एजेन्सी । इन्डोनेसियाको रुढीवाढी आसेह प्रान्तमा आपसमा यौन सम्पर्क राखेको आरोपमा दुईजना पुरुषलाई इस्लामिक धार्मिक प्रहरीले सजायस्वरुप सार्वजनिक स्थलमा दुवैलाई जनही ७७ कोर्रा हानेको छ । तिनीहरुबीच समलिंगी यौन क्रियाकलाप हुने गरेको उजुरी प्रहरीलाई तिनीहरुकै छिमेकीहरुले गरेका थिए ।
वन्दा आसेहको तामान्सारी शहरको पार्कमा तिनीहरुलाई दर्जनौं मानिसको उपस्थितिमा कोर्रा हानिएको थियो । इन्डोनेसियामा कडा इस्लामिक कानुन सरिया लागु गरिएको आसेह एक मात्र प्रान्त हो ।
सन् २०१५ मा यो कानुन लागू गरिएपछि समलिंगी यौन अपराधका लागि यसरी कोर्रा हानिएको यो तेश्रोपटक हो । लामो समय देखि चलिरहेको पृथकतावादी आन्दोलन दवाउने उद्देश्यले पनि त्यहाँ सरिया कानुन लागु गरिएको हो । नाम नखुलाइएका ति २७ र २९ वर्षीय पुरुषलाई पाँच जना प्रहरीले पालैपालो कोर्रा हानेका थिए ।
आसेहका निमित्त सरिया प्रहरी प्रमुखहरु त्रिविजानार्कोले छिमेकीहरुले भाडाको कोठामा यौन सम्पर्क राखिरहेको अवस्थामा रंगेहात भेटाएपछि तिनीहरुलाई गत नोभेम्बरमा पक्राउ गरिएको बताएका छन् ।
गत महिना एउटा सरिया अदालतले तिनीहरुलाई जनही ८० कोर्रा हान्न आदेश दिएको थियो । तर, कारावास भुक्तानीलाई कटाएर तिनीहरुलाई ७७ कोर्रा मात्र हानिएको हो । सोही पार्कमा अन्य चार जनालाई विवाहेत्तर सम्बन्ध राखे वापत १७ र रक्सी सेवन गरे वापत ४० कोर्रा हानिएको थियो ।
सिया अनुसार समलिंगी यौनका लागि अधिकतम संजाय जनही १ सय कोर्रा हो । साथै व्यभिचारी , जुवाडे , जँड्याहा , कस्सिएको पोशाक लगाउने महिला तथा शुक्रवारको नियमित प्रर्थना नगर्नेहरुलाई पनि संजाय स्वरुप कोर्रा हान्ने गरिन्छ ।