काठमाडौं । इरान र विश्वका ६ शक्ति राष्ट्रहरुबीच सन् २०१५ मा भएको परमाणु सम्झौता बहाल गर्ने उद्देश्यले हुँदै आएको वार्ता स्थगित भएको छ ।
अमेरिका, बेलायत, फ्रान्स, चीन, रुस र जर्मनीले इरानसँगको परमाणु सम्झौतालाई पुनः सक्रिय बनाउन भियनामा गर्दै आएको वार्ता स्थगित भएको हो । वार्तामा सहभागीहरु आ–आफ्नो देश फर्किएको बीबीसीले जनाएको छ ।
अधिकारीहरुले केही बुँदामा अझै पनि असहमति बाँकी रहेको र त्यसलाई समाधान गर्न आवश्यक रहेको बताएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।
इरानका शीर्ष वार्ताकार अब्बास अरकचीले भियनाबाट इरानको सरकारी टेलिभिजनसँग भनेका छन्, ‘हामी सम्झौतामा पहिलेभन्दा धेरै नजिक त छौं तर अझै पनि केही दुरीहरु छन् जसलाई पार लगाउन सहज छैन । आज हामी तेहरान फर्किने छौं ।’
बीबीसीका अनुसार वार्ता फेरि कहिले सुरु हुन्छ भन्ने निश्चित छैन । तर आगामी १० दिनमा फेरि वार्ता हुन सक्ने अपेक्षा गरिएको छ ।
सन् २०१५ को पमारणु सम्झौता बहाल गर्न गत वर्ष अप्रिलबाटै भियनामा वार्ता हुँदै आएको छ । ताकि अमेरिकाले इरानमाथि लगाएको प्रतिबन्ध हटाउन सकियोस् र सम्झौतालाई पुरानै अवस्थामा फर्काउन सकियोस् ।