एजेन्सी । उज्वेकिस्तानले अफगानिस्तानका सेना चढेको एक विमानलाई आकाशबाट खसालिदिएको छ । सीमा पार गर्न खोजेकाले हवाई प्रतिरक्षा बलले उक्त सैन्य विमानलाई खसालिदिएको उज्वेकिस्तानको रक्षा मन्त्रालयले जनाएको छ ।
उक्त विमानमा कति जना चढेका थिए र कोही जीवित छन् कि छैनन् भन्ने खुल्न नसकेको बताइएको छ । यद्यपि समाचार संस्था एएफपीले सेनाको पोशाक लगाएका दुई जना अस्पतालमा भर्ना भएको एक चिकित्सकलाई उद्धृत गरेर लेखेको छ ।
विगत ४८ घण्टाको अवधिमा ७५० जना अफगान सैनिक भागेर उज्वेकिस्तान पुगेको समाचारहरु पनि सार्वजनिक भएका छन् । ६०० जना अफगान सैन्य विमानमार्फत् उज्वेकिस्तान पुगेको बीबीसीले उल्लेख गरेको छ । उज्वेकिस्तान प्रशासनका अनुसार दक्षिणी शहर तेरमेजमा ४६ सैन्य विमान अवतरण गरेका छन् ।
यी विमानलाई स्कर्टिङ गरेको एक अफगान विमान र उज्वेक लडाकु विमान आपसमा ठोक्किएको दाबी उज्वेकिस्तानको प्रोसिक्युटर जनरलको कार्यालयले जनाएको छ ।
अफगानिस्तानको राजधानी काबुल तालिबानले नियन्त्रणमा लिएसँगै त्यहाँ अस्थिरता बढेको छ । काबुल छाड्न चाहनेहरुको विमानस्थलमा भिडभाड छ ।
अमेरिकी एयरफोर्सको एक विमानसँगसँगै रनवेमा मानिसहरु दौडिरहेको र सो विमान उडेपछि केही मानिसहरु खसेको भिडियो सार्वजनिक भएको छ । विमानस्थलको स्थिति नियन्त्रणमा लिन अमेरिकी सैनिकले गोली चलाउँदा ९ जनाको मृत्यु भएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।