- पुरुषोत्तम रिजाल
काठमाडौंको सडकमा स्वस्थ शरीर र तेजिलो अनुहार लिएर साथीभाइ, संगठन र अध्ययन अध्यापन भन्दै भ्याइनभ्याई निरन्तर गतिशील भइरहने युवाको नाम हो तेजविलास अधिकारी । साथीभाइ, सामाजिक काम र अध्ययनबाहेक आफ्नो पेसागत जीवनलाई पनि व्यवस्थित गर्न भ्याउँछन् अधिकारी ।
नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गतको वाल्मीकि विद्यापीठ प्रदर्शनीमार्ग, काठमाडौंमा प्राध्यापन गर्ने अधिकारी सिर्जनात्मक लेखन, सम्पादन र अनुसन्धानात्मक कार्यमा पनि निरन्तर क्रियाशील छन् । लेखन तथा सम्पादन सबै गरेर हालसम्म उनका लगभग दर्जन पुस्तकहरू प्रकाशित छन् । उनका फुटकर कविताहरू पत्रपत्रिका तथा अनलाइनहरूमा निरन्तर प्रकाशित भइरहेका छन् ।
कयौँ म्यागजिनहरूमा स्तम्भकारका रूपमा समेत काम गरिसकेका उनी कवि, निबन्धकार र समालोचकका रूपमा आफूलाई निरन्तर अगाडि बढाउँदै छन् । हालै उनको तेस्रो काव्यात्मक कृति उच्छलन (२०७७) हाइकु सङ्ग्रह प्रकाशित भएको छ । यसअघि उनका उच्छ्वास (२०७२) र उद्वेग (२०७५) प्रकाशित भइसकेका छन् ।
अग्रज स्रष्टाहरू आख्यानकार हरिहर खनाल, प्रगतिवादी कवि अनिल श्रेष्ठ र बालसाहित्यकार छायादत्त न्यौपाने केन्द्रित छुट्टाछुट्टै समालोचनात्मक कृतिहरू पनि उनले सम्पादन गरिसकेका छन् । प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित नेपाली कथामा दलित (२०७४) शीर्षकको पुस्तक पनि उनले सम्पादन गरेका छन् । यीबाहेक उनका कृतिहरूको सूची यसरी बनाउन सकिन्छ—
१. वाङ्मयसेवी छायादत्त (सम्पादन, २०७५)
२. सिर्जन वैशिष्ट्यमा अनिल श्रेष्ठ (सम्पादन, २०७४)
३. समालोचकका आँखामा हरिहर खनाल (सम्पादन, २०७०)
४. समय सन्दर्भ (समालोचना, २०७०)
५. राम्रो निबन्ध लेखन (२०६७)
६. अस्तित्वको खोजी (कथासङ्ग्रह, सम्पादन, २०६६)
७. समीक्षा सन्दर्भ (समालोचना, २०६५)
८. गजल बिम्ब (संयुक्त गजल सङ्ग्रह, २०६३)
९. गजलपथका यात्रीहरू (संयुक्त गजल सङ्ग्रह, २०६१)
यसरी भाषा र साहित्यको चौतर्फी क्षेत्रमा क्रियाशील हुने व्यक्ति अधिकारी स्रष्टा सम्मान र योगदानका क्षेत्रमा पनि मरिमेटेर लाग्ने गरेका छन् । त्रिभुवन विश्वविद्यालय, विश्वविद्यालय क्याम्पस कीर्तिपुरको मानविकी भवन आगाडिको देवकोटाको सालिक निर्माणमा पनि उनले कार्यकारी अध्यक्षको भूमिकामा रहेर काम गरेका छन् । यसरी हेर्दा नेपाली भाषा र साहित्यका क्षेत्रमा भावी दिनहरूमा उनीबाट धेरै अपेक्षा गर्न सकिन्छ भन्ने कुरा अनुमान गर्न सकिन्छ ।
प्रस्तुत आलेखमा भने उनको हाइकु लेखनका बारेमा संक्षेपमा चर्चा गरिन्छ । हाइकुका बारेमा उनको आफ्नै धारणा पनि रहेको पाइन्छ । उनको दोस्रो हाइकु सङ्ग्रह उद्वेगमा आफ्नो हाइकु लेखन यात्रालाई यसरी व्याख्या गरेका छन्ः ‘लोकगीतले लोभ्याएको मन हाइकुमा डल्लो पर्यो ।’
यसरी उनले आफ्नो लोकगीतप्रतिको अनुरागलाई व्यक्त गर्दै त्यसलाई निरन्तरता दिन नसकेकाले हाइकुमा डल्लिनु परेको विवशता व्यक्त गरे पनि सिर्जन यात्रालाई गति दिनु आफैँमा महत्त्वपूर्ण कार्य हो भन्न सकिन्छ । यस्तै उनको उच्छलन हाइकु सङ्ग्रहमा सामाजिक असङ्गतिका बारेमा ठुलो विद्रोह र विरोध गर्न नसके पनि आफ्नै गतिको सिर्जन कर्मबाट प्रतिरोध गर्न मन लागेको र त्यसकै फलस्वरूप हाइकु लेखनले निरन्तरता पएको हो भन्ने स्वीकारोक्ति व्यक्त गर्दै उनी लेख्छन्—
‘टाढा रहेको हिंस्रक जन्तुलाई सानै ढुङ्गाले भए पनि तर्साउन पाए हुन्थ्यो । त्यसको विपक्षमा केही वस्तु बर्साउन पाए हुन्थ्यो भन्ने लागिरहने । बेला न बेला झोक उठिरहन्छ । सानो हाइकु लेखेपछि केही मत्थर हुन्छ ।’ यसरी एउटा सर्जकले समाजप्रति सचेत हुँदै सामाजिक दुराचार र अमानवीय कार्यप्रति आफ्नाे लेखन हो भन्नु राम्रो कुरा हो ।
यसकारण नेपाली प्रगतिशील लेखनका क्षेत्रमा स्रष्टा तेजविलास अधिकारी अथक यात्रीका रूपमा क्रियाशील छन् भन्न सकिन्छ । प्रस्तुत आलेखमा हाइकुकारले हाइकुमा आफ्ना विचार कसरी व्यक्त गर्छन् भन्ने नभई के कुरा व्यक्त गर्छन् भन्ने सन्दर्भको चर्चा गरिन्छ ।
क. हाइकूकार तेजविलास अधिकारी मानिसका प्रवृत्ति वा विशेषताहरूको सूक्ष्म अध्ययन गर्दै आफ्ना रचनामा व्यङ्ग्य प्रहार गर्दछन् । आजका मानिस अतिशय स्वार्थी हुँदै जाँदा मानिसको जीवन र मानवसमाज नै प्रदूषित हुँदै जान लागेको हो कि भन्ने उनलाई लागेको देखिन्छ । त्यसैले त्यस्ता प्रवृत्तिप्रति आफ्ना हाइकु रचनामा व्यङ्ग्य प्रहार गर्दछन् । तलका केही हाइकु हेरौँः
(१) भ्रष्ट चरित्र
दलै दलको भीड
भोकै जनता । (उच्छ्वास, पृ.१३)
(२) खोली बगर
पिरतीको बजार
भविष्य कस्तो ? (उच्छ्वास, पृ.९)
ख. सर्जक तेजविलास अधिकारी नेपालको प्राकृतिक स्रोत साधनप्रति हाम्रो राजनीति र राजनेताहरू सचेत छैनन् र हामी बेला बेलामा ठगिँदै आएका छौँ भन्ने कुरामा पूर्ण विश्वस्त देखिन्छन् । यही कुरालाई तलका हाइकुमा सङ्केत गरेका छन् :
(१) संसद भित्र
महाकाली हवन
प्रतिगमन । (उच्छ्वास, पृ.३३)
(२) सम्झन्छु म त
राष्ट्रवादको नारा
महाकाली नदी । (उद्वेग, पृ.६)
स्रष्टा अधिकारीले प्रतीकात्मक रूपमा महाकाली नदीलाई हाइकुमा उल्लेख गरे पनि नेपालका प्राकृतिक बिम्बहरू कोसी नदी र गण्डकी नदीमा बाँधिएका बाँध र छिमेकी मुलुकसँग भएको सम्झौलाका कारण नेपाली कसरी पीडित हुनुपरेको छ भन्ने कुुरा भनिरहनु पर्दैन यतिखेर ।
यसरी उनका हाइकुमा प्राकृतिक स्रोत साधन पर्याप्त भएर पनि मुलुक कसरी ठगिनु परिरहेछ भन्ने यथार्थलाई धेरै ठाउँमा स्थान दिइएको छ ।
ग. स्रष्टा अधिकारीको लेखनको अर्को विशेषता हो देशभक्तिको भावना । वास्तवमा देशलाई माया गर्ने लेखक हुन् उनी । उनी ढोँगी राष्ट्रवादमा विश्वास त गर्दैनन् तर मुलुक त्यागेर जानेहरूको अरण्य रोदन चाहिँ ढोँग मात्र हो भन्ने कुरामा उनी विश्वस्त देखिन्छन् । यही भावनालाई प्रतीकात्मक रूपमा तलको हाइकुमा यसरी व्यक्त गर्दछन्:
(१) एउटा युवक
देशभक्त बन्दछ
देश बाहिर । (उच्छलन, पृ.३२)
घ. हाइकु स्रष्टा तेजविलास अधिकारी समाजप्रति उत्तरदायी लेखक हुन् । उनी समाजका सूक्ष्म यथार्थहरुलाई अवलोकन गर्दै सामाजिक विसङ्गतिप्रति आलोचनात्मक दृष्टिकोण अगाडि सार्दछन् ।
सूचना प्रविधिको विकाससँगै समाजमा अनेक विसङ्गति र विकृतिहरु वृद्धि हुँदै गइरहेका छन् । अझ भनौँ विसङ्गतिको केन्द्र त राज्य सञ्चालन गर्ने राजनीति नै हो भन्न सकिन्छ । यसरी समग्र विसङ्तिको घेरामा वर्तमान समाज परेको जस्तो देखिन्छ । यही अनेक किसिमका विसङ्गतिप्रति अधिकारीका हाइकुहरु प्रतीकात्मक रुपमा बोल्दछन् । तलका केही हाइकुहरु हेरौँ :
(१) स्वार्थ समूह
राजनीतिक पार्टी
फस्यो नातामा । (उद्वेग, पृ.४३)
(२) केही नगर्ने
भाषण ठुला दिने
हाम्रो नेतृत्व । (उद्वेग, पृ.५६)
(३) जनमत रे
जनपक्षीय छैन
हरेक कार्य । (उच्छलन, पृ.४)
ङ. सर्जक तेजविलास अधिकारी वैचारिक लेखनमा विश्वास गर्दछन् । प्रत्येक व्यक्ति समाजिक रुपमा उत्तरदायी हुनका लागि वैचारिक रुपमा प्रतिबद्ध हुनुपर्ने उनको दृष्टिकोण रहेको देखिन्छ । उनका सिर्जनाले परिवर्तन र क्रान्तिको चाहना व्यक्त गर्दछन् । यस्तै विचार व्यक्त गरिएका तलका केही हाइकु हेरौँ
(१) रोकिन्न अब
वैचारिक यात्रा
बढिरहन्छ । (उद्वेग, पृ.२२)
(२) देख्दै छु म त
आँधीपूर्वको शान्ति
कस्तो सन्नाटा । (उच्छलन, पृ.१)
र अन्त्यमा, हाइकु सर्जक तेजविलास आफ्नो सिर्जन यात्रामा निरन्तर क्रियाशील हुने व्यक्तित्व हुन् । त्यही स्वभावले गर्दा नै उनका रचनाहरु एकपछि अर्को परिष्कार र परिमार्जित हुँदै गएको देख्न सकिन्छ ।
उनको पहिलो हाइकु सङ्ग्रहभन्दा दोस्रो र तेस्रो हाइकु सङ्ग्रहका रचनाहरु परिपक्क र समाज सचेत छन् तथापि उनका तिन ओटै सङ्ग्रहहरु सङ्ग्रहणीय छन् । आउँदा दिनहरुमा उनका सिर्जनाहरु सार र रुप दुबै कोणबाट अझै शक्तिशाली हुँदै आउने छन् भन्न सकिन्छ ।