मंसिर ०७, २०८१, शुक्रबार
               

भारतमा कोभिडले निम्त्याएको सङ्कटलाई दर्शाउँने तस्बिरहरू

नेपाल फ्ल्यास
बैशाख ११, २०७८

ADVERTISEMENT

कोरोना महामारीको दोस्रो लहरले फेरि भारत अक्रान्त बनेको छ। सबैभन्दा बढी प्रभावित यतिबेला छिमेकी देश भारतमा पछिल्लो समय दैनिक तीन लाख हराहारीमा संक्रमितहरूको बढिरहेका छन् । त्यस्तै संक्रमणबाट मृत्यु हुनेको संख्या पनि ह्वात्तै बढेको छ।

पछिल्लो समय एउटा फोटो भाइरल छ । आफ्नो २९ वर्षीय छोराको शव गोडानजिकै राखेकी एक आमाको एउटा हृदयविदारक तस्बिर भारतमा भाइरल भएको हाे । 

उत्तर प्रदेशमा पर्ने वनारसी शहरको एउटा व्यस्त सडकमा छोरा विनीत सिंहको शवसँग चन्द्रकला सिंह थकित र भावविहीन अवस्थामा देखिन्छिन्।

बढ्दो महामारी र भताभुङ्ग हुने सँघारमा रहेको स्वास्थ्य प्रणालीको चेपुवामा परेका भारतीयहरूको आर्तनादको यो एउटा प्रतिनिधि तस्बिर हो।

कोभिड-१९ महामारीको दोस्रो लहरसँग जुझिरहेको भारतका नराम्ररी प्रभावित राज्यमध्ये उत्तर प्रदेश एक हो। महामारीको सामना गर्न सङ्घर्षरत वनारसी प्रधानमन्त्री नरेन्द्र मोदीको निर्वाचन क्षेत्र हो।

मृतकका काका जय सिंहले बीबीसी हिन्दीलाई बताएअनुसार सोमवार बिहान घरबाट चन्द्रकला आफ्ना छोरासहित वनारस विश्वविद्यालयसँग जोडिएको एउटा अस्पताल पुगेकी थिइन्।

"विनीतलाई मिर्गौलासम्बन्धी समस्या देखिएको थियो र केही समययता उनले बीएचयू अस्पतालका एक चिकित्सकसँग देखाउँदै आएको थियो। पछिल्लो पटक सोमवारका लागि उसले चिकित्सकसँग समय लिएको थियो," जय सिंहले भने।

तर जब आमा र छोरा अस्पताल पुगे, उनीहरूलाई डाक्टर नभएको जानकारी दिइयो र आपत्‌कालीन सेवा दिने ट्रमा सेन्टर जान भनियो।

चन्द्रकलाका अनुसार ट्रमा सेन्टरको प्रवेशद्वारमै विनीत ढले र अस्पतालका कर्मचारीले उनलाई भर्ना गर्न अस्वीकार गरे।

"विनीतलाई कोरोनाभाइरस सङ्क्रमण भएको उनीहरूले भने, 'यहाँबाट लग्नूस्।' मेरो बच्चालाई सास फेर्न गाह्रो भइरहेको थियो। हामीले अक्सिजन र एम्बुलेन्सका लागि हारगुहार गर्‍यौँ तर केही पाएनौँ," चन्द्रकलाले भनिन् ।

अस्पतालमा शय्या अभावका कारण एउटै शय्यामा दुई जनासम्म बिरामी राख्ने गरिएको छ । त्यहाँबाट चन्द्रकलाले विद्युतीय रिक्सामा राखेर नजिकैको अर्को अस्पतालमा छोरालाई लगिन् तर त्यो अस्पतालले पनि भर्ना गर्न अस्वीकार गर्‍यो। तेस्रो अस्पताल चहार्ने क्रममा विनीतको ज्यान गयो। विनीतको शव आमाको गोडानिर रह्यो।

सहयोगका लागि याचना गर्दागर्दै थाकेकी चन्द्रकला छोराको मृत्यु तथा चोरीको घटनाले टुटेपछि शोकमा डुबिन् । उनको छोराको मेडिकल रेकर्डहरू र फोनसमेत चोरी भयो।

पछिल्लो समय भारतमा दिनदिनै सङ्क्रमितहरू उच्च सङ्ख्यामा बढिरहँदा अस्पतालमा शय्याका साथै अक्सिजनको पनि अभाव हुन थालेको छ।

कोलकतास्थित सघन उपचार विशेषज्ञ डा. शाश्वती सिंहाले आपत्‌कालीन कक्षका साथै वार्डहरू पनि बिरामीले खचाखच भएको बताइन्।

"आफ्नो २० वर्षको कार्यकालमा मैले यस्तो अवस्था अहिलेसम्म देखेकी थिइनँ,"उनले थपिन्। प्रधानमन्त्री नरेन्द्र मोदीले अति प्रभावित राज्यका मुख्यमन्त्री र अक्सिजन उत्पादकहरूसँग शुक्रवार भेटेघाट गरेका छन्।

सहयोगका लागि याचना गर्दै मोबाइल फोनमा आउने गरेका सन्देशहरूले हिजोआज एकाबिहानै आफूलाई उठाउन थालेको बीबीसीका भारत अनलाइन संवाददाता सौतिक विश्वास बताउँछन्। "मानिसहरूले सङ्क्रमित आफन्त तथा साथीहरूका लागि अस्पतालमा शय्या, जीवनदायी औषधि, अक्सिजन र प्लाजमाका लागि याचना गरिरहेका छन्।"

 


कस्तो लाग्यो ?

यो पनि