मंसिर ०६, २०८१, बिहीबार
               

रेडियो दिवस  :  सुन्दादेखि बोल्दासम्म

ADVERTISEMENT

दसैँको वेला लाहुरेहरू काँधमा रेडियो बोकेर मालश्री घन्काउँदै सहर बजारमा डुल्थे । निकै ठुलो चारपाटे आकारको ‘मर्फी’ ब्यान्डको रेडियो बोकेर उनीहरू हिँडिरहेका देखिन्थे। लाहुरेको त्यस्ताे रवाफ देख्दा मलाई पनि त्यसैगरी हिँड्न रहर लाग्थ्यो । ‘संसारमा सबैभन्दा ठुला, सफल र भाग्यमानी मान्छे यिनै हुन्’ जस्ताे लाथ्यो । मलाई लाग्थ्याे, मान्छे भएपछि त लाहुरे पो हुनु । कसैले मलाई ‘ठुलो भएपछि के बन्छस् ?’ भनेर सोधे भने म भन्ने गर्थे ‘लाहुरे’। साँच्चै भन्नुपर्दा लाहुरेको रेडियो बजाए हिँड्ने रवाफिलाे शैलीले मलाई पनि त्यतातिर लोभ्याएको थियो ।

हुनत हाम्रो घरमा पनि रेडियो थियो । त्यति बेला घरमा बिजुलीको भने आइसकेको थिएन । त्यसैले हामी ब्याट्रीवाला रेडियो  सुन्थ्याै । स्कुल बिदामा बनमा बाख्रा चराउन जाँदा होस् या खेतमा हलोको अनौठा अड्याएर समेत रेडियो सुन्थ्यौ । सबै मिलेर, लाहुरेका भन्दा फरक रेडियो ।गाउँ या सहरमा सधैँ रेडियो नै ‘हटकेक’ हुन्थ्यो । प्रेमराजा महत र कोमल वलीको ‘बाझो खेतमा छड्के सलाम छ मायालाई पहिलो भेटमा’ ती समयमा निकै सुनिन्थ्यो । ‘सिमसिमे पानीमा ज्यानले बेइमान गर्छ कि जिन्दगानीमा’ भन्ने लोकपप गीतदेखि  ‘कट्टर कटरमा तिम्रो सुहाउँदो ज्वाई आयो मटरमा’, ‘मैले के गरु तिमी आउछौंकी अर्को बिहे गरु,’ भन्ने जस्ता ठट्याैली गीत खुबै चर्चित थिए ।

रेडियोभित्र बसेर बोलिरहेका मान्छेहरू कतिखेर बाहिर निस्कन्छन् भनेर म कुरेर बस्ने समेत गर्दथेँ । तर, कहिल्यै निस्किएनन् । मेरो बालापनको रेडियो प्रेम अहिले सम्झँदा एउटा फिल्मको कथाझै‌ँ लाग्छ ।

अहिले नयाँ शैलीमा आस्था राउतले गाएकी ‘माया पानी खाने कलधारा कल्को, रात दिन तिम्रै छ झझल्को’ भन्ने गीत उनका बाबु हरि बहादुर राउतले पहिल्यै गाएका रहेछन् । त्यो र त्यस्ता काठे भाकाका गीत त्यति बेला सुपरहिट थिए, हाम्रा रेडियोमा । दांयाँबांयाँ दुई प्वाल भएका रिलवाला क्यासेट चक्का पनि तिनै गीतका धेरै बिक्थे । रेडियो नेपालमा पनि तिनै गीतहरूको रजाइँ थियो ।

रेडियोभित्र कसरी मान्छे अटाए ?

‘यति सानो रेडियो भित्र थरी थरिका गीत गाउने र बोल्ने मान्छेहरू कसरी अटाएका होलान् ?  यिनीहरू कत्रा हुन्छन् होला ?’ आश्चर्य मिश्रित कौतुहलताले सधै‌ मन कुँडलि रहन्थ्याे । रेडियोभित्र बसेर बोलिरहेका मान्छेहरू कतिखेर बाहिर निस्कन्छन् भनेर म कुरेर बस्ने समेत गर्दथेँ । तर, कहिल्यै निस्किएनन् । मेरो बालापनको रेडियो प्रेम अहिले सम्झँदा एउटा फिल्मको कथाझै‌ँ लाग्छ ।

कहिलेकाहीँ रेडियो बजाएर गाउँ डुल्दै गर्दा अरुले बजाएका रेडियोबाट पनि उस्तै गीत बजिरहेका हुन्थे । सबै रेडियोमा उस्तै गीत र एकै आवाजका कार्यक्रम बजिरहेको सुन्दा अचम्म लाग्थ्यो । गाउँका राम लक्ष्मणको अनुहार मिले जस्तै आवाज मिल्ने मान्छे पनि हुँद रहेछन् भन्ने सोच्थे । कसरी एउटै स्वर हुने मान्छे धेरै भए होलान्, मेरो स्वरसँग स्वर मिल्ने मान्छे पनि कोही होलान् कि नहोलान् भन्ने कुरा मनमा आउँथ्यो  । यस विषयमा मैले धेरैजनासंग सोधे । तर चित्त बुझ्दो जवाफ कहिल्यै पाइन ।

रेडियोमा बज्ने गीतहरू नै मेरो आकर्षण थिए । त्यतिवेलामा चलचित्रहरू लाहुरे, दाइजो, सीमाना, प्रतीक्षा, अल्लारे, देउता, पृथ्वीजस्ता चलचित्रका गीतले मलाई मोहनी नै लगाएका थिए । अहिले साह्रै मन पर्ने गीतहरू भने त्यति बेला मलाई मन परेका थिएनन् । नारायण गोपाल, फत्तेमान, गोपाल योञ्जन, अरुणा लामा, तारादेवीलगायतका गीतहरू बज्न थाले कि मलाई दिक्दार लाग्थ्यो । सायद त्यो बेला मेरो मस्तिष्कका नशाहरु ती गीतका भाव बुझ्ने हैसियत राख्दैनन् थिए कि ? उनीहरूको नामै सुन्नै मन नलाग्ने । 

मनोरञ्जनको निर्विकल्प माध्यम रेडियो

हुनत हाम्रा गाउँतिर त्यतिबेला मनोरञ्जनका अरू साधन थिएनन् पनि । टेलिभिजन कस्तो हुन्छ भन्ने मात्रै थाहा थियो । चारपाटे बाकसजस्तो आकार किताबका पानामा मात्र हेर्न पाइएको थियो । घरबाट ७ किलोमिटर टाढा एउटा फिल्महल पनि छ भन्ने सुनेको थिएँ । दाजुहरू कहिलेकाहीँ फिल्म हेर्न जान्थे । आफूले न फिल्महल  देखेको थिए न हेर्न जान पैसा नै हुन्थ्यो । दाजुहरू कैलेकाही फिल्म हेरेर आएपछि फिल्मका कथा कहानी सुनाउँथे । दर्पण छाँया, अग्नि परीक्षा, बर–पिपललगायतका फिल्म हेरेर आएको उनीहरू सुनाउँथे । हरेक शनिबारजसो उनीहरू फिल्म हेर्न जान्थे । घर आएर फिल्मका कहानी सुनाउँथे । आफू भने त्यही कथा नै चाखसँग सुनिन्थ्यो, र त्यसमै मज्जा लिनुको विकल्प पनि थिएन नै । 

मनोरञ्जनको लागी चाडबाडका अवसरमा घर नजिकैको देवघाट बजारमा लाग्ने मेला हेरिन्थ्यो । नत्र भने त्यही रेडियो नै सुनेर मनोरञ्जन लिइन्थ्यो । बाल कथा, चुट्किला सुनाउने कार्यक्रम र लोक तथा आधुनिक गीत बज्ने कार्यक्रमहरू सुनिन्थ्यो नै । तर, कसले देओस्, समाचार तथा सूचनामूलक कार्यक्रममा ध्यान । त्यति बेला रेडियो नेपाल अहिलेजस्तो २४ सैं घण्टा प्रसारण हुन्थेन । राति ११ बजे रेडियो नेपालको प्रसारण सकिन्थ्यो । रेडियो सुन्दै सुत्ने गरिन्थ्यो । रेडियो सुन्दा सुन्दै निदाउँथे म ।  सपना देख्थे ‘लाहुर पसेको अनि लामाे समयपछि घर फर्कँदा मर्फी रेडियो काँधमा झुन्डाएर गीत बजाउँदै घर फर्किरहेको । 

रहरैरहरले रेडियोमा बोल्न थाले पनि थुप्रै आरोह–अवरोह पार गरेँ । त्यही रहरले आज मलाई पत्रकारितामा सिक्न, टिक्न र बिक्न सिकाएको छ ।

म रेडियो यति बिघ्न सुन्थे नि, यति सुन्थे नि, बिहान उठेदेखि राती नसुत्दासम्म रेडियो सुन्ने नशा नै लागेको थियो । बिहान स्कुल जानुअघि होस् वा स्कुलबाट फर्कनेवित्तिकै रेडियोमै झुन्डिएको हुन्थे । गोठालो जाँदादेखि पाइखाना जाँदासम्म हरेक काम रेडियो धुनसँगै गर्थे । अचेलका बच्चा र बुढा मोबाइल र ट्याबलेटसहित ट्वाइलेट गए झै‌ । हुनत अहिलेका केटाकेटीले के त्यति मोबाइल खेलाउलान्, जति मैले त्यो समयमा रेडियो खेलाउँथे । 

त्यति बेलाका लोकप्रिय कार्यक्रमहरू

निद्रा लाग्छ कि भन्दै चिया खाएर रेडियो कार्यक्रम सुन्ने त्यो समय साँच्चैको लोभलाग्दो थियो । रेडियो नेपालबाट हरेक शनिवार कार्यक्रम आउँथ्यो, ‘परदेशीको सन्देश’। टेलिफोनको सुविधा नभएको समयमा घर गाउँसम्म सन्देश पठाउन त्यो कार्यक्रम निकै लोकप्रिय थियो । म पनि पछि लाहुर गएर यसैगरी रेडियोमा सन्देश पठाउँछु भन्ने लाग्दथ्यो । पाण्डव सुनुवारको फोनइन कार्यक्रम नछुटाई सुनिन्थ्यो ।  बिहीबार राती पाण्डव सुनुवारकै  चौतारी कार्यक्रममा बज्ने लोक दोहोरी भाका सुन्न पाउँदा पनि निक्कै रमाइलो लाग्थ्यो । हरेक बिहीबार राति पौने ९ बजे दमन रुपाखेती तथा जितु नेपालको व्यङ्ग्यात्मक हास्य कार्यक्रम नबिराई सुनिन्थ्यो । दीपकराज गिरी र दीपा श्री निरौलाको रामविलास र धनियाँ जस्ता कार्यक्रम निक्कै रमाइला लाग्थ्यो । शुक्रवार बिहान १० बजेपछि आउने नवराज लम्सालको मधुबन अति कर्णप्रिय लाग्थ्यो । यस्तै गीति कथा कार्यक्रम सुनेर त म धेरैपटक रोएको थिए । साँझ आउने कृषि कार्यक्रम सबैले सुन्थे । ‘हरि शरणम्’ भन्ने ‘बुढी आमै र जेटिए’ को गन्थनमन्थन खुब चाख दिएर सुन्थ्यौ ।

साँझ ५ बजेको समाचारपछि वासुदेव मुनालको वाल कार्यक्रम त नछुटाई सुन्ने गर्थे । हिउँदमा स्कुलबाट फर्कँदा साँझ झमक्क हुन्थ्यो । वर्षाका साँझ बारीमा झ्याउँ झ्याउँ झ्याउँकिरी कराउन थाल्थे हामी त्यति बेला सबै साथीहरू मिलेर रेडियोमा बाल कार्यक्रम सुन्ने गरिन्थ्यो । ढुंटुंडुं.... ढुंटुंडुं... गरेर पाश्र्वधून बज्थ्यो र कोरसमा एकैपटक आवाज आउँथ्यो–जय नेपाल ! त्यो प्रसारित मोहनीमय  आवाजले लट्ठ्याउँथ्यो हामीलाई । अनि सम्बोधन गर्थे वासुदेव मुनाल– ‘आओ ! मेरा प्यारा प्यारा भाईबैनी हो, रेडियो नजिक आओ ! लौ त ! अब सुरु गरौँ, आजको बाल कार्यक्रम ।’ त्यो भनाइको त पटक पटक हामी नक्कल गरिरहेका हुन्थ्यौँ ।
तर मलाई रेडियोमा समाचार बज्दा सबैभन्दा दिक्दार लाग्थ्यो । समाचार आएपछि म रेडियो बन्द गर्थे । मेरो कलिलो मस्तिष्कले समाचारको विषयवस्तु बुझ्ने क्षमता नभएकोले होला समाचार नआईदिएपनि हुन्थ्यो जस्तो लाग्थ्यो । मलाई जतिवेला पनि गीत, नाटक, कथा मात्रै रेडियोबाट बजोस् भन्ने लाग्दथ्यो । 

रेडियो सुन्नकै लागि धेरै ठाउँ गइन

त्यो समयमा मलाई कतै पाहुना जान मन लाग्दैनथ्यो । किनकि पाहुना लाग्न गएको ठाउँमा रेडियो सुन्न पाइँदैन की भन्ने चिन्ता लाग्थ्यो । रेडियोबाट अलग हुन मन नलागेरै मैले धेरै ठाउँमा जाने अवसर गुमाए ।  यसैगरी रेडियोसँग मेरो सामीप्य झनै निकट हुँदै थियो । म रेडियो बटार्दै थिए । रेडियो नै बज्न छाड्यो । मलाई लाग्यो रेडियो बिग्रियो । बा र म घर तलको देवघाट बजारमा बनाउन गयौँ । रेडियो बनाउने तीर्थे दाइले ‘रेडियोको आईसी जलेको छ बन्दैन’ भने । रेडियो बनाउनुभन्दा अर्को रेडियो किन्नु फाइदा हुने समेत सुझाए । म छाँगाबाट खसेजस्तो भए । ‘बरु म आफै बिरामी भएको भए हुन्थ्यो नि तर यो रेडियो नबिग्रिएको भए हुन्थ्यो’ जस्तो लाग्यो । नयाँ रेडियो किन्न बासँग पैसा थिएन । पसलेले ५ सय रुपैयाँमा १० ब्यान्डको रेडियो आउँछ’ भने । त्यति पैसा नभएकोले हामीले नयाँ रेडियो किन्न सकेनौ । हामी बाउ छोरा मन खिन्न बनाएर घर फर्केर आयौ । नबज्ने  र नबन्ने रेडियो भए पनि मैले बोकेरै घरमा ल्याएर भित्तामा किलामा झुण्याएर राखे ।

घरमा रेडियो बिग्रिए पनि रेडियो सुन्ने मेरो मनको चाहनालाई कसैले रोक्न सकेन । रेडियो सुन्नकै लागि पल्लो घरमा गोपी काका कहाँ जान थाले । गोपी काकाको घरमा बिहान बेलुका मात्र रेडियो बज्थ्यो । गाउँमा बिजुली थिएन । ब्याट्रिबाट बजाउनु पर्थ्यो । मसला सकिन्छ भनेर लोभ गरेर कहिले काँही मात्र रेडियो बजाउँथे । म मेरै घरबाट ब्याट्रि लगेरै सुन्थे । कहिलेकाहीँ ब्याट्रि सकिए पनि कुनै चिन्ता हुँदैनथ्यो । पुराना ब्याट्रि घाममा सुकाउने आइडिया त थिदैँ थ्याे ।अनि त नबजेको रेडियो पनि मज्जैले बज्थ्यो ।

पाँच सयको रेडियोले दिएको पाँच करोडको खुसी

केही समय यसरी नै अरुकै घरमा गएर रेडियो सुने । एक पटक दसैँ आउनै लागेको थियो । म स्कुलबाट घर फर्किएको थिए । आँगनमा आइपुग्दा घरमा मालश्री धुन बजिरहेको थियो । पींँढीको किलामा रेडियो झुन्डाइएको थियो । त्यही रेडियोमा पो मालश्री धुन बजिरहेको रहेछ । म रेडियोको किरोलाई आफ्नै घरमा रेडियो पाएपछि के चाहियो र । हत्तपत्त किलाबाट झिकेर छातिमा टाँसे । सम्हाल्नै नसक्ने गरी खुसी भए । लामो बिछोडपछि भेटिएकी प्रेमिकालाई अ‌गालोमा बाँघ्न पाए झैँ ।

आँखाबाट  खुसीका आँसु झरे । पाँच सयको चाइनिज रेडियोले मेरो जीवनमा पाँच करोडको खुसी ल्यायो । त्यो नै जीवनको सबैभन्दा खुसीको क्षण थियो । स्कुलको ड्रेस नै नखोली, खाजा समेत नखाई म ‘मेरो घरमा पनि रेडियो आयो है’ भनेर गाँउभरी सुनाउन गए । त्यति बेला रेडियो सुन्न पाउँदा जीवन नै पवित्र भयो झैँ लाग्यो । 

कहिल्यै नमेटिने रेडियो रहर

रेडियोसँग मेरो सम्बन्ध कहिलेदेखि गाँसियो मलाई नै याद छैन । सानैदेखि सुन्न रुचि लाग्थ्यो । रेडियोसँगको सहकार्य मेरो बालापनदेखिको नै हो । रेडियो मेरा लागि र म रेडियोका लागि भन्ने सोच  मनमा गडेको थियो । आज रेडियोमा सुनिँदै आएको माईक्रोफोनमा गएर सबैले सुन्ने गरी बोल्ने काम पनि गर्दै आएको छु । रेडियो सुन्न थालेदेखिकै आफू पनि बोल्ने रहरलेने मलाई रेडियोमा बोल्ने ठाउँसम्म ल्यायो । रहरैरहरले रेडियोमा बोल्न थाले पनि थुप्रै आरोह–अवरोह पार गरेँ । त्यही रहरले आज मलाई पत्रकारितामा सिक्न, टिक्न र बिक्न सिकाएको छ ।

कहिल्यै पनि थकानको महसुस नगराउने रेडियो प्रेम साँच्चै मेरो लागि अविस्मरणीय छ । टेलिभिजनमा पनि बोल्ने काम गरेँ तर रेडियो जति मज्जा आएन । अझै पनि म भित्र बर्षौसम्म बाँचिरहनेछ रेडियो रहर । भोगे देखि सुनेअनुसार रेडियोले सबैलाई मौका दिदोरहेछ । फरक त्यति मात्र हो की कोही मौकामा हिरा फोर्छन् । कसैले मौका गुमाउँछन् । रेडियो दिवसको सबैमा शुभकामना ।

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि