नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको संक्रमण फेरि तीव्र रूपमा वृद्धि भएपछि नयाँ निर्देशिका जारी गरिएको छ । केन्द्रीय सरकारले मङ्गलबार नयाँ निर्देशिका जारी गर्दै महामारी नियन्त्रणका उपायहरू अपनाउन सबैलाई आह्वान गरेको छ ।
भारतमा पछिल्लो विवरण अनुसार थप ४० हजार ७१५ जना नयाँ संक्रमित भएका छन् भने थप १९९ जनाको कोरोनाका कारण निधन भएको छ । गत जनवरीको अन्त्यतिर दैनिक नयाँ संक्रमितहरूको सङ्ख्या घटेर नौ हजारसम्म पुगेकोमा भारतमा अहिले ४० हजारभन्दा बढी पुगेको हो ।
अघिल्लो हप्तादेखि नयाँ संक्रमितहरूको सङ्ख्यामा एकाएक तीव्र वृद्धि हुँदै आएको तथ्यांकमा देखिएको छ । नयाँ निर्देशिका मङ्गलबार जारी गरिएको भए पनि लागू भने अप्रिदेखि मात्रै हुने सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।
निर्देशिका लागू हुन थालेपछि देशभरी नै परीक्षणको दायरासमेत अझ बढाइने उनीहरूको भनाइ छ । गृह मन्त्रालयद्वारा जारी वक्तव्यमा देशका सबै भागमा कोरोनभाइरसविरुद्ध अपनाउनु पर्ने सबै मापदण्ड पालना गर्न–गराउन सबैलाई आग्रह गरिएको छ ।
कोरोनाको परीक्षण, खोप लगाउने अभियानसँगै सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने, नियमित हात धुने वा सेनिटाइजर लगाउनेलगायतका आधारभूत स्वास्थ्य सतर्कताहरू पनि पालना गर्न सरकारले सबैलाई आग्रह गरेको छ ।