यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार जलवायु परिवर्तनसम्बन्धी अध्ययन गर्ने तीन वैज्ञानिकहरूलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ । जापानी मूलका अमेरिकी वैज्ञानिक सायुकुरो मनवे, जर्मन वैज्ञानिक क्लाउस ह्यासलम्यान र इटालीका जर्जियो परिसीलाई पुरस्कार प्रदान गरिने भएको हो ।
जलवायु परिवर्तन र जटिल भौतिक प्रणालीबारे उनीहरूको महत्त्वपूर्ण अनुसन्धानका लागि सम्मान गरिने भएको हो । जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलनको पृष्ठभूमिमा यस क्षेत्रमा काम गर्ने वैज्ञानिकहरूले विश्वको चर्चित पुरस्कारबाट सम्मानित हुने भएका हुन् ।
१ करोड स्वीडेनी क्राउन पुरस्कार राशिमध्ये आधा करोड रकम ९० वर्षीय मनवे र ८९ वर्षीय हसलम्यानले बाँडेर लिनेछन् । त्यस्तै, बाँकी ५० लाख क्राउन जलवायु परिवर्तनको पृष्ठभूमिमा ग्रह र परमाणुको उतारचढावको अन्तरक्रिया बारेमा अनुसन्धान गर्ने ७३ वर्षीय परिसीलाई प्रदान गरिने भएको छ ।
नोबेल कमिटीले सन् १९०१ देखि भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार दिन थालेको हो । अहिलेसम्म १८ जना वैज्ञानिकहरूले यस विधातर्फको पुरस्कार प्राप्त गरिसकेका छन् ।