काठमाडौं । विश्वभर ७ करोड ९ लाखभन्दा बढी मानिसले कोरोना भाइरसको संक्रमणलाई जितेका छन् ।
हाल ७ करोड ९ लाख ११ हजार ५५० जना संक्रमणमुक्त भएका छन् । कुल संक्रमितका आधारमा निको हुनेको दर ७१.८२ प्रतिशत हो । पछिल्लो २४ घण्टामा ४ लाख ३२ हजार ८३१ जना निको भएका छन् ।
कुल संक्रमितको २६.०४ प्रतिशत संक्रमित अहिले पनि उपचारका क्रममा छन् । अर्थात् सक्रिय संक्रिमतको संख्या २ करोड ५७ लाख ९ हजार २५८ छ । यसमध्ये १ लाख ११ हजार २३९ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ६ लाख ४७ हजार २२८ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभर कोरोना संक्रमितको संख्या ९ करोड ८७ लाख १३ हजार ५५५ पुगेको छ ।
यस्तै कोरोनाले मृत्यु हुनेको संख्या २१ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा १५ हजार ७९३ संक्रमितको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या २१ लाख १६ हजार १५९ पुगेको हो । कुल संक्रमितको आधारमा मृत्यु हुनेको यो संख्या २.१४ प्रतिशत हो ।
संक्रमणको सबैभन्दा धेरै चपेटामा अमेरिका छ । अमेरिकामा २ करोड ५३ लाखभन्दा बढी संक्रमित भएका छन् । ४ लाख २४ हजारभन्दा धेरै संक्रमितको मृत्यु भएको छ ।
यस्तै भारत, ब्राजिल, रसिया, फ्रान्स, बेलायत, टर्की लगायतका मुलुक पनि संक्रमणले धेरै असर परेका मुलुकको सूचीमा छन् ।
संक्रमण सुरू भएको एक वर्ष वित्दा विश्वका सबैजसो देशमा फैलिएको छ । कतै तेस्रो चरणको संक्रमण फैलिएको छ भने कतै नयाँ प्रजातिको कोरोना देखिएको भन्दै त्रास फैलिएको छ ।