मंसिर ०७, २०८१, शुक्रबार
               

गिद्दे प्रेसले छाडेका डोब

चेतन पाण्डे
साउन ०७, २०७७

ADVERTISEMENT

यो लोकमा पहिलो श्वास फेर्दा मानिस चेतना विहीन हुन्छ । अनिश्चितताले भरिएको । भाग्य, भविष्य, गन्तव्य सबै अनिश्चित । न सुखको चाहना नत दुखको बोध । न कुनै घमन्डले थिचिएको नत कुनै अहङ्कारको बोझ । हाड–मासुको संरचनाभित्र खोक्रो प्राणी । जानेको केही हुन्छ त, मात्र श्वास लिन । 

जिन्दगीको षडयन्त्रकारी यात्राका लागि जब पहिलो श्वास फेरिन्छ, लाग्छ भोलि यो कहालीलाग्दो संसारमा आफ्नो गन्तव्य पहिल्याउने तयारीको सुरुवात पनि हो त्यो । जिन्दगीमा आउने अनेकौँ बाधा अड्चनसँग लड्ने साहस जुटाएको प्रतिक्रिया पनि हो, त्यो पहिलो श्वास । अनि लिइरहन्छ, लास नबन्दासम्म, त्यही श्वास । मानिसले आफ्नो आयुमा पाउने निरन्तरता भनेको त्यही एक मात्र हो, श्वास । जन्मेदेखि मर्दासम्मको साथी ।

जसले हाम्रो जिन्दगीको पटकथा लेख्यो उसैले तय गरिदिएको बाटोमा हिँडिरहेका छौँ । तर घमन्ड गर्छ, आफैँले त्यो बाटो निर्माण गरे झैँ गरेर । जिन्दगीका तामझाम र लुछाचुँडीमा उसले आफैँलाई बिर्सिए झैँ गर्छ । जब चितामा सुत्ने दिन नजिक आउँदै जान्छ, अनि पो लामो निन्द्राबाट जाग्छ, ऊ । अनि पो बुझ्छ, जातपात–धर्म यो सबै यही लोकले बनाएको नाटकको अंश मात्रै रहेछ अनि हामी त्यसको पात्र मात्र । दुख–सुख यी सबै यही लोकका सिर्जना हुन् । बाँकी सबै, मिथ्या मात्र । दृष्टि भ्रम मात्र ।

मेरा बाबा जहाँ हुर्के, त्यहाँ पत्रकारिता नै एक मात्र व्यवसाय थियो । मावलीमा हुर्केका मेरा बाबाको कान जब आवाज सुन्न सक्ने भयो, त्यही बेलादेखि उनको कानमा छापाखानाका मेसिनबाट निस्कने आवाज ठोक्किए । ठ्याक...ठ्याक...ठ्याक्क... !

मलाई पनि लाग्छ, कहिले काहीँ । कता बग्न चाहन्थे, जिन्दगीका भेलले फरक गन्तव्यतिर बगायो । बाटो फरक कोरेथेँ तर, गन्तव्य फरक भेटियो । तर, बिर्सन्छु कहिले काहीँ आखिर मेरो जिन्दगीको पटकथा पनि मैले आफैँ कहाँ लेखेको हो र ! आखिर जुन पात्रका रूपमा जिउनु थियो, बाँचिरहेकै छु । जब कथामा मेरो ‘रोल’ सकिन्छ, अनि म पनि हराउने छु । चितामा म जल्दा बनेका धुवाँका मुस्लोबाट केही क्षण बादल बनेर आकाशमा रमाउने छु, अनि हावाको एउटा वेगसँगै अलप हुनेछु । छ भने अर्को कुनै लोकमा, छैन भने शून्यतामा ।

जसरी मेरा आफ्नाहरू यो लोकबाट अलप भए ।

०००

पत्रकारिता कहिल्यै मेरो रुचिको विषय थिएन । तर, घरायसी माहौल भने पत्रकारिताभन्दा कहिल्यै पर गएन ।
म जन्मँदा मेरा बाबा नेपाल राष्ट्र बैङ्कका जागिरे थिए । तर, पनि उनीभित्र पत्रकारिता र साहित्यको अथाह चाहना भरिएको थियो । लैजान सकेनन्, दुवै पेसालाई एकसाथ अगाडि । जागिरको मोहमा छाडे, पत्रकारिता ।

मेरा बाबा जहाँ हुर्के, त्यहाँ पत्रकारिता नै एक मात्र व्यवसाय थियो । मावलीमा हुर्केका मेरा बाबाको कान जब आवाज सुन्न सक्ने भयो, त्यही बेलादेखि उनको कानमा छापाखानाका मेसिनबाट निस्कने आवाज ठोक्किए । ठ्याक...ठ्याक...ठ्याक्क... !

छापाखानै पाँडेका नामले चिनिन्थे, मेरा बुढा मावली । मोतीराम भट्ट र मेरा बाबाका माइला बाजे नरदेव पाण्डे सुरु गरेका थिए, नेपालमा पहिलो छापाखाना । नाताले मोतीराम मेरा जिजु बाजेका भान्जा पर्ने रहेछन् । गिद्धे प्रेस भनिन्थ्यो । मैले पनि देखेको थिएँ, त्यो प्रेसको दोस्रो संस्करण । पहिलो हातले चलाउनु पर्थ्यो रे दोस्रो भने खुट्टाले लुगा सिउने मेसिन चलाए झैँ चलाउनु पर्थ्यो । अनि दुई भाग एक आपसमा ठोक्किँदा छापिन्थ्यो, सादा कागजमा अक्षर । त्यो प्रेसको अगाडिको भागमा चिलको बुट्टा थियो । शायद त्यही कारण त्यसको नाम गिद्धे प्रेस राखिएको हुनसक्छ । दुवै प्रेस एउटै कम्पनीले बनाएको थियो भन्ने थाहा छ ।

नेपाल भित्रिएको पहिलो प्रेस कता गयो, आज त्यही प्रेसका मालिकहरूलाई पनि थाहा छैन । तर, यत्ति भने थाहा छ, त्यही प्रेसमा गोरखापत्रका सुरुवाती अङ्कहरू पनि छापिएका थिए रे । अहिले त्यसको अवशेष कहाँ छ, कसैलाई थाहा छैन । तर, मेरा मामा बाजे गोकर्णदेव पाण्डेले डिल्लीबजारमा छापाखाना चलाउँदा मैले त्यहाँ अवशेष बनिसकेको एउटा थोत्रो प्रेस देखेको थिएँ । तर, जाने बुझे अनुसार त्यो छापाखानै पाँडेले नेपाल भित्राएको दोस्रो प्रेस थियो ।

फसिकेवबाट सुरु भएको थियो, त्यो प्रेसको कथा । बालमुकुन्ददेव पाण्डेले पुतली सडकको टुकुचामाथि  घरमा पनि राखेका थिए, त्यही नाममा छापाखाना । पशुपति छापाखाना । तर, त्यस बेलासम्म बिजुलीले चल्ने प्रेस पनि थपिएका थिए । अति नै चल्थ्यो । शायद डिल्लीबजारमा आफ्नै घरबाट पनि चलाएका थिए, त्यही प्रेस । नेपाल भित्रिएको पहिलो प्रेसले कहिलेसम्म काम गर्‍यो, मैले बुझ्ने कोसिस कहिल्यै गरिन । शायद संग्राहलयमा समेत छैन कि ?

आधुनिकतासँगै त्यो इतिहास सबैलाई बोझिल बन्यो । अपसेट प्रेसहरूको स्थापनासँगै, त्यो गिद्धे प्रेसतिर कसैको मन गएन । हराएर गयो, कतै रद्दीमा । बचाउनु पर्ने इतिहासको दुर्भाग्यपूर्ण अन्त्य भयो । 

मैले देखेको प्रेस, नेपाल भित्रिएको दोस्रै भए पनि त्यसले रचेको इतिहास गर्विलो छ । समाज त्यही प्रेसबाट छापिन्थ्यो । मणिराज उपाध्याय र मेरा बुढामामा पशुपतिदेव पाण्डेले अलग हुने निर्णय गरेपछि नयाँ समाज छापिएको थियो, त्यो प्रेसमा । २०१७ सालको राजनीतिक परिवर्तनको स्वागत गर्दै छापिएको थियो, नयाँ समाज । ती दुवै पत्रिका नेपालको पत्रकारिताको गर्विलो इतिहास हो । त्यही प्रेसमा छापिएका थिए, साहित्य पत्रिकामा इतिहास रच्ने रूपरेखा पनि ।

त्यो माहौलमा हुर्किएका मेरा बाबालाई अनि कसरी छाड्थ्यो र’ पत्रकारिताको मोहले । फेरि उठबस पनि साहित्यकार र पत्रकारसँगै बढी हुने गर्थ्यो नै । फसिकेवको त्यही प्रेसमा हुन्थ्यो रे साहित्यकार र पत्रकारको बाक्लो जमघट । मेरा बाबाले भनेका थिए ।

राष्ट्र बैङ्क कै जागिरे भएका कारण मेरा बाबाले प्रत्यक्ष पत्रकारिता गर्न पाएनन् । तर, नयाँ समाज, रूपरेखा, बगीना जस्ता प्रकाशनमा अप्रत्यक्ष सहयोग गरेको बताइरहन्थे । मेरा फुपाजुको पुस्तक स्रष्टा र साहित्यको सम्पादनमा सहयोग पनि गरेका रहेछन् ।

प्यास लागेपछि यो लोकको जीवको एक मात्र चाहना प्यास मेटाउने नै हुन्छ । हो त्यसरी नै मेरा बाबाले पनि आफ्ना केही चाहना राष्ट्र बैङ्कको जागिरे हुँदा पनि पुरा गरे । बैंकर्स क्लबमार्फत आफ्नै पहलमा मिर्मिरे प्रकाशन गर्न थाले । निरन्तर सर्वाधिक अङ्क प्रकाशित भएको साहित्यिक पत्रिकाको सूचीमा अटाइसकेको त्यही मिर्मिरेको संस्थापक सम्पादक भएर उनले काम गरे ।

पत्रकारिताको प्यास मेटाउन आफूभन्दा उमेरले केही कान्छा तर साइनोले कान्छा मामासँग मिलेर २०२१ सालमा प्रतिध्वनि साप्ताहिकको सम्पादन पनि गरे । त्यो साप्ताहिकको पहिलो सम्पादक मेरा बाबा चिन्तनराज पाण्डे र मेरा मामा बाजे गोकर्णदेव पाण्डे थिए । प्रकाशक मेरा ठूलाबुबा विश्वनाथ पाठक थिए । उनीहरूले विशुद्ध मनोरञ्जनका सामग्री मात्र प्रकाशित गर्ने भनेर सुरु गरेको प्रतिध्वनि कालान्तरमा राजनीति केन्द्रित बन्यो । मेरा बाबा त्यो प्रकाशनबाट अलग भए ।

मेरा बाबाले आफ्ना नाममा एउटै पुस्तक निकालेनन् । तर, उनले अरूका नाममा केही पुस्तकहरू भने लेखे । एक पटक साहित्यकार शिव रेग्मीले एक चाङ फोटो कपि दिएका थिए, मलाई । मेरा बाबाले लेखेका कथाहरूको सङ्ग्रह रहेछ । निकाल्ने प्रयास पनि गरियो तर योजना अधुरै रहे ।

ती कथाहरूमा केही सम्पादन गरेर टाइप पनि गराइएको थियो । तर, पछि ती सँगालो हाम्रै घरको कुनै कुनामा साङ्लाहरूको खाना बन्यो तर, प्रकाशन गरिएन । आफ्नो पुस्तक छपाउनभन्दा अरूका पुस्तक पढ्न उनले समय खपाए । तर, केही ठुलाबडाका लागि ‘घोस्ट राइटिङ! गरिदिए, आफ्नै लागि समय निकाल्न सकेनन् ।

आखिर मेरो शरीरमा बगेका रगत मेरै बाबाका त हुन् नि । अनि कसरी फरक हुन सक्लान् उनको र मेरो चाहना । अनि उनी जागिर खाएर पत्रकार बन्न सकेनन्, म जागिर नखाने निर्णय गरेर पत्रकार बनेँ । २०५६-०५७ साल ताका बाबु–छोरा मिलेर बन्द रहेको नयाँ समाजलाई फेरी प्रकाशन गर्ने प्रयास गरेका थियौँ । तर, अठोट अनुसार अगाडि बढ्न सकिएन । आफूलाई त्यो बेला पत्रकारितामा काँचै रहेको ठाने, प्रकाशन बन्द गरेँ ।

त्यस अगावै मेरा मामा बाजे गोकर्णदेव पाण्डेले नयाँ समाजलाई साप्ताहिकरुपमा प्रकाशन गर्ने असफल प्रयास गर्दा मभित्र पत्रकारिताको नशा भरिदिसकेका थिए । मैले पत्रकारिता गर्न सक्छु भन्ने पहिलो हौसला मेरै बाबाले दिए । त्यसपछि मेरा बुढामामा बालमुकुन्ददेव पाण्डे र गोकर्णदेव पाण्डेले ।

०००

मैले पत्रकारितामा आदर्श मान्ने बालमुकुन्ददेव पाण्डेको सम्पादनमा समेत काम गर्ने मौका पाए । मेरा जीवनका केही सीमित उपलब्धिमा ती केही महिना पनि सामेल छन् ।

राजधानी दैनिक सुरु हुँदा म पनि त्यसको सदस्य थिएँ । त्यहाँ काम गर्दा जति रमाइला दिन बिते त्यसमा केही आँसु पनि मिसिएका छन् । बुढामामा भन्दा पनि एउटा मन पर्ने सम्पादकको मृत्युको खबर यही हातले लेखियो पनि । 

प्रकाशनको केही महिनाभित्रै संस्थापक सम्पादक पुरुषोत्तम दाहाललाई पदबाट हटाइयो वा आफैँ हटे मलाई थाहा हुने कुरो थिएन । निकै नरमाइलो लागेको थियो, त्यो दिन । धेरै मित्रहरू ‘पुरुदाइ’सँगै बिदा भएर गएका थिए । तर, पत्रिकालाई डोर्‍याउने कोही चाहिएकै थियो । 

उनी परलोक जान्छन् भन्ने थाहा भएको भए त एक पटक अङ्कमाल गरेर बिदा गर्थे नि । घरदेखि आर्यघाटको चितासम्मै सँगसँगै जान्थे नि । उनले मसँग ‘अब जान्छु है !’ भनेको त परलोक नै जान्छु भने झैँ लाग्यो । तर मृत्यु कसले देखेको छ ? कसले मृत्युको आहट सुनेको छ र ? मैले थाहा पाउने ।

कार्यकारी सम्पादक जिवेन्द्र सिम्खडाले मेरा मामा बाजे बालमुकुन्ददेव पाण्डेलाई सम्पादक बनाएर ल्याऔँ पहल गर न भने । मैले हुन्छ नि भनेर कुरो पनि चलाएँ । म उनको घर पुग्दा उनी र पद्म ठकुराठी मात्रै दुई जना तास खेलेर समय कटाइरहेका रहेछन् । नेपाली पत्रकारिता व्यावसायिक बन्दै गइरहेको थियो अनि बुढापाका पत्रकारलाई कसले पो भाउ दिन्थ्यो र’ ! 

मैले कुरा अघि बढाएँ, बुढा सकारात्मक बनेपछि अध्यक्ष महेन्द्र शेरचनलाई भेटाएँ पनि, त्यही दिन । त्यो भेटमा मामा बाजे, अध्यक्ष शेरचन, जिवेन्द्र दाइ र म मात्र थियौँ । बुढाको एउटै माग थियो, ‘व्यावसायिकताका लागि जायज कुरा सबै मान्छु तर, हात काट्नोस् राजतन्त्रविरुद्ध एक शब्द पनि लेख्दिन’ शेरचन पनि त्यस बेला त्यही लाइनमा थिए, कुरा तत्कालै मिल्यो । 

एक साँझ काम गर्दै थिएँ, आफ्नै टेबलमा । बालमुकुन्द मामा मेरो नजिक आए । ‘म जान्छु है,’ भने । मैले हुन्छमा टाउको हल्लाएँ । त्यो बेला हरेकको हातमा मोबाइल हुँदैनथ्यो । ठुलाबडाले शानका लागि बोक्ने डिभाइस भने बनिसकेको थियो । राति काम सकाएर म, कार्यकारी सम्पादक जिवेन्द्र दाइ एकै समय तिर घर हिँड्यौँ । उनीहरू गाडीमा, म मोटरसाइकलमा । चाबहिलमा घर अनि गोपीकृष्ण हलपछाडि कार्यालय भएकोले पुग्न पनि त्यति समय लागेन । 

घर पुगे लगत्तै बाबाले ‘बालमुकुन्द मामा त स्वर्गे हुनुभएछ नि !’ भनेर सुनाए । म झसङ्गै भएँ । अघि केही घण्टाअगाडि मसँग भेटेर घर जान्छु भनेका मानिस संसारबाटै बिदा भएको खबर मैले चाहेर पनि पत्याउन सकिन । केही बेर बोल्नै सकिन । उनी परलोक जान्छन् भन्ने थाहा भएको भए त एक पटक अङ्कमाल गरेर बिदा गर्थे नि । घरदेखि आर्यघाटको चितासम्मै सँगसँगै जान्थे नि । उनले मसँग ‘अब जान्छु है !’ भनेको त परलोक नै जान्छु भने झैँ लाग्यो । तर मृत्यु कसले देखेको छ ? कसले मृत्युको आहट सुनेको छ र ? मैले थाहा पाउने ।

जे भए पनि जिवेन्द्र दाइलाई खबर गर्नु मेरो जिम्मेवारी थियो । उनको घरमा फोन गरेँ, पुगेका रहेनछन् अनि इमरजेन्सी छ, आउने बित्तिकै फोन गराउन भनेँ । घर पुगेर फोन फर्काए । खबर सुनेर उनी पनि ट्वाँ नै परे । अनि कार्यालय नजिकै बस्ने कम्प्युटर डिजाइनर किशोरलाई लिएर सम्पादकको मृत्युको खबर लेख्न पठाए, मलाई । छाप्न सुरु भइसकेको प्रेस रोकाइयो । बालमुकुन्द मामाका बारेमा जे थाहा थियो लेखियो । अनि पहिलो पृष्ठमा छापिएको कुनै समाचारलाई हटाएर छापियो उनको मृत्युको खबर । 

भोलिपल्ट जसले पढे, सबै अचम्म नै परे । समाचार बनाएर आर्यघाट जाँदा उनको लास जलिरहेको रहेछ । मैले पनि शव हेर्न पाइनँ । बस उनलाई जलिरहकै चितामै भनियो, अलबिदा ! 

बालमुकुन्द मामाको मृत्युको खबर त छापियो । तर, त्यही पत्रिकाको अन्तिम पृष्ठमा सम्पादकका रूपमा उनको नाम पनि छापियो । त्यो नाम मैले नै हटाउन बिर्सिएको कारण छापिएको थियो । तर, सबैले त्यो कुरालाई सकारात्मक रूपमा लिए । सबैको एउटै स्वर थियो, ‘आफैँ सम्पादक रहेको पत्रिकामा आफ्नै मृत्युको खबर । यस्तो श्रमजीवी हुन पाए पो !’  

यसरी एउटा इतिहासको अन्त्य इतिहास रचेरै भयो ।

साढे दुई दशकदेखि पत्रकारितामा सक्रिय पाण्डे फ्ल्यास संचार प्रालिका अध्यक्ष हुन् ।

कस्तो लाग्यो ?

यो पनि