काठमाडौं । तालिबानले न्यूयोर्कमा जारी राष्ट्रसंघीय महासभामा सम्बोधन गर्न पाउनका लागि गरेको आग्रह अहिले विचाराधीन अवस्थामा रहेको छ । अफगानिस्तानलाई गतमहिना नियन्त्रणमा लिएको तालिबान सरकारका विदेशमन्त्री आमिर खान मुताकीले सोमवार संयुक्त राष्ट्रसंघमा विश्व नेताहरूलाई सम्बोधन गर्न पाउनुपर्ने अनुरोधसहितको पत्र पठाएका थिए ।
बिबिसीकाअनुसार त्यसका लागि तालिबानले दोहामा रहेका आफ्ना प्रवक्ता सुहेल शाहीनलाई राष्ट्रसंघका लागि आफ्ना राजदूत नियुक्तसमेत गरेको छ । तालिबानको त्यस्तो अनुरोधलाई राष्ट्रसंघको एक निकाय क्रेडिन्सियल कमिटीले विचार गरिरहेको बताइएको छ । जसमा अमेरिका, चीन र रुस सहितका नौ देशहरू छन् ।
मंगलबार सुरु भएको महासभा आगामी सोमबार सकिनेछ । राष्ट्रसंघको नियमअनुसार त्यसबेलासम्म उक्त विश्व निकायका लागि अफगान राजदूतमा गुलाम इसाकजाई नै कायम रहनेछन् । महासभाको अन्तिम दिन अर्थात २७ सेप्टेम्बरमा उनले मन्तव्य दिने ठानिएको छ । यसअघि, सन् १९९६-२००१ बीचमा पनि तालिबानले अफगानिस्तान नियन्त्रणमा लिंदा उनीहरूले हटाएको सरकारकै प्रतिनिधि राष्ट्रसंघमा राजदूतका रूपमा रहेका थिए ।
कतारले भने विश्व नेताहरूलाई एउटा आह्वान गर्दै तालिबानलाई संलग्न गराउन दबाब दिदैँ आएको छ ।