अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरूले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरूले बताएका छन् ।
हत्या गरिएकाहरूमा दुई जना स्पेनिस र एक जना आइरिस पत्रकार छन् । बुर्किना फासोका संरक्षित जीवजन्तुको चोरी शिकारी नियन्त्रणको गस्तीमा सहभागी रहेका बखत उनीहरूमाथि आक्रमण भएको थियो ।
बुर्किना फासोका सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता ओसेनी टाम्बुराले एक विज्ञप्ति प्रकाशन गरी तीन जना पत्रकारको हत्या भएको र एक जना बुर्किना फासोका नागरिक बेपत्ता भएको बताए । फाडा एन्गुर्मा–पामा क्षेत्रमा भएको उक्त आक्रमणमा अरु छ जना घाइते भएका छन् । बुर्किना फासोका एक जना वरिष्ट सुरक्षा अधिकारीले आतंकवादी समूहले पत्रकारहरूको हत्या गरेको पुष्टि गरे । ती पत्रकारहरू रिपोटर्स विदाउट बोर्डर्ससँग आबद्ध थिए ।
यद्यपी ती अधिकारीले आक्रमणकारी कुन समूहसँग आवद्ध थिए भन्ने केही बताएका छैनन् । सुरक्षा स्रोतका अनुसार, आक्रमणकारीले दुई वटा पिकअप सवारी साधन र एक दर्जनजति मोटरसाइकल प्रयोग गरेका थिए ।
विश्वकै गरिब राष्ट्र बुर्किना फासोमा इस्लामिक अतिवादी समूहले सरकारी फौजमाथि आक्रमण गर्ने गरेका छन् । उनीहरू सन् २०१५ मा छिमेकी मुलुक मालीबाट बुर्किना फासोमा प्रवेश गरेका थिए । अल–कायदा र इस्लामिक स्टेटसँग आवद्ध समेतका जिहादी समूहहरूले बुर्किना फासोमा आक्रमणका घटना बढाउँदै लगेका छन् । करिब एघार सय व्यक्ति मारिएका छन् भने १० लाखभन्दा बढी मानिस घर छाडेर अन्यत्र पलायन भएका छन् ।