मंसिर ०७, २०८१, शुक्रबार
               

धोखा

चेतन पाण्डे
जेठ ०७, २०७७

ADVERTISEMENT

सबैभन्दा पहिले त यसमा उल्लेखित घटना र पात्र काल्पनिक हुन् जस्ताे लाग्छ । प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कसैको जीवन वा चरित्रसँग मिलेको खण्डमा भने वास्तविक घटना रहेछ भनेर बुझिदिए राम्रै हुन्छ ।

अब जाउँ एउटा घायल प्रेमीले पूर्व प्रेमिकालाई लेखेको पत्रमा । जुन पत्र केही दिनअघि हावालेे मेराे नजिक ल्याइदियाेे । पत्रबाट मायाको गहिरो सुगन्ध आइरहेको थियो । मेरो परिभाषामा माया गुलाफ हो, वासना त छरी नै हाल्छ नि । पत्रले पनि सुगन्ध नछर्ने के कुरो । सररर पढ्दा मार्मिक पनि लाग्यो ।

०००

प्रिय !
(नाम हटाइएको)

नसम्झिऊँ भन्दा भन्दै पनि धेरै पछि याद आयौँ तिमी । आखिर जिउँदो मानिस नै हुँ, नमर्दासम्म त कसै न कसैैैैैकाे याद त आइ हाल्दाेे रहेछ । मिठा अनि कहिले तिता अनि कहिले दुर्गन्धले भरिएका पनि । यादै त हो ।

जब हामीले अलग हुने अन्तिम निर्णय गरेका थियौँ नि ? हो, त्यो बेला तिमीले निकै सरापेकी थियौ । नामर्द, खाते, खान नपाउने । अनेकौँ नाना भाँती गाली गरेर । तर, त्यो बेला पनि तिम्रो आँखामा मायाका केही थोपा तैरिरहेका थिए । म बुझ्छु । नबुझे झैँ गर्न पनि सक्थे । धोका त तिमीले नै दिएकी थियौ, चाहेर–नचाहेर । तर, तिम्रा आँखाबाट खसेका त्यही केही थोपा आँसुले तिमी मलाई कति माया गर्छौ भन्ने छर्लङ्ग पारेको थियो । आखिर माया पनि घाम जस्तै पो हुन्छ । हत्केलाले छेकेर के छेकिन्थ्यो र ।

हामीले गहिराे माया गाँसेका दिनमा तिम्रो आँखाको गहिराइमा निकै पटक डुबेको थिए । लाखौँ आँखाभन्दा गहिरा थिए, तिम्रा आँखाका सागर । अनि त्यही सागरभन्दा गहिरो आँखामा डुब्दा सम्हाल्ने पनि तिमी नै हुन्थ्यौँ । अनि अमृतका प्यालाभन्दा हजारौँ गुणा मिठा हुन्थे तिम्रा ओठका चुम्बन ।

हिजो राति मात्रै आफैँ मरेको सपना देखेँ । अनि तिमीलाई यो पत्र लेख्न मनले दिमागलाई धेरै पटक चिमट्यो । आखिर मनको अगाडि मस्तिष्कको केही चल्दैन रहेछ । सारा बन्धन तोडेर आज मैले तिमीलाई पत्र लेख्ने आँट गर्दैछु ।

अहिलेसम्म एकाध पटक देखेका यस्ता सपनासँगै तिम्रो यादले भने निकै सताउँछ । निन्द्रा मै तिम्रा कोमल गालालाई सहलाइ पनि रहन्छु । तिम्रा आँखा कल्पँदा तिमीलाई घृणा गर्ने मन पनि पग्लँदै जाँदो रहेछ ।

अँ हिजो राति सपनीमा मरेर स्वर्ग र नर्कको दोबाटोमा रोकिएँ । त्यहाँ उभिएका चौकीदारका अनेकौँ सवालको जवाफ दिनु पर्दो रहेछ, अगाडिको बाटो तताउन । सही र गलत जवाफको भेउ पाइहाल्दा रहेछन् । तिम्रा र मेरा प्रेमका बारेमा पनि निकै प्रश्न गरे ।

जे बोलेँ साँचो बोलेँ । सत्य, धरोधर्म ! हामीले गरेको मायाका बारेमा अनि धोखाका बारेमा पनि । तिमीले जति नराम्रो गरेको भए पनि तिम्रा बारेमा केही नराम्रो भन्न मन लागेन । तिमीले खनेका धोखाका खाडलका बारेमा पनि चुप नै लागेँ । अहिले पनि तिम्रो बारेमा नराम्रो बोल्न मन लाग्दैन । कस्सम ! तरपनि मनमनै निकै सराप्छु, तिम्रै यादमा, तिमीलाई नै ।

अहिलेसम्म एकाध पटक देखेका यस्ता सपनासँगै तिम्रो यादले भने निकै सताउँछ । निन्द्रा मै तिम्रा कोमल गालालाई सहलाइ पनि रहन्छु । तिम्रा आँखा कल्पँदा तिमीलाई घृणा गर्ने मन पनि पग्लँदै जाँदो रहेछ । अनि फेरी त्यही मायाको अथाह गहिराइ डुब्छु नै । मात्र त्यस्तो बेला कदापि लाग्दैन, तिमी मभन्दा टाढा गएकी छौ भन्ने । अनि आँखामा सलबलाउँछ, पुराना ती दिनका यादहरू ।

हुन त हामी हिजोआजका केटाकेटी झैँ भाग्यमानी पनि त थिएनौँ नि । भर्चुअल संसारमा रमाउने । प्रेमिकाको हाँसो हेर्न, आँसु हेर्न मात्र एउटा बटन थिचे पुग्ने । सुरिलो आवाज सुन्न मोबाइलमा घण्टी बजाए हुने । निकै कसरत पो गर्नु पर्थ्यो हैन त ? तिमीसँग भेट्न, अनि तिमीलाई घण्टौँसम्म एकतमास नियालिरहन । घरको टेलिफोन अघिल्तिर कोही नभएको मौका छोपेर २ घण्टी ठोक्थे, तिम्रो घरको टेलिफोनमा । अनि तिमी पनि मौका छोपेर फोन गरिहाल्थ्यौ । लाग्थ्यो, त्यही नै संसारमा मिलनअघिको अन्तिम परिधि हो । मिलनको अमूर्त सीमा रेखा ।

होइन रहेछ, म गलत साबित भएँ । आज जस्तो प्रविधि पाएको भए कस्सम ! न तिमीले केही गुनासो गर्नु पर्थ्यो नतै मैले केही गुनासो सुन्नु पर्थ्यो । म मेसेन्जरबाट तिमीलाई आफ्नो सारा हाल बताउँथे अनि तिमी मेरो व्यथा सुनेर भक्कानिथ्यौँ । तिम्रा आँखाबाट बगेका आँसुलाई म अँजुलीमा भर्थेँ । तिमीलाई मनाउँथेँ । अनि मायामा पुल्पुलिएर तिमीले गरेको गाली सुनेर आफैँलाई भाग्यमानी ठोकुवा गर्थेँ । तर, त्यो बेला प्रविधिले पनि हामीलाई ठगेको रहेछ । अनि भाग्यले मलाई ।

हेर त ! अहिलेका केटाकेटीलाई यस्तो महामारीमा पनि प्रेमको सुभाषलाई मर्न दिएका छैनन् । जुकरबर्ग नभएका भए अहिले धेरै जोडीको कथाको अन्तिम हरफ पनि तिम्रा र मेराभन्दा फरक हुँदैन थिए होलान् । 

अनि त्यति मात्र कहाँ हो र, तिम्रो र मेरो प्रेम कथा पनि त्यही ढंङ्गमा टुङ्गिन सक्थ्यो । तिम्रा नकचरोपन मात्र होइन, सारा गल्ती पनि आफैँ बोक्थ्येँ । तिमी कति नकचरी थ्यौ, थाहै होला नि ? काठमाडौँका डाँडा घुम्न जाँदा कति गीत गाउन भन्थ्यौँ । मेरो गलालाई आजसम्म तिमी सिवाय कसैले राम्रो भनेन । अनि तिम्रा लागि गाइदिन्थे, म पनि । मन दुखी भएका बेला दुखका गीत, मन हाँसेका बेला सुख गीत अनि रोमान्सले भरिएका गीत ।

‘यति चोखो, यति मिठो दिउँला तिमीलाई माया,
बिर्सने छन् साराले पुराना प्रेमका कथा ।’

यो गीतको समाप्तिसँगै तिम्रो ओठमा तैरिने मुस्कानले हजारौँ सपना पुरा भए झैँ महसुस गर्थेँ म । शायद तिमी मेरो गीतसँगै हाम्रो प्रेमको गीतमा धुन भरिरहेकी हुन्थ्यौ होली । जीवनको स्क्रिप्ट तयार पारिरहेकी हुन्थ्यौ होली । तर, खै तिमी किन बद्लियौ ?

०००

प्रिय !

खै तिमी किन बद्लियौ ?

जब तिमी मसँग टाढा भयौ । तिमीलाई आफैँ भित्र महसुस गर्ने अनेकौँ प्रयास गरेँ । तिम्रो गाला सम्झेर गुलाफलाई सहलाएँ  । तर, अहँ गुलाफ समेत कोमल लागेनन् । तिम्रा केश सम्झिएर बादल बन्न तयार कपास जस्ता बाफहरूलाई सहलाए तर, अहँ ती पनि मुलायम लागेनन् । मन्दिर–मन्दिर घुमेँ तर, तिमीसँग झैँ सान्निध्य कतै महसुस गर्न सकिन । 

सराप्न त आज पनि सराप्छौ नै होली, मलाई । तिम्रो नजरमा मेरो नालायकीपनले दिएका धोखालाई सम्झँदै । तर, सरापेपछि पेट मिचिमिची हाँस्छौ पनि होला, अनि अचानक आँखाबाट आँसु त झर्छ नै होला ? मैले दिएका प्रेमलाई बुझेर पनि नबुझे झैँ गरेका ति दिन सम्झेर । अहिले त बुझ्ने भयौ होला । कति माया गर्थ्येँ  भन्ने थाहा पाइसकेको हुन पर्छ तिमीले । तर, तिम्रा अहम्ले त्यसलाई स्विकार्न पनि दिँदैन नै । मानिसमा गढिएको अहम् काँडा जस्तै हुन्छ, फूल जस्तो हुँदैन । फूल कोमल हुन्छ र पो, चाँडै मौलाउँछ । चाँडै पलाउँछ पनि । तिखो काँडाको त आयु पनि लामै हुन्छ । तिम्रै अहम् जस्तै । आफैँ उम्रिएको बोट मरिसक्दा पनि तिखै रहिरहने ।

अहिले पनि थाहा छ मलाई । तिम्रो अति महत्त्वाकाङ्क्षालाई म त्यो बेला चाहेर पुरा गर्न सक्दैन थिएँ । तिमीलाई विलासिताका हरेक सोख थियो । म पुरा गर्न सक्दिन थिएँ । स्वतन्त्रताका हरेक सीमा नाघ्नु थियो । त्यो पनि म दिन सक्दिन थिएँ । मेरो मायालाई नबुझेर तिमी आफ्नै कार्यालयका हाकिमसँग हिमचिम बढाउँदै छौ भन्ने पनि सुनेँ । क्षणिक आडम्बरका खातिर । 

मनमा देवी झैँ पुजेर राखेकी तिमीले मलाई नै धोका दिँदै छौ भन्ने सुन्दा कसको हृदय पो नकाम्ला र ? तिम्रा नाममा मैले रोपेको त्यही गुलाफको बोटबाट काँडा टिपेर लाखौँ पटक मेरो मुटुमा रोप्यौ जस्तो लाग्यो । तिमीलाई चोखो माया त दिन्छु भनेकै थिए । हामीले प्रेमको नयाँ कथा लेख्नु पर्छ भनेकै थियौँ । कसम खाएकै थियौँ । अहँ तिमीले क्षणिक स्वार्थका लागि, यो संसार त्याग्दा लैजान नसक्ने वस्तुमा पनि आशक्तता देखायौ । आफ्नै आत्माको पनि हत्या गर्‍यौ । तिमीले त्यो बेला बिर्सियौ, आखिर जल्दा नाङ्गै जल्नु पर्छ भन्ने पनि । 

तिमी मलाई नामर्द, नालायक भन्दै, सराप्दै हिँड्यौ । भन्यौ, तिम्रा सपना पुरा गर्ने भर्‍याङ म कदापि बन्न सक्दिन भनेर । अचानक तिम्रो मनमा यस्तो परिवर्तन किन र कसरी आयो, मैले कहिल्यै बुझिन । अब त बुझ्नु पनि छैन । तिमी गयौ, कहिल्यै मेरो जिन्दगीमा नफर्किने गरी । उफ्, कस्तो परिवर्तन क्षणभरमा । तिम्रो मायामा, तिम्रो चाहनामा । तिमीले निमेषभर पनि सोचेनौ मेरो बारेमा । मेरो मनमा आउने चट्टानी छालका बारेमा ।

तिम्रो धोखालाई मैले भट्टीमा रित्याइन । गिलासमा घट्काइन । तिम्रो धोखाबाट पाठ सिकेँ । केही बन्ने अठोट गरेँ । सोचे आखिर जति आँधी आए पनि आकाश त उघ्रन्छ नै । घामले फेरी हाँस्न त पाइ नै हाल्छ नि । बादलले आफ्नै तालमा फेरी नाच्न पाइ नै हाल्छ नि । अनि म किन रोएर बस्नु, तिमी जस्ती निष्ठुरीको मायामा । एक दिन मेरो मन र मायाको पनि काँचुली पनि अवश्य फेरिन्छ नै । मेरो मनमा पनि घाम झुल्काउने कोही त आउँछ नै । मायाको गीत सुसेल्दै ।

हुन त उसकै चाहनालाई पुरा गर्न तिमीले अर्कै केटासँग बिहे पनि गर्‍यौ रे । नाजायज सम्बन्धलाई केही हदसम्म जायज बनाउने लोभमा । एउटा गाडी पनि किनिदिएको थियो रे । सुनेको मात्र । साह्रै माया गर्दो रहेछ, मैले भन्दा पनि धेरै । नोटको छहारी मायाको छहारीभन्दा न्यानो हुँदो रहेछ । त्यो पनि देखियो, भोगियो । पछि सुने तिम्रा हाकिमले तिमीलाई पनि धोका दिएछन् । दुख लाग्यो । उसको घरमा पनि आखिर पत्नी थिइन् भन्ने तिमीले बुझेकी रहेन छौ कि क्या हो ? सुनेँ हिजोआज अर्कै बुढी राखेको छ रे, जेठीलाई पनि छाडेछ । यो कस्तो, घिनलाग्दो तिम्रो ‘कर्पोरेट कल्चर’ ? छ्या ।

अँ साँच्चै तिमीहरूका कर्पोरेट प्रेमका कथा तिम्रा बुढाले पनि थाहा पाए छन् हैन ? सुनेको थिएँ, तिम्रो पनि डिभोर्स भयो भनेर । तिम्रो अर्को बिछोडलाई म कोट्याउन चाहन्न । तिम्रो महत्त्वाकाङ्क्षाको लगाम अहिले कसको हातमा छ ? त्यो पनि सोध्न चाहन्न । अहिले तिम्रो अति महत्त्वाकाङ्क्षी आवश्यकता कसले पुरा गर्छ ? त्यो पनि सोध्दिन ।

हाम्रो प्रेमको कथा र तिम्रो गृहस्थी जीवनलाई पूर्ण हुन नदिने त्यो हाकिमको कहिल्यै भलो नहोस् । हरेक मन्दिर र मूर्ति अगाडि जाँदा यही भावना आउँछ । शायद उसले तिमीलाई धोका दिँदा तिम्रो मनमा पनि त्यस्तै काँडा बिझेको हुनु पर्छ, जस्तो मेरो मनमा बिझेको थियो ? तिम्रो मुटु पनि त्यति नै जलेको हुनुपर्छ जति मेरो जलेको थियो ? तरपनि किन हो कुन्नि, तिम्रो माया मनबाट कहिल्यै हटाउन सकिन । आखिर मेरो एक्लो प्रेम थियौ तिमी ।

अनि म कसरी पो सराप्न सक्छु तिमीलाई ? तर, सराप्छु मायाले नै । अहिले पनि अन्तर कुन्तरमा लुकेको नै छ, तिमीले कुनै दिन मलाई गरेको निश्चल–निश्छल माया । कामना पनि गर्छु नै तिम्रो प्रगतिको । अहिले पनि मैले तिमीले दिएको धोकालाई बिर्सिसकेको छैन । अनि गरेको माया पनि बिर्सेको छैन । आखिर तिमी नै मेरो पहिलो र एक मात्र गहिरो प्रेम थियौ ।

अहिले त तिम्रो र मेरो बाँच्ने अर्थ र गन्तव्य पनि फरक बनिसकेको छ । तिम्रो र मेरो जीवनको परिभाषा पनि फरक बनिसक्यो ।

जे भए पनि पक्का छ, माया त त्यति नै गर्छु, जति तिम्रो आलिङ्गनमा हुँदा गरेको थिएँ । जति तिम्रा ओठका भाकामा लय मिलाउँदा गरेको थिएँ । तिम्रा चुम्बनले आज पनि मनमा काउकुती लगाउँछ नै । तर क्षणभर मै घिन पनि लागेर आउँछ । मैले अरूका लागि बनाइएका ओठमा चुम्बन गरेको रहेछु भनेर ।

बिर्सन त कहाँ सक्छु र, तिम्रा ती ओठका कम्पनलाई । शायद तिम्रा हाकिमले चुम्दा पनि त्यति काँपेनन् होला । अनि उसको आलिङ्गनमा हिउँ झैँ पग्लिएनौ पनि होला, जति मेरो आलिङ्गनमा पग्लिन्थ्यौँ । आखिर माया त मलाई नै गरेकी थियौँ, बाँकी त सबै सम्झौता न थिए । 

अहिले त ती आलिङ्गन र चुम्बनका अनुभव पनि कर्कश लाग्न थालेका छन् । खै तिमीलाई कस्तो लाग्छ, थाहा भएन । ती दिन सम्झिँदा ।

म यो कस्तो दोधारमा उभिएँ ? आफैँले आफैँलाई बुझ्न मन लागेको छ । आफैँलाई जाँच्न मन लागेको छ । मनभरि कहिले मायाका सागर त कहिले घृणाका भेल । यो कस्तो माया हो ? यो कस्तो घृणा हो ?

बरु मौका मिले एक पटक सुटुक्क लेखी पठाउनु नि हुन्न ? जसरी हुन्छ पठाऊ । कल्पना मै सही तिमीलाई फेरी एक पटक अनुभव गर्न मन लागेको छ । अनि फेरी एक पटक मनमा काउकुती लगाउन मन लागेको छ । ढलेको बैँस जगाउन मन लागेको छ । निरस एक्लो जीवनमा चमक ल्याउन मन लागेको छ । तिम्रा आँसुलाई फेरी एक पटक अँजुलीमा भर्ने मन छ । तिम्रो अँजुलीमा नोटै नोटका बिटा राखिदिने रहर जागेको छ । अनि फेरी माया गरे जस्तो गरेर तिमीलाई धोखा दिने रहर जागेको छ । मैले पिएका आँसुका स्वाद तिमीलाई पनि चखाउन मन लागेको छ ।

एक पटक आफैँलाई जाँच्नुपर्ने भएको छ, मेरो मनमा तिमीप्रति माया छ कि घृणाको अथाह बादल । बस्, एक पटक । म यो कस्तो दोधारमा उभिएँ ? आफैँले आफैँलाई बुझ्न मन लागेको छ । आफैँलाई जाँच्न मन लागेको छ । मनभरि कहिले मायाका सागर त कहिले घृणाका भेल । यो कस्तो माया हो ? यो कस्तो घृणा हो ? अब बुझ्न मन लागेको छ, माया र घृणाको यो नयाँ परिभाषा ।

त्यसैले मलाई हिजोआज सपना पनि मन पर्न छाडेका छन् । सपनाले पनि कष्ट दिन थालेका छन् । अब हेर्दिन म त्यस्तो सपना तिमीलाई सम्झाउन आउनेहरू । तिमीले दिएका धोखाको यादमा प्याला रित्याउने बहानाहरू ।

हिजोआज निकै छटपटिन्छु । जति ठाँटे पनि कस्सम ! साह्रै मोहक लाग्छन्, तिम्रा यादका प्याला । तिम्रा ओठले चुमेर दिँदा । सपनी मै सही । सपनीमै मात्तिन्छु, सपनीमै गाउँछु । फेरी त्यही गीत याद आउँछ । तिम्रा केशका रेसाहरू सहलाउँदै गाएको,

‘यो सम्झने मन छ, म बिर्सूँ कसोरी
तिमी नै भनिदेऊ ए जाने निष्ठुरी ।’

गाएको त विपनीमा पनि थिएँ । तिमीलाई मोटरसाइकल पछाडि राखेर तिम्रै घरसम्म छाड्दा । यो गीतको अन्तिम हरफको बिदाइसँगै तिमी हाँस्दै घरको ढोका भित्र जान्थ्यौँ अनि म तिमीसँगको मायालाई अझै गाढा बनाउने कुनै बहाना खोज्थे । त्यो बेला म चाहन्थे, मेरा हरएक श्वास तिम्रै नाममा निस्कियोस् ।

मेरो थोत्रो मोटरसाइकलमा चढ्दा चढ्दै तिम्रो मनमा परिवर्तनका दागहरू बढ्दै थिए भन्ने मलाई के थाहा । मेरो मायामा कुहिरो लाग्दै थियो भन्ने पनि के थाहा । अहिले त मेरो मायामा पनि तिमीमा झैँ रूखोपन आएको छ । माया र घृणाको यो कस्तो दोसाँध ? झनै बुझ्न मन लागेको छ ।

तिम्रो जीवन सुखमय बितोस्, जसरी मेरो बितिरहेको छ । बस्, मेरो जीवनको तिम्रा लागि अन्तिम पत्र यति नै । बस् एउटै कामना छ, स्वर सम्राट् नारायण गोपालको गीत झैँ,

‘गल्ती हजार हुन्छन्, यहाँ होस हराएको बेला,
एक्लै तिमी नआऊ म मात्तिएको बेला ।’

साढे दुई दशकदेखि पत्रकारितामा सक्रिय पाण्डे फ्ल्यास संचार प्रालिका अध्यक्ष हुन् ।

कस्तो लाग्यो ?

यो पनि