काठमाडौं । तालिबानले अफगानिस्तानलाई कब्जामा लिएसँगै विश्वका धेरै देशले चासो र चिन्ता देखाएका छन् ।
तालिबानले दबाब बढाउँदै लगेपछि राष्ट्रपति अशरफ घानीले देश छोडे पछि कहाँ गएको होला र किन देश छोडेको होला भन्ने चासो पनि बढ्दो छ । यसबीचमै राष्ट्रपति घानीले फेसबुक पेजमा भने – ‘रक्तपातबाट देशलाई बचाउन देश छोडेँ ।’
उनले आफ्नो फेसबुक पेजमा देश छोड्नुपरेको कारण लेख्दै यो निर्णय गर्न आफूलाई निकै कठिन भएको समेत बताएका छन् । तालिबानले भाला र बन्दुकको बलमा जित हासिल गरेको भन्दै घानीले देशवासी, उनीहरुको सम्मान, सम्पत्ति र आत्मसम्मानको रक्षा गर्नु अब तालिबानको जिम्मा रहेको पनि बताए ।
यस्तै, उनले तालिबानले अब नयाँ ऐतिहासिक परीक्षाको सामना गर्ने पनि उल्लेख गरेका छन् । उनले लेखेका छन् – ‘तालिबानले देश र देशवासीको नाम र सम्मानको रक्षा गर्नेछन् कि अरु क्षेत्र वा नेटवर्कलाई प्राथमिकता दिनेछन् ।’
धेरैमा तालिबानलाई लिएर विश्वास नरहेको अवस्थामा सबै पक्ष, सहयोग, क्षेत्र र विशेष गरि महिलाहरुको विश्वास प्राप्त गर्नु तालिबानको चुनौती रहेको पनि घानीले बताएका छन् ।
तालिबान विद्राेही समूह राजधानी काबुलकाे बाहिरी क्षेत्रमा पुगेपछि राष्ट्रपति घानीसँगै उपराष्ट्रपति अमरुल्ला सालेहले हिजाे अफगानिस्तान छाडेका हुन् । घानी अफगानिस्तानबाट ताजकिस्तान वा उज्वेकिस्तान गएकाे अनुमान छ ।