मंसिर ०६, २०८१, बिहीबार
               

यौन : प्रेमको केन्द्रीय तत्व

आहुती
माघ २२, २०७६

ADVERTISEMENT

जैविक नियम हो, विपरीत लिङ्गी एकआपससँग आकर्षित हुनै पर्छ । विपरीत लिङ्गीप्रति आकर्षण नहुने त बिरामी मानिन्छन् । 

अझ किशोरावस्थामा शरीरका इन्द्रियहरू निकै तेज गतिमा विपरीत लिङ्गीप्रति आकर्षित हुने गर्छन् । किनकि उनीहरूको स‌वेगनाकाे वेग नै तेज हुन्छन् । किशोरावस्थामा शरीरका अङ्ग र हर्माेन परिपक्व हुँदै जाने भएकाले पनि विपरीत लिङ्गीप्रतिको चाह बढ्नु स्वाभाविक नै हो ।

विपरीत लिङ्गीप्रति आकर्षण बढ्ने पनि विभिन्न चरण हुन्छन् । संवादको चरण होला । स्पर्शको चरण होला । त्यस्तै, विचार र रुचिको विषयले पनि एकापसमा आकर्षित गराउँछ । यसर्थ, शरीरका अ‌‌ग मात्रै आकर्षणको कारण बन्दैन । आकर्षणका अनेक रूप र प्रकार हुन्छन् ।

विचार र रुचि मिलेपछि सङ्कल्पको समय आउँछ । त्यसपछि नै आउँछ समर्पणको चरम अवस्था । यो अर्थमा जीवनमा धेरैसँग आकर्षित हुन सकिएला र भइन्छ पनि । धेरैसँग प्रेम बस्न सक्ला । तर, हामीले प्रेम र आकर्षणलाई यौन र प्राप्तिसँग मात्रै जोडेर हेर्ने गर्याैं । यौन र प्राप्ति नै समर्पण होइन । त्यागमा पनि प्रेम लुकेकै हुन्छ ।

समाज विपरीत लिंगीबीचको सम्बन्धबाटै सिर्जित छ, यो ध्रुव सत्य हो । यो नियम मानव मात्र होइन समग्र जीव समाजमा लागू हुन्छ । विपरीत लिंगीबीच सम्बन्धका बहुआयाम छन् । यौनसँगै प्रजनन, सहजीविका र सामाजिक जीवनका लागि विपरीत लिंगीबीच आकर्षण त्यसपछिका सबै सम्बन्ध अनिवार्य नै छ । नत्र सृष्टिको चक्र अघि बढ्न सक्दैन ।

कोही कोही मानिस प्रेममा बिछोड भएपछि मर्ने या बहुलाउने गर्छन् । त्यो चाहिँ भावुकताको पराकाष्ठा हो । बिछोड हुँदा प्रेमको अनुरागमा भावनामा अवश्य चोट पर्छ । तर, जिन्दगी नै सकियो भन्ने मान्यता सही होइन ।

समाजको विकाससँगै प्रेम, यौन, प्रजनन र सहजीवनलाई बुझ्ने एवं भोग्ने शैलीमा परिवर्तन आएको छ । जसरी मेसिन, कारखाना, उद्योगधन्दा, बजार, शिक्षण संस्थालगायतको विकास भयो, त्यही क्रमसँगै विपरीत लिंगीबीचको सम्बन्ध पनि संस्थागत र वैधानिक बन्दै गयो । अर्थात् पुँजीवादी समाजको विकास क्रमसँगै प्रेम र यौनका विषय खुल्दै गए । त्यसअघिको सामन्तवादी समाजमा महिलालाई घरभित्रै थुनिनुपर्ने जन्तुझैँ व्यवहार गरिन्थ्यो ।

पुँजीवादले मानिसमा सामूहिकताको विकास गर्याे । विभिन्न जात, भाषा र धर्मका मान्छेलाई आफ्नो समूहमा भेला गरिदियो । जसले महिला–पुरुषको यौन जीवनसँगै सम्बन्धको नयाँ परिभाषा र थप आयामको खोजी भयो । सम्बन्धका लागि महिलाले पुरुष र पुरुषले महिला रोज्ने स्थिति सिर्जना भयो ।

हिजो सामन्तवादमा महिलालाई पुरुषको सहयोगीभन्दा पनि दासीका रूपमा दोस्रो दर्जाको मानिस मानिन्थ्यो । हुन त पुँजीवादअघि पनि विवाहका विभिन्न मानक थिए । मागी विवाह नै मुख्य थियो भने लुटी विवाह पनि प्रचलनमा थियो नै । थोरै मात्रामा भागी विवाह पनि हुन्थ्यो । भागी विवाहले आपसी प्रेमलाई दर्साउँथ्यो । तर, त्यति बेला भागी विवाहलाई प्रेम मानिँदैनथ्यो । अहिले भागी विवाहलाई प्रेम विवाह मान्ने गरिन्छ । रोज्ने चलनसँगै छाड्ने चलनको विकास भयो । यसले स्वतन्त्रताको सङ्केत गर्छ । 

कोही कोही मानिस प्रेममा बिछोड भएपछि मर्ने या बहुलाउने गर्छन् । त्यो चाहिँ भावुकताको पराकाष्ठा हो । बिछोड हुँदा प्रेमको अनुरागमा भावनामा अवश्य चोट पर्छ । तर, जिन्दगी नै सकियो भन्ने मान्यता सही होइन । किनकि, त्यसअघि पनि धेरैले प्रेम गरेका थिए, धेरैको बिछोड पनि भएकै छ । प्रेम र बिछोड आवेगका कुरा मात्र हुन् । अनि यौन,  प्राविधिक विषय ।

प्रेम, यौन र बलात्कार

वास्तवमा बलात्कार चाहिँ यौन होइन, अत्याचार हो । शारीरिक रूपमा गरिने अत्याचार । पागलपनको हद । तर, कतिपयले बलात्कारलाई पनि यौनसँग अनि यौनलाई प्रेमसँग जोडेर हेर्ने गरेको पाइन्छ । त्यो सोचाइ नै गलत छ ।

प्रेम अनुभूति गर्ने विषय हो । यसर्थ, यसलाई ज्यादा गम्भीर रूपमा लिन जरुरी छैन । विपरीत लिंगीबीच आकर्षित भएर गरिएको प्रेम टुट्यो भने पनि सामान्य कुरा मान्नु पर्छ । प्रेममा बिछोड हुनु एउटा औसत दुर्घटना चाहिँ अवश्य हो ।

दुर्घटना हुँदा एउटा अंगमा चोट लाग्यो भन्दैमा जीवन नै खेर फाल्न त सकिँदैन नि ! संसारमा प्रेमबा६ पाइने सुखभन्दा हजार गुणा बढी दुःख अरूतिर छन् । मान्छे मारिएका छन् । करोडौँ मानिस शरणार्थी भएर बस्न बाध्य छन् । अर्बाैंं मान्छे खान नपाएर मरिरहेका छन् । बाँच्नकै लागि १८ घण्टासम्म श्रम गरिरहेका छन् । त्यो दुःखलाई हेर्‍यो भने प्रेममा हुने बिछोड त सामान्य लाग्न सक्छ ।

विचार मिलेपछि प्रेम हुन्थ्यो । तर, सहजीवनका लागि जात बाधक बनिदिन्थ्यो । अहिले पनि हाम्रो समाज त्यहाँबाट माथि उठ्न सकेको छैन ।

त्यस कारण, हामीले आफ्नो सोचलाई कस्तो बनाउने भन्ने हो । मानव जातिको महादुःखतिर ध्यान दिन थाल्यो भने यस्ता दुःख सामान्य लाग्छन् । पचाउन सजिलो पनि हुन्छ । विचार निर्माणमा हाम्रो अवधारणा नै गलत छ । जसका कारण प्रेममा बिछोड भएकै कारण मर्ने क्रम बढेको छ । बलात्कार बढेको छ ।

विवाह र समाज

नेपाली समाज जातमा आधारित छ । जहाँ फरक जातबीच विवाह गर्न मिल्दैन भन्ने मान्यता छ । विवाह गरे पनि जात घट्छ । पहिला त फरक जातबीच विवाह गर्नेलाई काटिदिने चलन थियो । मुलुकी ऐनमै त्यस्तो व्यवस्था थियो ।

त्यति बेला पनि प्राकृतिक रूपमा विपरीत लिंगीबीच आकर्षण हुन्थ्यो । विचार मिलेपछि प्रेम हुन्थ्यो । तर, सहजीवनका लागि जात बाधक बनिदिन्थ्यो । अहिले पनि हाम्रो समाज त्यहाँबाट माथि उठ्न सकेको छैन । यद्यपि, विकास त भएकै छ ।

जात, धर्म र वर्गको जोखिम मोल्ने आँट पछिल्लो पुस्ताका युवाले गरेका छन् । भावना र विचार मिलेपछि युवायुवतीले बिहे गर्न थालेका छन् । यो अवस्थासम्म आइपुग्न पनि अनेकाै‌ सङ्घर्ष भएका छन् । एक हदसम्म यो प्राप्तिलाई पनि उदाहरणीय त मान्नै पर्छ । तर, अझै धेरै गर्न बाँकी नै छ । गन्तव्य फराकिलै छ ।

यौन प्रेमको केन्द्रीय तत्त्व ! 

यौन प्रेमको केन्द्रीय तत्त्व नै हो । यसमा ढाँट–छल गर्नुपर्ने केही छैन । यौन जीवनलाई व्यवस्थित, सहज र जिम्मेवारीपूर्वक सुखमय बनाउनकै लागि नै मन परेको जोडी खोज्नुपरेको हो । तर, सत्यता त्यही मात्र पनि होइन । यौनसँग धेरै कुरा जोडिएका छन् । यौनको उत्तम वरदान भनेको सन्तान उत्पादन नै हुन् । सन्तान उत्पादन गर्नु भनेको समाज निर्माण गर्नु हो । यसर्थ, यौन र प्रेम व्यक्तिगत कुरा मात्रै पनि होइनन् ।

समाज निर्माणको प्रक्रिया निरन्तर र सही रूपमा अगाडि बढ्न जोडीहरुबीच नै सन्तुष्टि हुनुपर्छ । एकले अर्कालाई बुझ्न सक्ने हुनुपर्‍यो । रम्न सक्ने हुनुपर्‍यो । नचिनेको मान्छेसँग बच्चा जन्माउनु र चिनेको मान्छेसँग बच्चा जन्माउनुमा आकाश–जमिन फरक छ ।

विवाह भनेको सङ्गठन हो । सँगै, एउटा संस्था पनि हो । पुरानो विवाह प्रणालीले आपसमा छुटिने कल्पना गरेको छैन । पुरुषलाई असीमित स्वतन्त्रता दिएको छ । महिलालाई अनेक नियमका नाममा बाँधेको थियो । यसर्थ, हामीले वैवाहिक संस्थाको संरचना बदल्न जरुरी छ ।

प्रेम र वर्ग

प्रेम र यौनले मानव जीवनसँगै सामाजिक जीवनसँग महत्त्व राख्ने कुरा त प्रस्ट भयो नै । तर, प्रेमलाई तडकभडकका रूपमा लिने प्रचलन छ । अहिले दरबारमार्गमा गएर कफी पिए मात्रै प्रेम बलियो बन्ला भन्ने जस्तो भइसक्यो । तर, त्यो पूर्ण असत्य हो ।

निम्न, मध्यम र सर्वहारा वर्गमा पनि प्रेम हुन्छ । वास्तवमा प्रेम पनि वर्गीय हुन्छ । जात र धर्म जस्तै प्रेमलाई वर्गले पनि प्रभावित पारेको छ । जसले प्रेमको मर्म मारेको छ ।

(कुराकानीमा आधारित)

सामाजिक एवं राजनीतिक अभियन्ता आहुती राजनीति र समाजबारे कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि