मंसिर ०६, २०८१, बिहीबार
               

जटिल छ अफगानिस्तानबाट अमेरिकाको फिर्ती

जाभिद हुसैन
फागुन ०७, २०७६

ADVERTISEMENT

इतिहासमाथिको यो कस्तो व्यङ्ग्य ! युद्ध प्रभावित अफगानिस्तानले हालसालै सोभियत युनियनका सैनिक निष्कासन गरिएको ३१ औँ वर्षगाँठ मनायो र अहिले अर्को महाशक्ति अफगानिस्तानबाट निस्कन वार्ता गर्दै छ ।

दुई पक्ष अहिले अस्थायी युद्ध विरामका लागि तयार भएका छन् र यसले अफगानिस्तानमा युद्ध टुङ्ग्याउने र वार्ता सफल हुने सम्भावना बलियो बनाएको छ ।

 

एक दशकभन्दा लामो समयको कब्जापछि रुसी फौज १९८९ मा अफगानिस्तानबाट फर्किएको थियो । अमेरिकाले अफगानिस्तानमा जेहादीविरुध्द युद्ध छेडेको पनि अब त २ दशक हुन लागी सक्यो ।   

यो अवधिमा झन्डै ३ हजार ५ सय अमेरिकी तथा उसको गठबन्धनका सैनिक मारिएका छन् । आत‌‌कवादविरुध्दको युद्धमा खर्बौ अमेरिकी डलर खर्च पनि भइसकेको छ । २००१ मा जब ओसमा बिन लादेनसँग बदला लिन अमेरिका अफगानिस्तान छिर्‍यो, त्यो भूभागबारे उसलाई थोरै मात्र ज्ञान थियो । अफगानिस्तानलाई यदाकदा ‘साम्राज्यको चिहान’ पनि भनिन्छ । 

पछिल्लो समय भने अमेरिकी अधिकारी लगातार शान्तिपूर्ण सहमति निकाल्ने प्रयासमा छन्, जसले उनीहरूको सेनालाई घर फिर्ता गराउन सकियोस् । तर बहिर्गमन सम्भव गराउन लामो बाटो हिँड्नुपर्छ ।

अहिले अमेरिकीले वार्ता गर्न खोजिरहेका केही समूह हिजोको दिनमा अमेरिकाकै समर्थनमा सोभियत विरुद्ध लडेका थिए ।  ‘पवित्र योद्धा’ भनेर चिनिएका यी समूहहरूले अमेरिकाले उपलब्ध गराएकै हतियार चलाएर सोभियत लाल सेनालाई लखेटेका हुन् । 

इतिहासले त्यति बेला कोल्टे फेर्‍यो, जब आफ्नै पूर्व संरक्षक विरुद्ध उनीहरूले बन्दुक तेर्स्याए । अहिले अमेरिकी अधिकारीहरूसँग कतारको दोहामा वार्ताको टेबुलमा बसिरहेका धेरै व्यक्तिले कुनै समय कुख्यात गुवान्टानामो जेलमा कैदी जीवन बिताइसकेका छन् । 

पछिल्लो दुई पुस्ताका अफगानीले युद्ध मात्रै देखेका छन् ।  अमेरिका र अफगान तालिवानबीच भइरहेको शान्ति वार्तामा केही प्रगति भए पनि अन्धकार हट्नेछ भन्ने आशा  थोरै मात्र छ । 

दुई पक्ष अहिले अस्थायी युद्ध विरामका लागि तयार भएका छन् र यसले अफगानिस्तानमा युद्ध टुङ्ग्याउने र वार्ता सफल हुने सम्भावना बलियो बनाएको छ । तर अफगानिस्तान द्वन्द्वका कठिनाइहरू नियाल्दा यहाँ राजनीतिक समाधान खोज्न सहज हुने देखिदैंन । 

यदि सबै कुरा ठिकठाक चल्यो भने अमेरिका र तालिबानबीच यसै महिनाको अन्त्यमा शान्ति सम्झौता हुनसक्छ, त्यसपछि अन्तर–अफगान वार्ता हुनेछ । आगामी महिना ओस्लोमा हुने वार्ताको मस्यौदा अझै टुङ्गो लागिसकेको छैन ।

हुन त अफगानिस्तानमा १८ वर्ष लामो अमेरिकी युद्ध समाधानको यति नजिक भने कहिल्यै आएको थिएन । तर धेरै कुरा आगामी चरणमा निर्भर गर्नेछ, जति बेला अमेरिकाले अफगानिस्तान छाडिसके पछिको अवस्थामा अन्तर–अफगान वार्ता हुनेछ ।

अफगानिस्तानमा कायम राजनीतिक विभाजनलाई हेर्दा यो सहज हुने देखिन्न । काबुलमा रहेका धेरै शक्ति केन्द्रहरू र उनीहरूबिचको विभाजित दृष्टिकोणले राजनीतिक समाधानलाई जटिल बनाउनेछ । असरर्फ घानीको सरकार (जसको वैधतामा विवादास्पद निर्वाचनले नै चुनौती दिएको छ ) । तालिवानसँग तर्कसङ्गत रूपमा वार्तामा आउँछन् वा आउँदैनन् वा तालिवानले पनि वार्तालाई गम्भीर रूपमा लिन्छ५ कि लिँदैन भन्ने निश्चित छैन ।

गत सेप्टेम्बरको राष्ट्रपतीय निर्वाचनमा धाँधली भएको आरोप लागेको थियो । मध्यरातमा मात्रै आधिकारिक नतिजा सार्वजनिक गरिएको थियो, जसलाई राष्ट्रपतिका पराजित उम्मेदवार अब्दुल्लाह अब्दुल्लाहले धाँधली भएको आरोप लगाए ।

जारी शक्ति सङ्घर्षका कारण तालिवानसँगको वार्तामा काबुलको प्रतिनिधिमण्डलको प्रतिनिधित्व कसले गर्छ भन्ने अझै स्पष्ट छैन । राष्ट्रपति घानीले आफैँ वार्ताको नेतृत्व गर्ने सङ्केत गरेका छन्, अन्य नेताहरू समावेशी प्रतिनिधित्व हुनुपर्ने पक्षमा छन् ।

यसको ठिक विपरीत, तालिवानीहरु बढी एकीकृत छन् र उनीहरूले वार्ताको तयारी पनि गरेका छन् । बढ्दो अन्तर्राष्ट्रिय वैधताले मिलिसियाहरूलाई ठुलो आत्मबल दिएको छ । 

केही युद्ध प्रेमी र शक्तिकेन्द्रहरुले काबुल सरकारको अवस्थालाई थप कमजोर बनाउने गरी तालिवानसँग छुट्टै वार्ता गर्ने सङ्केत पनि देखाइरहेका छन् । र अहिले वार्ता निरन्तर चलिरहेका बेला तालिवान लामो युद्ध विरामका लागि तयार छ या छैन भन्ने प्रश्न पनि उठेको छ ।  

भविष्यको राजनीतिक परिदृश्यका विषयमा सहमति नजुटेसम्म तालिवानले स्थायी युद्ध विराम गर्ने कुनै सङ्केत अहिलेसम्म देखाएको पनि छैन । तालिवानी नेताहरू अझै पनि आफ्ना पक्षमा बलियो कार्ड राखेर बसिरहेका छन् । तर, विगतभन्दा  यो दीर्घकालीन रूपमा चल्ने र अति नै कठिन वार्ता प्रक्रिया हुने पक्का छ ।

एक पटक घर फर्किएपछि लडाकुहरूलाई फेरि बोलाएर परिचालन गर्न गाह्रो हुने भएकाले तालिवानले दीर्घकालीन युद्ध विराम चाहेको छैन । हिंसामा कमी आएको छ र त्यो पनि छोटो अवधिका लागि, लडाकुहरू अझै पोस्टमै छन् । 

तालिवानले अहिले गरेका प्रतिबद्धता भनेकै सडकमा बम नहान्ने, आत्मघाती आक्रमण र रकेट आक्रमण नगर्ने हो । युद्ध विरामको सम्झौताअघि दुवै पक्षबाट आक्रमण बढ्दो थियो ।

तालिवानले अफगानी फौजमाथि शृङ्खलाबद्ध रूपमा डरलाग्दा आक्रमण गरेको थियो र सयौँ सरकारी सैनिक विभिन्न प्रान्तमा मारिएका थिए । त्यस्तै, अमेरिकी सेना र हवाई सेनाले तालिवानको पकड क्षेत्रमा लक्षित गरेर आक्रमण गर्दा ठुलो सङ्ख्यामा मिलिसिया मारिएका थिए । 

धेरै सर्वसाधारण हवाई फौजको आक्रमणमा पनि मारिएका छन् । यो हेर्न बाँकी छ कि दुवै पक्षले कसरी युद्ध विरामलाई प्रभावकारी कार्यान्वयन गर्छन्, फेब्रुअरी २९ मा दोहामा शान्ति सम्झौता गर्नका लागि यो पूर्वशर्त हो । 

प्रस्तावित सम्झौताअनुसार अमेरिकी र अफगानी अधिकारीले बन्दी बनाएका झन्डै ५ हजार तालिवानी बन्दी रिहा हुनेछन् । यसले पक्कै पनि तालिवानलाई बलियो बनाउनेछ । यसबापत अमेरिकी सेनालाई पूर्ण रूपमा अफगानिस्तानबाट फर्काउनुपर्ने आफ्नो मागप्रति तालिवान लचक देखिएको छ ।

सम्झौतामा हस्ताक्षर भए लगत्तै अफगानिस्तानमा अमेरिकी सैनिकको सङ्ख्या घट्न थाल्नेछ । १३ हजारबाट घटेर ८ हजार ६ सयमा झर्नेछ । तर अमेरिकी सैनिकको पूर्ण कटौतीका लागि समय लाग्नेछ र सम्झौता कसरी कार्यान्वयन हुन्छ भन्नेमा यो निर्भर गर्छ । 

यद्यपि अमेरिकी सुरक्षा एजेन्सीहरू अलकायदा र इस्लामिक स्टेट समूहका बाँचेका मिलिसिया विरुद्ध भने कारवाहीमा निरन्तर लागिरहनेछन् ।

संसारकै ठुलो महाशक्तिले पनि यहाँ आफ्नो पुरै सैन्य तागत लगाउँदा युद्ध जित्न सकेन, त्यसैले अफगानिस्तानबाट सेना फर्काउने विषयमा अमेरिकामा दलीय सहमति छ  । तर, शान्ति सम्झौता हुँदै सेना अमेरिका फर्कँदा यसले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोस्रो कार्यकालमा विजयी हुन ठुलो सहयोग भने गर्नेछ ।

सेप्टेम्बर ११, २००१ को आतङ्कवादी हमलापछि सुरु युद्ध र अमेरिकी सैनिकको उपस्थितिलाई शान्तिपूर्ण समाधान दिन अझै लामो बाटो हिँड्न भने बाँकी नै छ । अफगानिस्तानमा शान्ति फर्काउनका लागि यहाँ सबै पक्षहरू पनि एक आपसमा सहमत भएर अघि बढ्नुपर्ने खाँचो देखिएको छ ।

(पाकिस्तानी सञ्चारमाध्यम डनबाट) 

पाकिस्तानी पत्रकार हुसैन अन्तर्राष्ट्रिय मामिलामा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि