाध्यमले बताएका छन् ।