मंसिर ०६, २०८१, बिहीबार
               

समुद्रमा शहर

नयनराज पाण्डे
फागुन २३, २०७६

ADVERTISEMENT

कक्षा आठ या नौ पढ्दा भूगोल शिक्षक मतिउद्धिन सरले भन्नु भएको थियो—‘नेपालगन्ज समुद्र सतहभन्दा एक सौ उनन्चास मिटरमात्र माथि पर्छ । कुनै दिन समुद्रको सतह एक सौ पचास भयो भने नेपालगन्जमा समुद्र पस्छ ।’

उहाँले जुन जानकारी दिनु भएको थियो, त्यसले मलाई अत्यन्त चिन्तित गराएको थियो र सपनामा म नेपालगन्जमा समुद्र पसेको देख्न थालेको थिएँ । त्यो सपनाले मलाई आजपर्यन्त छोडेको छैन । अहिले पनि कहिलेकाहीँ मैले म सुतिरहेको खाट समुद्रमा तैरिरहेको सपना देख्छु । म सपनामै उठ्छु र बिस्तारै खुट्टाले समुद्रको पानीलाई अनुभूत गर्न खोज्छु । जब पाइतालाले जमिन छुन्छ, म बल्ल निद्राबाट ब्युँझन्छु र आफू कोठाभित्र सुरक्षित रहेको अनुभूति गर्छु । सम्भवतः यस्तै कुनै क्षणमा मलाई लागेको हुनुपर्छ- जमिनलाई स्पर्श गर्नु भनेको जमिनमा टेक्नुमात्र होइन, त्यो त अनेक खालका कल्पना, भ्रम, अन्धकार, स्वप्न अनि दुस्वप्नबाट यथार्थको धरातलमा उभिने बलियो प्रयास गर्नु पनि हो ।
०००

नेपालगन्जसितको भौतिक साइनो भत्काएर आएको मसित गर्वभन्दा बढ्ता हिनतावोध छ । किनभने मेरो स्मृति कचल्टिएको छ अब । बस्छु काठमाडौँमा र सपना देख्छु नेपालगन्जको । लेख्छु काठमाण्डुमा बसेर र कथाहरू फुर्छन् नेपालगन्जका ।

कक्षा नौ या दशमा हुनु पर्छ, हामीलाई रामगोपाल सरले नेपाली पढाउनु हुन्थ्यो । उहाँको मातृभाषा नेपाली थिएन । सायद करबलले उहाँ नेपाली पढाउनु हुन्थ्यो । त्यसैले कक्षामा पाठहरूको सामान्य व्याख्या गरेर झारा टार्नु हुन्थ्यो उहाँ । तर, हामी विधार्थीप्रति भने साह्रै सदभाव राख्नु हुन्थ्यो । स्नेहशील हुनुहुन्थ्यो । उहाँले कुनै सन्दर्भमा कक्षामा भन्नु भएको थियो— ‘रुस र अमेरिकाबीच बेलाबेलामा शीतयुद्ध चलिरहन्छ ।’

मैले या अरू कुनै विद्यार्थीले सोधेको थियौँ—‘शीतयुद्ध भनेको के हो सर ?’

उहाँले एकछिन के के सोच्नु भयो । सायद उहाँको निधार विचारशील भएर खुम्चिएको पनि थियो त्यतिबेला । दुवै आँखिभुईँ एक ठाममा सोहोरिएका पनि थिए सायद । सायद केही शब्दहरू फुत्किँदा फुत्किँदै ओठमै रोकिएका थिए र ओठ सुसेली बजाउन लागेझैँ गोलोगोलो भएको थियो । अन्ततः केही सेकेन्डपछि उहाँले जवाफ दिनुभएको थियो—‘शीतयुद्ध भनेको शितकालमा हुने युद्ध हो । एकदमै जाडो समयमा हुने युद्ध ।’

मेरो दिमागमा धेरै वर्षसम्म रुस र अमेरिकाका ती युद्धरत् सैनिकहरू आइरहे, जो भयानक हिमपात भइरहेको बेलामा एकअर्का विरुद्ध गोलाबारी गरिरहेका छन् । जसका ‘मिलिटरी टोपी’ र बर्दीमा जताततै हिउँ लागेको छ र उनीहरूले सास फेर्दा बाक्लो धुवाँ निस्कने गर्छ । बेलाबेलामा चिसोले उनीहरूका बन्दुक पनि ओसिन्छन् र आगो बालेर बन्दुक र गोलीगट्ठा तताइरहनु पर्छ ।

०००

असाध्यै अत्याउने गर्मी । केही शीतलता । मुटु काँप्ने शीतलहर र सम्बन्धहरूको न्यानोपन । केही समुद्रमा सहरै डुब्नेजस्ता भयावह कल्पना र हिउँमा लडिरहेका सैनिकहरूजस्ता अति कल्पना । अनि धेरै अनुभव, थोरै ज्ञान र धेरै अज्ञानतासहित म नेपालगन्जमा हुर्किरहेको थिएँ । प्रायः मेरा पाइलाहरू सोझो बाटो पक्रेर सुर्खेत रोडबाट त्रिभुवन चोक र रानीतलाउ हुँदै एमपी स्कुल या महेन्द्र माविसम्म पुग्न मान्दैनथे । त्यही बाटोबाट खुरुखुरु घर फर्किन पनि मान्दैनथे । मेरा पाइलाहरू बराल्लिइहाल्थे । म मोडिन्थेँ । कहिले माटाका भाँडा बनाउनेहरू बसोबास गर्ने कुम्हारन टोलतिर र कहिले मोडिन्थे लाखका चुरा र गहना बनाउनेहरू बस्ने लखेरन टोलतिर । कहिले मेरा पाइला घाँस बेचेर गुजारा गर्नेहरूको घसियारन टोल हुँदै महेन्द्र पार्क निस्किएर सदरलाइन हुँदै घरतिर लाग्थेँ भने कहिले म एकलैनी पसेर मुसाफिर खाना अगाडिका कबाब दोकानका कबाब टिक्की या हलबाईको दोकानका राबडी, जिलेबी, बुनिया, इमर्ती, कालाजामुन, रसभरी र समोसाको बास्ना लिँदै फर्किन्थेँ । बिहानको स्कुल हुँदा कहिले त्रिभुवन चोकनिर एक जना पहलमानले ठुलो तावामा देसी घिउमा निथ्रुक्क भिजाएर पकाउने पठानी रोटी र हलुवाको बास्ना बोकेरै म कक्षा कोठासम्म पुग्थेँ र कहिले पुग्थेँ पुरी कचौरी, चनाको पिरो तरकारीको स्वाद बोकेर । 

बिहान बिहानै खस्रो बुरुस दलेर आफ्ना घोडा या घोडीको जिउ सफा गरिरहेका या तिनका खुर धारिलो चुप्पीले खुर्किएर त्यसमा फलामे नाल ठोकिरहेका टाँगावालहरू । सडकमै खसी हलाल गरेर छाला काढिरहेका मासु व्यवसायीहरू । मातृभाषा नेपाली नभएकोले नेपालगन्जका स्कुलमा अध्ययन गर्न अप्ठ्यारो मानेर सीमापारिको स्कुल या रामजानकी कलेजमा हिन्दी माध्यममा अध्ययन गर्न टाँगा चढेर जान लागेका बालबालिका र किशोरकिशोरीहरू । पहाडबाट हटारुहरूले ल्याएका टिनका टिन घीउ सडकमै आगो बालेर खार्न ठिक्क पारिएका चार-पाँच हात चौडा र त्यति नै गहिरा फलामे कराइहरू । खर बोक्न बाँके जिल्लाको दक्षिणी सीमाका चुरे पहाडसम्मै पुग्ने भारतबाट घाँटीमा झुन्ड्याएका घण्टी बजाउँदै आएका उँटका लस्करहरू । रामनवमीमा बागेश्वरी मन्दिरमा जिब्रो छेड्न जान लागेका बहेलियाहरू । जोगागाउँँको मेला भरेर हातमा ऊँखु बोकेर फर्किएका रैथानेहरू । बागेश्वरी मन्दिरबाट एकाबिहानै बज्ने हिन्दी भजन सुनेर मन्दिर जान हतारिएका हिन्दु भक्तजनहरू, अजानको आवाजसँगै नमाजका लागि जुर्मराएका मुस्लिमहरू । आह, दृश्यहरूको कमी थिएन नेपालगन्जमा ।

केही प्रश्न अझै पनि मेरो आलोकाँचो दिमागमा बाँकी छ । सहर फराकिलो भएसँगै सहरमा बस्नेहरूको छाती पनि फराकिलो हुनुपर्ने हो कि होइन ? त्यो छातीमा आपसी सद्भाव कोचीकोची भरिनु पर्ने हो कि होइन ?

यसरी नै सहरहरू दृश्य भएर आँखामा अटाउँदा रहेछन् । सहरहरू स्वाद भएर जिब्रोमा पनि बस्दा रहेछन् । हरेक सहरको आफ्नो खालको बास्ना हुँदो रहेछ । त्यसैले जब हामी आफू हुर्किएको सहर छाडेर हिँड्छौँ, हामीले आफ्ना गुन्टा, लुगाफाटा, आफ्ना सर्टिफिकेट र आफ्ना भावी लक्ष्यहरूको बडेमानको भारीसहित आफूले बाल्यकाल या किशोरावस्था बिताएका सहरका दृश्य पनि बोकेर हिँड्दा रहेछौँ । सहरका स्थायी बास्ना, शाश्वत ध्वनि र गाढा स्वाद पनि बोकेर हिँड्दा रहेछौँ । त्यसपछि केही दिन हराउँदा रहेछौँ कुनै नयाँ सहरमा । र बिस्तारै बिस्तारै फेरि पुरानै स्वाद, बास्ना, दृश्य र ध्वनि खोज्न थाल्दा रहेछौँ नयाँ सहरमा । जब ती कुरा भेट्दैनौँ, अनि सराप्न थाल्दा रहेछौँ नयाँ सहरलाई । काठमाडौँ त्यसैले अनेक श्राप बेहोरिरहेको सहर हो । नेपालगन्ज पनि अहिले अनेकन् श्राप बोकेर चलमलाइरहेको होला ।

हरेक दुईचार वर्षमा पावर फेरिरहनु पर्ने चस्माभित्रको मेरो दुई उदास आँखामा सुरक्षित राखेका अनेकन् दृश्य र बिम्बहरूको सहर हो नेपालगन्ज । विभिन्न खालका रैथाने स्वाद भएर मेरो जिब्रोमा बसेको सहर हो यो । म हुर्कँदा मसँगै मेरो चेतनामा हुर्किरहेको सहर हो नेपालगन्ज । कालान्तरमा मेरो चेतनामा हुर्किएको नेपालगन्जले मेरो कल्पना, मेरो विचार र मेरो साहित्यमा निरन्तर हस्तक्षेप गरिरहने छन् भने त्यति बेला मलाई के थाहा ?

मलाई जहिले पनि लाग्छ, समयको कुनै आकृति हुन्छ भने त्यो आकृति कुनै मदारीको जस्तो हुनुपर्छ । त्यसको एउटा हातमा डमरु र एउटा हातमा पातलो छडी जरुर हुनुपर्छ । त्यही समय महाशयले दुई दशक बढी समय डमरु बजाउँदै मलाई नेपालगन्जका गल्लीगल्लीमा घुमाए र पछिल्लो तीन दशकदेखि त्यो आकृतिले डमरु बजाउँदै र छडीले तर्साउँदै मलाई काठमाडौँ भन्ने महानगरमा बन्दर नाच नचाइरहेछ । अब त यसरी नाच्नु पनि प्रिय भैसकेको छ । अब त काठमाडौँ पनि प्रिय भैसकेका छ । त्यसैले मलाई काठमाडौँलाई गाली गरेर एक थान कविता म पनि लेखिटोपलुँजस्तो कहिले पनि लागेन ।

तीस वर्षदेखि अधिकांश मेरा दिन, सप्ताह र महिनाहरू काठमाडौँमा बितिरहेका छन् । तर, जब जब मैले नेपालगन्ज जाने अवसर पाउँछु, तब तब नेपालगन्जले निर्माण गरिदिएका बिम्ब र प्रतीकहरू मेरो मानसमा हस्तक्षेप गर्न आइहाल्छन् । मेरो आँखाभित्र जमेर बसेका नेपालगन्जका दृश्यहरू सलबलाउन थाल्छन् । स्वादहरू जिब्रोमा तँछाडमछाड गर्न थाल्छन् र बास्नाहरू मेरा वरिपरि ओहोरदोहोर गर्न थाल्छन् ।

स्वाद नेपालगन्जको संस्कृतिको गजबको हिस्सा हो । बिहानै ब्युँझन्छ नेपालगन्ज र हातमा दाना लिएर आफ्नो पछाडिपछाडि च्याखुरा डुलाउँदै चना या आलुको सब्जीसित कचौरी खान चोक चोकमा उभिइहाल्छ । अलिक गुलियो मन पराउनेले हलुवा र कचौरी रोज्छन् । कोही मिठाइपसलमा गएर दही र जिलेबी खान थाल्छन् । झिसमिसे बिहानको स्वाद बेग्लै छ नेपालगन्जमा । त्यो स्वाद करिब आठ बजेसम्म रहन्छ । त्यसपछि रैथानेभन्दा बढी बाहिरबाट आएकाहरूको चहलपहल बढ्छ र तिनीहरू मिठाइपसलभित्र पसेर पुरी, तरकारी र जिलेबी खान थाल्छन् । दिउँसोतिर छोला समोसाको बहार चल्छ । गर्मीमा लस्सीका सौकिनहरू बढ्छन् । अलिक दिन ढल्किँदै गएपछि सुरु हुन्छ, चाट र बिरयानीको सङ्गत । पारखीहरू भन्छन्- ‘नेपालगन्जको जायकामा लखनवी अन्दाज छ ।’ 

नेपालगन्जमा पाइला टेक्नासाथ म खोज्छु त्यो इच्छादार राबडी, फालुदा अनि रुहअफ्जा मिसिएको लस्सीको स्वाद । त्यो छोला, समोसा, कचौरी र जिलेबीको स्वाद । त्यो खटाइ र इमलीको चटनी अनि देसी घिउ मगमगाउने चाट, आलु टिकिया, पकौडा अनि हलुवा र पुरीको स्वाद । 

०००

गर्व गर्दै आदरणीय साहित्यकार दाजु सनत रेग्मी आफ्नो कोठामा बसेर नेपालगन्जको इतिहास बताउँदै भन्ने गर्नु हुन्छ—‘नेपालगन्ज तराईमा बसेको पहिलो सहर हो । वीरगन्ज, विराटनगरभन्दा पनि पुरानो सहर । कुनै बेला पूर्वको एक सहरको नाम नेपालगन्ज राख्न खोजिएको थियो । तर, पश्चिम नेपालमा नेपालगन्ज भन्ने सहर रहेको थाहा भएपछि त्यो सहरको नाम विराटनगर राखियो ।’

नेपालगन्जबारे कुरा गर्दा सनत दाइको अनुहारमा गजबको गर्व देखिन्छ । किनभने उहाँ अहिले पनि नेपालगन्जसित उस्तै आत्मीयताका साथ जोडिनु भएको छ । तर, नेपालगन्जसितको भौतिक साइनो भत्काएर आएको मसित गर्वभन्दा बढ्ता हिनतावोध छ । किनभने मेरो स्मृति कचल्टिएको छ अब । बस्छु काठमाडौँमा र सपना देख्छु नेपालगन्जको । लेख्छु काठमाण्डुमा बसेर र कथाहरू फुर्छन् नेपालगन्जका । कहिलेकाहीँ लाग्छ, वास्तवमा म काठमाडौँमा बसेकै छैन । अझै नेपालगन्जमै छु र सिजोफ्रेनिक भएर मैले आफ्नो कल्पनामा बनाएको अजीब काठमाडौँमा बन्दर नाच नाचिरहेका मात्र हुँ ।

००० 

अचेल नेपालगन्ज पुगेको केही घण्टामै नेपालगन्जसित मोहभंग हुन्छ मेरो । म जति स्नेहसाथ आलिङ्गन गर्न आतुर हुन्छु, त्यति स्नेह अचेल नेपालगन्जले पटक्कै मप्रति नदेखाएको आभास हुन्छ । विस्थापित भैसकेको छु म नेपालगन्जबाट । अनेक स्वार्थ बोकेर आफ्नो थातथलो छाडेर गएकोलाई नेपालगन्जले पनि के खान स्नेह गरेर बसोस् ? किन सम्झियोस् ?

जनयुद्ध सुरु भएपछि नेपालगन्जमा पश्चिमी पहाडबाट बसाइँ सर्नेहरूको ओइरो लाग्यो । नेपालगन्जमा तीव्र गतिमा नयाँ बस्तीहरू विकास हुँदै गए । अब त मेरो आँखामा बसेको नेपालगन्जको दृश्यसित अहिलेको नेपालगन्ज धेरै हदसम्म मिल्दैन । त्यो नेपालगन्ज कहाँ हरायो भनेर खोज्छन् त्यहाँ पुगेर मेरा आँखाले । तर हताश भएर मेरो अतीत र स्मृतितिर टकटकी लगाएर हेर्न बाध्य हुन्छन् मेरा आँखा । दृश्यसँगै बास्ना फेरिँदै छ नेपालगन्जको । स्वाद पनि फेरिँदै छ । म हुँदाहुँदै अजिब बास्ना बोकेर सेकुवा आयो र त्यससँगै आए दारुका अनेकन् ब्रान्ड । त्यसपछि मम आयो । अचेल पिज्जा र बर्गर आएका छन् । चाट पसलहरू वातानुकूलित त भएका छन् । तर, गायब भएको छ चाटबाट देसी घिउको बास्ना । घरपालुवा खसी बाख्राका लागि बिहानै पात किन्न त्रिभुवन चोकतिर आउने नेपालगन्ज, अब स्वामी रामदेवको अनुलोम विलोम र कपालभाँतीमा बिहान बिताउन थालेको छ । 

मेरो चिन्तन नै जड । मेरो सोच नै पुरातन । म किन मेरो आँखामा अटाएको नेपालगन्जको दृश्यलाई मात्र मेरो यथार्थ भन्ने ठानिरहेछु ? मेरो जिब्रोमा अल्झिएको पुरानो स्वादलाई नै किन नेपालगन्जको मौलिकता ठानिरहेको छु ? म किन नेपालगन्जको परिवर्तनलाई बुझ्न र आत्मसात् गर्न सकिरहेको छैन ? अहिले पनि किन नेपालगन्ज पुग्दा त्यही स्वाद, त्यही दृश्य र त्यही गन्धको खोजीमा भौँतारिन्छु एकलैनी र सदरलाइनमा ? किन उभिन्छु एकछिन त्रिभुवन चोकनिर र किन टोलाइरहन्छु म त्यहाँ ?

नेपालगन्जमा अब मेरा समवयी साथीहरू लगभग छैनन् । कोही काठमाडौँ आइसके । कोही युरोप, अमेरिका र अस्ट्रेलियाका बासिन्दा भैसके । बस्, सदरलाइनको एक छेउमा पसलमा अझै बसिरहेको भेटिन्छ मेरो बालसखा जुगल गुप्ता । मैले जाँगर गरेर खोजेँ भने जसोतसो भेटिएला एसएलसीसम्मको मेरो सहपाठी रमेश नाग । त्यसबाहेक अरू नाम त मैले पनि बिर्सिसकेँ । त्यसैले जतिबेर बसे पनि त्रिभुवन चोकमा पहिला सेकेन्ड सेकेन्डमा ‘के छ बे ? कहाँ हराइगएको थिस् यार’ भन्दै मसित हात मिलाउन आइपुग्ने मेरा परिचित या लँगौटिया यारहरू अब आउँदैनन् । मपछिको पुस्ताले मलाई चिन्दैन । अनि त म आफ्नै सहरमा अपरिचित भएर त्रिभुवन चोकमा ठिङ्ग उभिन्छु । यो त्यही चोक हो, जसले मधेस आन्दोलनमा ढालेको थियो त्रिभुवनको सालिक र राखेको थियो चोकको नयाँ नाम—कमल मधेसी चोक । मधेस आन्दोलनले उठाएका मुद्दाहरू खै कति सम्बोधन भए, कति थाँति रहे, विश्लेषकहरूले बताउलान् । तर, नमीठो यथार्थ के हो भने, कसैको ओठमा पनि कमल मधेसी चोक स्थापित भएन । सालिक पो ढल्यो तर नाम यथावत् रह्यो—त्रिभुवन चोक, जहाँका पानपसलअगाडि उभिएर गाहाकीहरू पानको अर्डर दिँदै छन्- ‘जर्दा तीन सौ और एक सौ बीस । हल्का हिरामोति । थोडा पिपरमिन्ट । सुपारी और चुना अलग से ।’ 

सानो थियो मेरो सहर उतिबेला । तर अब फराकिलो भएको छ । हराएर गाउँहरू अब सहरमा विलीन भएका छन् । फरक भएको छ अब सहरको अर्थशास्त्र । अध्ययनका लागि युरोप, अमेरिका या अस्ट्रेलिया जान नसकेकाहरू युवाहरू मलेसिया र खाडी जान धमाधम पासपोर्ट बनाइरहेछन् । खाडीबाट बिदामा नेपालगन्ज पुगेका युवाहरूसँगै घरघर पसेको छ बत्तीस इन्चको स्मार्ट टेलिभिजन र हरदम चलिरहेछ त्यसमा इन्डियन आइडलका नयाँ खेलाहरू । छ लेनको भएको छ सुर्खेत रोड । फराक हुँदै छन् अरू सडकहरू । तिनै सडकका छेउछाउ नयाँ घर बनाएका छन् केही वर्षअघि सीमापारि रुपैडिहाका थुप्रै व्यापारीले । किनभने अहिले तिनको हातमा छ, नेपालको नागरिकता । तर, अहिले पनि नागरिकताका लागि सिफारिस गरिदिने कोही नभेटेर भौँतारिइरहेको देख्छु पुस्तौँदेखि बसिरहेको हसनु चिडिमार र उसका सन्ततिलाई । 

केही प्रश्न अझै पनि मेरो आलोकाँचो दिमागमा बाँकी छ । सहर फराकिलो भएसँगै सहरमा बस्नेहरूको छाती पनि फराकिलो हुनुपर्ने हो कि होइन ? त्यो छातीमा आपसी सद्भाव कोचीकोची भरिनु पर्ने हो कि होइन ?

प्रश्नहरू मेरो दिमागमै रुमल्लिइरहन्छन् । यो त्यही दिमाग हो, जसमा अझै पनि रुस र अमेरिकाका सेनाहरू हिउँको चिसो खप्दै युद्ध गरिरहेका छन् । यो त्यही दिमाग हो, जसमा अहिले पनि समुद्रको सतह एकसय पचास मिटरमाथि पुग्यो भने नेपालगन्ज सहर पुरै डुब्छ भन्ने कहालीलाग्दो डर गाडिएर रहेको छ । 

नेपालगन्ज फेरिएको छ । सायद खुसी हुनै पर्ने कुरा हो यो । तर, नेपालगन्ज जति नै फेरिए पनि अझै फेरिएको छैन मेरो चेतनामा गाडिएका त्यहाँका घुर्मैला बिम्बहरू, मेरो उमेरसँगै कमजोर हुँदै गएको त्यो सहरको ध्वनि, बास्ना र स्वाद । म त्यही बास्ना, ध्वनि र स्वादसहित बाँचिरहेछु- काठमाडौँमा । यहाँ पनि त्यो सपनाले पिछा छोडेको छैन । म अहिले पनि कहिलेकाहीँ सपनाबाट ब्युँझन्छु र बिस्तारै खाटबाट खुट्टा झारेर अनुभूत गर्न खोज्छु- म समुद्रमा छु या जमिनमा ।

पाण्डे चर्चित नेपाली साहित्यकार हुन् । उनी नेपाली कथाकार, चलचित्रमा पटकथा लेखक तथा समकालीन परिस्थितिलाई चित्रात्मक शैलीमा प्रस्तुत गर्ने गर्दछन् । उलार, लू, घामकिरी र सल्लीपिर उनका चर्चित उपन्यास हुन् ।

कस्तो लाग्यो ?

यो पनि