मंसिर ०७, २०८१, शुक्रबार
               

एक वर्षभित्र ५० पत्रकारको हत्या

नेपाल फ्ल्यास
पुस १४, २०७७

ADVERTISEMENT

सन् २०२० मा विश्वभरी कुल ५० पत्रकार तथा सञ्चारकर्मीहरूको हत्या भएको छ ।  

रिपोटर्स विथाउट बोडर्सले मङ्गलबार वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै हत्याका अधिकांश घटना द्वन्द्वग्रस्त मुलुकहरूमा भएको उल्लेख गरेको छ ।

प्रतिवेदनले अपराध, भ्रष्टाचार, वातावरणलगायतका विषयमा खोजमुलक समाचार लेख्ने पत्रकारहरु बढी प्रभावित भएको औंल्याएको छ ।

हत्याका घटना विशेष गरेर मेक्सिको, भारत र पाकिस्तानमा भएको भन्दै त्यहाँका घटनाका बारेमा धेरै चर्चा प्रतिवेदनमा गरिएको छ । पत्रकार हत्या सम्बन्धी घटनामध्ये ८४ प्रतिशत घटना नियोजित र योजनाबद्ध रुपमा भएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । जबकी गत बर्ष सन् २०१९ मा यस्ता घटना ६३ प्रतिशत मात्रै रहेको पनि बोडर्सले जनाएको छ । 

“यस संस्थाले लामो समयदेखि वार्षिक यस्ता प्रतिवेदन सार्वजनिक गर्ने गरेको छ, तर यस्तो अवस्था कमै मात्रै देखिएको थियो,” रिपोर्टर्स विथाउट बोडर्सका प्रधान सम्पादक पौलिन अडेस मेभेलले भने । 

सबैभन्दा धेरै पत्रकारको हत्या मेक्सिकोमा भएको पाइएको छ । मेक्सिकोमा आठ पत्रकारको हत्या भएको प्रतिवेदनमा उल्लेख छ । उनीहरूको हत्या विशेष गरेर लागुऔषध ओसारपसार र राजनीतिक घटनासँग सम्बन्धित भएर गरिएको उनले जानकारी दिए ।

मेक्सिकोमा भएको हत्यामा संलग्नमध्ये कसैलाई कारबाही भएको छैन । अफगानिस्तानमा द्वन्द्वका क्रममा पाँच पत्रकारको हत्या भएको छ । शान्ति वार्ताको प्रयास भइरहे पनि अफगानिस्तानमा लामो समयदेखिको द्वन्द्व अझै कायमै छ ।  

विश्वभरी अघिल्लो वर्ष सन् २०१९ मा ५३ पत्रकारको हत्या भएको थियो । त्यो अनुसार यस वर्षको सङ्ख्या भने कम भएको हो । कोरोनाभाइरसको महामारीका कारण हिंसात्मक घटना कम भएको, पत्रकारहरू कार्यक्षेत्रमा कम गएकोलगायतका कारणले कमी आएको हुन सक्ने बोडर्सले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि