अबुधाबी । इजरायलका विदेशमन्त्री याईर लापिड मङ्गलबार युनाइटेड अरब इमिरेट्स (युएई) को औपचारिक भ्रमणका लागि अबुधाबी आइपुगेका छन् । युएईको भ्रमण गर्ने उनी इजरायलको हालसम्मकै सबैभन्दा उच्च पदाधिकारी हुन् ।
लापिडको कार्यालयले जारी गरेको विज्ञप्तिमा लापिडको प्रतिनिधिमण्डलमा विदेश मन्त्रालयका महानिर्देशक एलोन उस्पिज र अन्य पदाधिकारीहरु रहेको उल्लेख छ ।
दुई दिने यस भ्रमणका अवधिमा लापिडले युएईको राजधानी अबुधाबीमा इजरायलको नवस्थापित राजदूतावास तथा दुबईको कन्सुलेटको उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ ।
येस अटिड पार्टीका नेता समेत रहेका विदेश मन्त्री लापिड हालको इजरायली गठबन्धनको सरकार बनाउने प्रमुख व्यक्ति समेत हुन् । इजरायल र युएईले सन् २०२० को सेप्टेम्बरमा अमेरिकी मध्यस्थतामा सम्बन्ध सामान्यीकरण सम्झौतामा हस्ताक्षर गरेका थिए ।