मस्को । रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीले जेल सजायविरुद्ध गरेको अपिललाई रूसको एक अदालतले खारेज गरिदिएको छ । नाभाल्नीलाई सन् २०१४ मा जेल सजायको क्रममा नियम उल्लंघन गरेको आरोप लागेको छ ।
नाभाल्नी रूसी नेता भ्लादिमिर पुटिनका कट्टर आलोचक हुन्। उनिमाथि पुटिन सरकारले राजनीतिक प्रतिशोधका कारण पटक–पटक दुःख दिने गरेको नाभाल्नी पक्षधर समूहको दावी रहँदै आएको छ ।
घातक विष खुवाइएपछि बिरामी परेका नाभाल्नी जर्मनीमा उपचार गराई करिब पाँच महिनापछि गत महिना रूस फर्किएका थिए । रुस फर्के लगत्तै नाभाल्नीलाई पक्राउ गरिएको थियो ।
उनले यस आक्रमणको लागि रूसी राष्ट्रपति भ्लादिमिर पुटिन जिम्मेवार रहेको आरोप लगाउँदै आफूमाथि लगाइएको आरोपहरू बनावटी भएको बताउँदै आएका छन् ।
रूसी राष्ट्रपति पुटिनले भने यसमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् । नाभाल्नीको रिहाइका लागि यूरोपियन मानव अधिकार अदालत (ईसीएचआर) ले दबाव दिइरहेको समयमा रुसको अदालतले नभाल्नीको अपिललाई खारेज गरेको हो ।
रुसले ईसीएचआरको मागको खण्डन गर्दै आफ्नो देशको मामिलामा गैरकानुनी हस्तक्षेप अस्वीकार्य भएको टिप्पणी गरेको छ । नाभाल्नीका समर्थकहरूले उनिमाथि लागेको आरोपलाई राजनीतिक महत्वाकांक्षालाई विफल पार्ने प्रयासको रूपमा रहेको बताउँदै आएका छन् ।