अमेरिकाको इन्डियानापोलिस सहरमा बिहीबार अबेर साँझ एक व्यक्तिले अन्धाधुन्ध चलाएको गोली लागेर कम्तीमा आठ जनाको मृत्यु भएको छ ।
अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको फेडेक्सको कार्यालयमा भएको उक्त गोलीकाण्डमा अरु धेरै व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शीहरूले एक व्यक्तिले स्वचालित बन्दुकबाट गोली चलाएको र धेरै राउन्ड फायर गरेको बताएका छन् । प्रहरीले गोली चलाउने व्यक्ति पनि मारिएको बताएका छन् ।
प्रहरीले उक्त गोलीकाण्डमा धेरै व्यक्तिलाई गोली लागेको र घाइतेहरूलाई तत्कालै अस्पताल पुर्याइएको जनाएको छ । गत महिना पनि दक्षिणी क्यालिफोर्नियामा भएको यस्तै आक्रमणमा एक बच्चासहित चार व्यक्तिको गोली लागेर ज्यान गएको थियो । मार्च २२ मा पनि कोलोराडो राज्यको बाउल्डरमा गोली चल्दा १० जनाको मृत्यु भएको थियो ।
संयुक्तराज्य अमेरिकामा हरेक वर्ष गोली लागेर झण्डै ४० हजार व्यक्तिको मृत्यु हुने गरेको अध्ययनहरुले देखाएका छन् ।