खार्तुमा । सुडानमा सेनाको कूको विरोधमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । गोली लागेर दर्जनौं घाइते भएका छन् । सोमबार त्यहाँको सेनाले गठबन्धन सरकारलाई अपदस्थ गरेर सरकार विघटन गरिदिएको थियो ।
सेनाको कदमको बिरोधमा हजारौँले राजधानी खार्तुमलगायतका सहरमा प्रदर्शन गरेका थिए । उनीहरुले गैर सैनिक शासन माग गरेका थिए । सैन्य कूको अन्तर्राष्ट्रिय समुदायले पनि बिरोध गरेको छ । अमेरिकाले सुडानलाई यसअघि उपलब्ध गराउने भनेको ७० करोड डलर रोक्का गरेको छ ।
जनरल अब्देल फतेह बुर्हानले राजनीतिक अस्थिरताका कारण सुडानमा संकट निम्तिएको बताएका छन् । सुडानमा लामो समय शासन गरेका ओमार अल–बशिरलाई दुई वर्षअघि हटाइएपछि त्यहाँ राजनीतिक अस्थिरता बढेको छ ।
सेनाले सत्ता हातमा लिएपछि बन्द भएका विमानस्थल, अन्तर्राष्ट्रिय उडान र टेलिफोन सेवा अझै सञ्चालनमा छैनन् ।