कविता
यदी यही हो खेल
त्यसो भए यो खेल के हो ?
थाहा छैन कहिलेदेखि म यी सवालहरुले घेरिएको छु
मेरो विपक्षीले चाल चलेका छन्
र अब मेरो चालको प्रतिक्षामा छन्
तर म कहिलेदेखि
सेतो कोठा
सियाह–खानामा राखिएको
कालो–सेतो गोटी देख्छु
म सोच्छु
यो गोटी के हो
यदी म बुझूँ
कि यो जुन गोटी छ
केवल काठको खेलौना हो
त्यसो भए जित्नु के हो, हार्नु के
न यो जरुरी छ
न महत्वपूर्ण छ
यदी न जित्नुको कुनै खुसी छ
न हार्नुको कुनै दुख छ
त्यसो भए खेल के हो
म सोच्छु जब खेल्नुपर्छ
तब आफ्नो दिलमा यकिन गर्न सकूँ
यो गोटी साँच्चैको बादशाह यो मन्त्री
साँच्चैका हुन् ती प्यादा (सैनिक)
र यीनको अगाडि छ
दुश्मनको त्यो फौज
जसले मलाई ध्वस्त पार्ने सारा योजना
सारा इरादा राख्छ
तर मैले यस्तो मानें पनि
म सोच्छु
यो खेल कहिले भयो
यो जंग हो, जसलाई जित्नुछ
यो जंग हो, जहाँ सबै जायज छ
कोही मसँग यस्तो भन्न सक्छ
यो जंग पनि हो
यो खेल पनि हो
यो जंग हो, तर खेलाडीहरुको
यो खेल हो, जंगजस्तै
म सोच्छु
जो खेल छ
यसमा यस्तो नियम किन छ
कुनै गोटी रहोस् वा जाओस्
तर जो बादशाह छ
उसमाथि कुनै आँच नआओस्
मन्त्रीलाई मात्रै छ त्यस्तो अनुमति
कि उ चाहेको ठाउँमा जान सकोस्
म सोच्छु
जो खेल छ
यसमा यस्तो नियम किन छ
पियादा (सैनिक) जो आफ्नो घरबाट निस्कन्छ
फर्किएर जान पाउँदैन
म सोच्छु
यदी यही हो नियम
त्यसो भए नियम के हो ?
यदी यही हो खेल
त्यसो भए यो खेल के हो ?
थाहा छैन कहिलेदेखि म यी सवालहरुबाट घेरिएको छु
मेरो विपक्षीले चाल चलेका छन्
र अब मेरो चालको प्रतिक्षामा छन्