अफगान सरकारी वार्ता सदस्यहरुले देशमा भएको लडाइँ अन्त्यका लागि तालिबानलाई सत्ता साझेदार सम्झौताको प्रस्ताव गरेका छन् ।
कतारमा सरकारी वार्ता स्रोतले बिहीबार एएफपीलाई जानकारी गराएअनुसार तालिवान आक्रमण अन्त्य गरी देशमा शान्ति स्थापनाका लागि सरकारले तालिवान समूहलाई सत्ता साझेदारीको प्रस्ताव गरेको हो ।
सरकारी अधिकारीले भने, “सरकारले कतारको मध्यस्थतामा एक प्रस्ताव पेश गरेको छ । यो प्रस्तावले देशमा हिंसा रोक्न, शान्ति स्थापना गर्न तालिबानलाई सत्ता सहकार्यका लागि आह्वान गरेको छ ।”
यसैबीच रणनीतिक दृष्टीकोणले महत्वपूर्ण र अर्थपूर्ण मानिने गजनी प्रान्तको प्रान्तीय राजधानी सहर नियन्त्रणमा लिएको लडाकूले बिहीबार जानकारी दिएका छन् । घटनास्थल राजधानी काबुलदेखि १५० किलोमिटर टाढा पर्दछ ।
योसँगै तालिवान लडाकूले अफगानिस्तानमा अहिलेसम्म यहाँका ३४ प्रान्तमध्ये १० प्रान्तका राजधानीमा कब्जा गरेको दाबी गरेका छन् तर सरकारले अफगानिस्तानको सेना अहिले पनि तालिवानले कब्जामा लिएको भनिएका क्षेत्रमा रहेको बताएको छ ।
तालिबानले देशका ३४ वटा प्रान्तीय राजधानीमध्ये अरु शहरलाई पनि नियन्त्रणमा लिने प्रयासका साथ लडाइँ जारी रहेको जनाएको छ ।