अध्यारो नेपाललाई उज्यालो दिने एक कुशल व्यवस्थापक हुन् कुलमान घिसिङ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा उनको प्रवेशसँगै नेपालले दैनिक १८ घण्टासम्म भोगेको अध्यारोको क्रमिक रूपमा अन्त्य भयो । मुलुकलाई उज्यालो यात्रामा डोहोर्याएसँगै कुलमानले वर्षौँदेखि घाटामा रहेको प्राधिकरणमा अर्बौँ रुपैयाँ नाफामा पुर्याए । कुलमानले नेपाली बिजुलीलाई निर्यातको तहसम्म पुर्याए । अहिले कुलमान काठमाडौँमा लथालिङ्ग तारलाई जमिनमुनि गाड्ने योजनामा जुटेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार त्यो योजनाको उद्घाटन गरेका छन् । विद्युत् प्राधिकरणको अन्डरग्राउन्ड केबुलिङ योजनाबारे कार्यकारी निर्देशक कुलमान घिसिङसँग नेपाल फ्ल्यास संवाददाता श्यामसुन्दर पुडासैनीले गरेको वार्ताको सङ्क्षेप ।
काठमाडौँ उपत्यकाको विद्युत् वितरण प्रणाली (तार)लाई भूमिगत बनाउने भनिएको छ । पहिलो चरणमा काठमाडौँको रत्नपार्क र महाराजगन्ज वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा काम सुरु गरिएको हो । यो कस्तो प्रविधि हो ?
पटक–पटक धेरै तार तथा पाइपहरू भूमिगत गर्दा सरकारको बजेट पनि धेरै खर्च हुने समस्या छ । अर्कोतिर सडक पनि पटक–पटक भत्काउने पर्ने र सर्वसाधारणले दुख पाउनेछन् । तार बिछ्याउँदा पहिल्यै ढलको पाइप तथा अप्टिकल बिछ्याइसकिएको ठाउँ हुन सक्छ । भूमिगत कार्य गर्दा सडकमा न्यूनतम क्षति हुने गरी ‘होरिजेन्टल डाइरेक्सनल ड्रिलिङ’ प्रविधि प्रयोग गरेका छौँ । तार बिछ्याउँदा सडक प्वाल पार्दा त्यो ठाउँमा नपरोस् भनेर पहिल्यै एक्स-रे गर्छौँ । हामीले खन्न लागेको ठाउँ मुनी के के छ भनेर थाहा हुन्छ । त्यो नभएको ठाउँमा हामी सडक प्वाल पारेर बिच्छ्याउदैछौँ । सडकमा सवारीसाधनको आवागमन र पैदल यात्रीलाई असर नपर्ने गरी राति काम गर्ने व्यवस्था गरिएको छ । सडक खन्दा निक्लिएको धुलोबाट आम नागरिकलाई असर पर्न नदिन न्युनीकरणका उचित व्यवस्था गरिएको छ ।
सडक खन्दा, प्वाल पार्दा सकेसम्म कम क्षति पार्नेछौँ । त्यसको लागि भोलिपल्टै पुरेर पानी हाल्ने छौँ । जसले धुलो उड्न दिँदैन । एक सातादेखि १० दिनसम्म पुरानै अवस्थामा सडक फर्काउने गरी पिच गराउनेछौँ । सडकको स्टान्डरअनुसारनै गुणस्तरीय पिच हुने छ ।
त्यसो भए फेरि राजधानीको सडक बिग्रने हो ?
होइन । त्यसरी बिग्रदैन । ठाउँठाउँमा प्वाल बनाउने हो । त्यसरी तार भूमिगत गर्दा क्षति पुगेको सडकको मर्मत १० दिनभित्र गरिसकिने छ ।
भनेपछि यो काम गर्दा सडकमा ठुलो क्षति हुँदैन ? सबै ठाउँका सडकमा सरल तरिकाले काम गर्न सकिन्छ ?
हरेक २ सय मिटरमा बक्सहरू राखिन्छ । घरघरमा लाइन सप्लाई गर्न त्यो बक्स प्रयोग गरिन्छ । त्यो बक्स राख्नचाहिँ अलि धेरै सडक खन्नुपर्छ । नत्र अरू तार विच्छ्याउने ठाउँमा भने मुसाले प्वाल पारेजस्तै दुलो पारिन्छ । सबै ठाउँमा चाहिँ यही गर्न सकिँदैन । कुनै ठाउँमा सडक एकदमै ओरालो छ भने अलि गाह्रो हुन्छ ।
सडकमुनि मात्रै बिच्छाउने हो कि फुटपाथ पनि प्रयोग गरिन्छ ? सडक पिच गर्दा सडकको मापदण्ड अनुसारनै पिच गरिन्छ त ?
सकेसम्म सडक प्वाल पार्दा फुटपाथलाई प्रयोग गर्छौँ । धेरैजसो फुटपाथ सडकमा ढल हालेको रहेछ । ढल छ भने त्यहाँ बिछ्याउन सकिँदैन । दिउँसो सडकमा काम गर्दा ट्राफिक व्यवस्थापनमा समस्या हुने भएकाले रातभरि पनि काम गरिने छ । विषेशगरी राति १० बजेबाट बिहान ६–७ बजेसम्म काम गरिन्छ । राति काम गर्दा धेरै सहज हुने देखिएको छ । सडक खन्दा, प्वाल पार्दा सकेसम्म कम क्षति पार्नेछौँ । त्यसको लागि भोलिपल्टै पुरेर पानी हाल्ने छौँ । जसले धुलो उड्न दिँदैन । एक सातादेखि १० दिनसम्म पुरानै अवस्थामा सडक फर्काउने गरी पिच गराउनेछौँ । सडकको स्टान्डरअनुसारनै गुणस्तरीय पिच हुने छ ।
अन्डरग्राउन्ड गर्दा कुनै समस्या भए त्यहाँ आन्तरिक समस्या मात्र हुन्छ, अरू कुनै खराबी हुँदैन, बाहिर करेन्ट चुहावट हुने तथा मावनीय क्षति हुने अवस्था रहँदैन ।
ओभरहेडिङ प्रणालीभन्दा भूमिगत प्रणालीमा फाइदा के छ ?
पहिलो फाइदा सहरको सौन्दर्य सफा राख्ने हो । सहरलाई कुरूप बनाइरहेको तारको जालो हटी सौन्दर्य कायम राख्न सहयोग पुग्ने छ । सडकको पोल र तारमा चराले गुँड लगाइरहेको छ । हावाहुरीले तार चुँडाउने गरेको छ । कतिपय स्थानमा दुर्घटना र आगलागी पनि भएका छन् । यसकारण तार भूमिगत गर्दाको दोस्रो फाइदा सुरक्षा हो । अहिले जमिनमाथिको (ओभरहेड) वितरण प्रणालीभन्दा भूमिगत प्रणाली सुरक्षित छ । हावाहुरी, पानी, चट्याङ आदिको कारणले विद्युत् प्रणालीमा अवरोध नहुने हुँदा भूमिगत वितरण प्रणालीबाट प्रदान गरिने विद्युत् भरपर्दो, गुणस्तरीय र सुरक्षित हुन्छ ।विद्युतीय दुर्घटनाबाट हुनसक्ने जनधनको क्षति न्यून हुनेछ । अन्डरग्राउन्ड गर्दा कुनै समस्या भए त्यहाँ आन्तरिक समस्या मात्र हुन्छ, अरू कुनै खराबी हुँदैन, बाहिर करेन्ट चुहावट हुने तथा मावनीय क्षति हुने अवस्था रहँदैन ।
जमिनमुनि बिजुलीको तार बाहेक के–के बिछ्याइँदै छ ?
हामीले करेन्ट बग्ने बिजुलीको तारमात्र बिछ्याउने होइन । यहाँ अप्टिकल फाइबरहरू पनि बिछ्याउँदै छौँ । हामीले ३ वटा कोर राखेका छौँ । त्यहाँ अरू इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले पनि यही तारको सेवा प्रयोग गर्न पाउनेछन् ।
अन्डरग्राउन्ड गर्ने प्रक्रियामा पछि आउने समस्या समाधानदेखि सबै विषयमा दीर्घकालीन उपाय अवलम्बन गरिएको छ ?
काठमाडौँमा अब ओभरहेड लाइन जाने ठाउँ छैन । कहीँ कसैले राख्नै दिँदैन । न ट्रान्सफरमर राख्न दिन्छ, न त पोल नै गाड्न दिन्छन् । तर लोड भने बढेको बढ्यौ छ । तर लोडलाई धान्न अन्डरग्राउन्डबाहेक उपाय नै छैन । अझै २०–३० वर्षपछि काठमाडौँमा अझै धेरै विद्युत्को लोड पर्नेछ । त्यो लोड धान्नको लागि कति विद्युत् चाहिन्छ, त्यो धान्नेगरी हामीले बनाइरहेका छौँ ।
अहिले पहिलो चरणमा तार कहाँ कहाँ र कति भोल्टेज क्षमताका बिच्छ्याइँदै छ ?
हामीले करेन्ट बग्ने बिजुलीको तारमात्र बिछ्याउने होइन । यहाँ अप्टिकल फाइबरहरू पनि बिछ्याउँदै छौँ । हामीले ३ वटा कोर राखेका छौँ । त्यहाँ अरू इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले पनि यही तारको सेवा प्रयोग गर्न पाउनेछन् ।
महाराजगन्ज वितरण केन्द्रअन्तर्गतका बालुवाटार, पानीपोखरी, बुढानीलकण्ठ, टोखा, गोङ्गबु, सामाखुशी, धापासी, वसुन्धरा क्षेत्रमा सडक खनिँदै छ । सँगै शिवपुरी, चुनिखेल, सुकेधारा, धर्मस्थली, शिक्षण अस्पताललगायतका स्थानहरूमा ११ हजार भोल्टेज र ४ सय भोल्टेजको भूमिगत लाइन निर्माण गरिने छ । २५० किलोमिटर अप्टिकल फाइबर पनि बिच्छ्याइने छ । त्यस्तै रत्नपार्क, बागबजार, पुतलीसडक, न्यूरोड, अनामनगर, जमल, लैनचौर, ठमेल, नक्साल, सोह्रखुट्टे, त्रिपुरेश्वर, टेकु, थापाथली, माइतीघर, सिंहदरबार, लाजिम्पाट, गौशाला, एयरपोर्ट, बानेश्वर, चाबहिल, बौद्ध, जोरपाटीलगायतका स्थानहरूमा पनि तार भूमिगत गरिने छ । साथै त्यहाँ करिब २ सय किलोमिटर अप्टिकल फाइबर पनि बिछ्याइने छ ।
यो काम कहिलेसम्म पूरा हुन्छ ?
काठमाडौँभित्र पहिलो चरणमा तार बिछ्याउने प्रक्रिया बल्ल सुरु भएको छ । यो सन् २०२१ भित्र गरिसक्नुपर्ने छ । वितरण प्रणाली आधुनिकीकरण र सुदृढीकरणका यी आयोजनामा एडिबीले सहुलियतपूर्ण ऋण उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । यो काम गर्दागर्दै अर्को ठाँउमा पनि काम अघि बढ्ने छ । अर्को टेन्डर फाइनल स्टेजमा छ । अर्को टेन्डरको काम ५–६ महिनाभित्रै सुरु हुन्छ । काठमाडौँभित्रको अर्को साथै पाटन क्षेत्रसहित ललितपुरमा तार बिछ्याउने काम टेन्डर प्रोसेसमै छ । यो चक्रपथभित्र तार बिछ्याउने काम सकिएपछि अर्को ठाउँमा सुरु हुने होइन । सँगसँगै हामी अरू काम गर्दै जानेछौँ ।
काठमाडौँ बाहिर पनि बिछ्याउने योजना छ ?
हामी काठमाडौँमा मात्र नभई काठमाडौँ बाहिर पनि यो योजना लग्नेछौँ । काठमाडौँ, ललितपुर र भक्तपुरमा भने १५–१६ अर्ब रुपैयाँको लागत हामीले स्टिमेट गरेका छौँ । काठमाडौँ उपत्यका बाहिर कास्कीको पोखरा र चितवनको भरतपुर महानगरपालिको मुख्य सडकहरूमा वितरण प्रणालीलाई भूमिगत गर्न अध्ययन अगाडि बढाएका छौँ ।
निर्माण गर्दा ग्राहक घरमा जाने विद्युत् लाइनमा समस्या हुन्छ कि हुँदैन ?
हामीले अहिले सडकमा तार बिछ्याउने मात्र काम गरिहरेका छौँ । आकाशको तार आकाशमै छ। अब तल बिछ्याउने काम सकिएपछि मात्र हामीमाथिको लाइन हटाउने छौँ । यसकारण कुनै डिस्टर्ब हुने छैन ।
विद्युतको लाइन बिछ्याउँदा अरू टेलिफोनका तार तथा इन्टरनेटका तार पनि सँगै बिछ्याइने हो कि पछि फेरि खन्ने ?
बिजुलीको तारसँगै अप्टिकल फाइबर पनि बिछ्याइएको छ। इन्टरनेट, दूरसञ्चार, केबल टेलिभिजन सेवा प्रदायकहरूले उक्त अप्टिकल फाइबर प्रयोग गरी सेवा प्रदान गर्न सक्नेछन् । यसबाट डिजिटल नेपालको अवधारणालाई साकार पार्न मद्दत पुग्ने विश्वास लिएका छौँ ।
अहिले जमिनमाथि रहेको तारमा समस्या आएमा कहाँ बिग्रियो भनेर थाहा हुन्छ । अब जमिनमुनि बिग्रियो भने कसरी थाहा हुन्छ ?
हामीले त्यो सोचेर पहिल्यै तयारी गरेका छौँ । त्यसको लागी एक्स-रेदेखि सबै प्रविधि र प्रक्रियामा स्पष्ट छौँ । ढुक्क हुनुस् यो प्रक्रियामा अहिलेभन्दा धेरै कम समस्या आउने छ ।