किन हो किन आफ्नै जस्तो लाग्न छाडेको छ, हिजोआज यो सहर ।
केही महिनाअघि भन्दा केही शान्त छ । तर, कोलाहल घटेको पनि छैन त । झन् बढ्दो छ, अत्यास । हिजोसम्म मानिसको मनमा मृत्युको भय थियो । आज भोको पेटले झनै सताएको छ । लाग्छ, मर्ने भयलाई भोकको चिन्ताले केही हदसम्म मारेको छ । ऋणका बोझले पिरोलेको छ । त्यसैले होला, म त हरेक मानिसका मुहारमा अनजान त्रास पनि देखिरहेको छु । हाम्रै चरम लापरबाहीका कारण कहिले कसलाई कालले आफ्नो वशमा पार्ने हो, कसैलाई थाहा छैन ।
मैले यसरी यो सहर, यो मुलुक दोधारमा फसेको कमै देखेको थिएँ । भोलिका दिन झन् कस्ता हुने हुन्, कल्पना गर्दा पनि आङ सिरिङ्ग हुन्छ ।
हुनत, कहिले बने झैँ लाग्ने कहिले भत्किए झैँ लाग्ने धरहरा, रानी पोखरी र उपत्यका अन्य ऐतिहासिक महत्त्वका स्थानहरू पनि जिर्णाेद्वारको पर्खाइमा टोलाइ रहेको पनि कहाँ पो देखेको थिएँ र ! सानका साथ ठाडो बनेर उभिएका थिए, हिजोका सुन्दर बस्ती अनि आजका खण्डहरहरू ।
अनि पुरै खण्डहर बनेको यो सहर पनि देखियो । त्यही मन लोभ्याउने प्राचीन बस्ती भूकम्पका धक्काले ढलेका पनि देखिए । अहिले पनि भोगिँदै छ, त्यही कम्पनका त्रास । अहिले त झन् खण्डहरमाथि मुख आँ’ गरेर बसेको छ, कोरोनारूपी पिचास । अनि आकाशमा उड्दै भोलि हाम्रा पेटलाई फेरी भोको बनाउने प्रपञ्च गर्दै छन्, अफ्रिकादेखि आएका सलहका बथान ।
कसको लापरबाही अनि कसको लाचारीले होला कुन्नि, कोरोना भाइरस र त्यसपछि सलहको आगमनको चीत्कार सुनेर नै जुरमुराउनु पर्ने सरकार झनै लोथ भएर पछारिए जस्तो देखिएको छ । थकित, लाचार । आफ्नै सत्ताको बचाउमा । जनता मृत्युसँग काँपेर र थाकेर कोठामा थुनिनु सट्टा मरे पनि पेटभरि खाएरै मर्ने मनस्थितिमा पुगिसकेका छन् । लाग्न थालेको छ, कहिले काहीँ मानिसले प्रकृतिको कहरलाई पनि चुनौती दिने साहस गर्नु पर्दो रहेछ ।
दिक्क लाग्छ, यस्तो मुलुकको बासिन्दा बन्नु पर्दा । तर, कहाँ यस्तो विषालु थियो र’ यो सहर । कहाँ यस्तो जीर्ण र सङ्कीर्ण मानसिकताका धनीले राज गर्ने मुलुक थियो र’ यो । हामीले त भव्य र शालीन काठमाडौँ पनि देखेकै थियौँ । कोलाहल मुक्त । राजधानी मात्र के ? सारा मुलुक नै सभ्य र भव्य थियो । भ्रष्ट्राचार, हत्या, बलात्कार जस्ता समाचारले सारा मुलुकको मस्तिष्क नै गिजल्थ्यो । मनहरू स्तब्ध बन्थे । वास्तव मै शान्त थियो, मुलुक । अनि शान्ति प्रिय थिए, यहाँको जनता । खै कुन्नि कसको आँखा लाग्यो, यो मुलुक उठ्नुको सट्टा झनै शिथिल र थकित बन्दै गएको छ । कुनै दीर्घ रोगी झैँ ।
जनताका लागि कसैले राम्रो सोच्छ भन्ने उसको वर्ग जे भए पनि केही फरक पर्दैन । नेपाललाई शान्ति क्षेत्र राष्ट्र घोषित गरियोस् भन्ने तत्कालीन व्यवस्थाको प्रस्ताव गलत थियो त ? निरङ्कुश तानाशाही राणा शासकले बनाएको सिंह दरबारमा बसेर देश चलाउनेले यो कहिल्यै सोचेनन् । शायद सोच्ने फुर्सद पनि छैन होला ।
व्यक्ति खराब हुन सक्लान् वा व्यवस्था निरङ्कुश हुन सक्ला तर, मुलुक कहिल्यै शिथिल नहुनु पर्ने हो । तत्कालीन पञ्चायती व्यवस्थाका अन्तिम राजा वीरेन्द्रले राज्यारोहणको २५ औँ वर्ष मनाउँदा नेपाललाई सन् २००० सम्म एसियाली मापदण्डमा पुर्याउने अठोट सार्वजनिक गरेका थिए । हरेक नागरिकलाई गाँस, बास र कपासको सुनिश्चितता गर्ने वाचा गरेका थिए । सन् २००० आउनुभन्दा एक दशकभन्दा केही अघि नै पञ्चायत ढल्यो । पञ्चायतसँगै नेपालीको जीवनस्तर उकास्ने वाचा गरेका राजाको शक्ति पनि ढल्यो ।
आफूले गलत मानेको व्यवस्थाले अपनाएको राम्रो नीतिलाई साथ लिएर हिँड्नु हुँदैन भन्ने मानसिकता त्यो व्यवस्था ढालेका नेताको सरकारले बोक्नु स्वाभाविकै हो । त्यसमाथि नामै लिँदा पाप लाग्ला जस्तो गर्नुपर्ने व्यवस्थाले लिएका नीतिलाई बोकेर हिँड्नु त झन् कसरी पाच्य हुँदो हो । सन् २००० को पछाडि २० वटा वर्ष थपिसकियो तर, जनताको मुहार हँसिलो बन्न कहिल्यै सकेन । व्यवस्था खराब भए पनि त्यसले अपनाएका जनताको जीवनस्तर उकास्ने नीतिलाई अगाडि बढाइएको भए सम्भवतः आजको नेपाल फरक नेपाल बन्न सक्थ्यो कि ?
सूर्यलाई चन्द्र र चन्द्र र सूर्य भन्न कहिल्यै सकिँदैन । त्यसैले राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न पनि कहिल्यै छाड्नु हुँदैन । जनताका लागि कसैले राम्रो सोच्छ भन्ने उसको वर्ग जे भए पनि केही फरक पर्दैन । नेपाललाई शान्ति क्षेत्र राष्ट्र घोषित गरियोस् भन्ने तत्कालीन व्यवस्थाको प्रस्ताव गलत थियो त ? निरङ्कुश तानाशाही राणा शासकले बनाएको सिंह दरबारमा बसेर देश चलाउनेले यो कहिल्यै सोचेनन् । शायद सोच्ने फुर्सद पनि छैन होला ।
०००
म रैथाने काँठे । चाबहिलमा जन्मिएको । म मात्र होइन, मेरा ममी–बाबा पनि न्यु रोड–रत्नपार्कलाई सहर नै भन्थे । सानो थियो, काठमाडौँ तर यहाँका मानिसको मन विशाल । अनि अति सुन्दर पनि । न ढोँग नतै कुनै आडम्बरमा सजिएको थियो, यो सहर । नव धनाढ्यको वृद्धिसँगै खेतका फाँटहरू मासेर बनाइएका घरहरूले सिँगारिए झैँ आडम्बर बोकेर उभिएको छ, यो सहर । धान फल्ने गराहरूमा धान फलेकै राम्रो हुँदो रहेछ । अहिले त कुरूपताको बयान गर्दै छ, यो उपत्यका । नयाँ–नयाँ शैलीमा निर्माण भएका अवस्थित सहरीकरणमा ठाँटिएर । कुरूपताको कुरूप कथा यो सहरमा कुनै बेला धान फल्ने खेतहरूले बताइरहेका नै छन् । ।
मैले देखेको काठमाडौँ कदापि यस्तो थिएन । घरहरू कम थिए । पुराना शैलीका थिए । जोडिएर बनेका घरहरू असन, भक्तपुर, पाटन लगायतका प्राचीन बस्ती बाहेक अरू कतै देखिँदैन थिए । ‘हाइजेनिक’ थियो, जिन्दगी । स्वस्थ्यता र तन्दुरुस्तीले भरिएको । भक्तपुरदेखि किसान आउँथे, ‘सेप्टी टङ्की’ का फोहर उठाउन । त्यही हुन्थ्यो, तरकारीका लागि विषादीरहित मल । विष नमिसाइएका ती तरकारीहरू पाकेर थालसम्म आउँदा नै मिठा वासना छर्थे । असाध्यै मिठा हुन्थे, ती तरकारीहरू । घिन लाग्दैन थियो, खान पनि । लाग्छ, अनेकौँ रोगव्याधि निम्त्याउने विषादीभन्दा त हाम्रै शरीरबाट निस्किएका मलले पो औसत आयु बढाउने रहेछ । तर, हामी ‘इन्स्ट्यान्ट’ भएका छौँ । खाने चाउचाउदेखि लाउने लुगासम्म ‘इन्स्ट्यान्ट’ चाहिने ।
त्यो बेला कहाँ भेटिन्थ्यो र, एक हात लामा तिते करेला अनि एक बित्ता लामा बरेला । अनि कहाँ पाइन्थ्यो र काँध मै बोक्नु पर्ने जस्ता लौका । अहिले त विषालु बनेका छन् रे, हरिया सागसब्जी । अहिलेका मानिस झैँ । शायद त्यस्ता विषादी मिसिएका भोजनले हाम्रो मनलाई पनि कालो बनाउँदै छ कि ?
अहिले पनि मानिस जातपातका कुरा गर्छन् । छुवाछुतका कुरा गर्छन् । छाउपडीका कुरा गर्छन् । कुरा मात्र होइन व्यवहारबाट पनि हटाउन सकेका छैनन् यस्ता कुसंस्कार । तर, केही सीमित वर्ग बाहेक सबैको ढोका खुला हुन्थे, हामी हुर्केको काठमाडौँमा त्यति बेला । मोफसल त अहिले पनि कहाँ सुध्रिएको छ र ? प्रेमका नाममा, पानी छोएको नाममा अहिले पनि मारिन्छन्, दलितहरू । बन्द छन्, इनार–कुवा अहिले पनि दलितका लागि । अहिले पनि जलाइन्छन् नारी, दाइजोको लोभमा । अनि अहिले पनि मुखमा कोचाइन्छ ‘आची’ बोक्सीको आरोपमा । प्रताडित बन्छन् महिला, अन्धविश्वासको नाममा । वर्ग सङ्घर्ष त नाममा मात्र सीमित भएका रहेछन् । एनजिओ, आइएनजिओको मागी खाने भाँडा पो रहेछ । अनि कहाँ सुध्रिएको छ भन्ने, यो देशलाई ।
म हुर्किएको काठमाडौँ प्रदूषित थिएन । तर, समयको मारमा परेको यो सहर हिजो जस्तो छँदै छैन । साझा यातायातले सञ्चालन गरेका हरिया रङका सार्वजनिक बसमा चढेर चाबहिलबाट सहर (रत्नपार्क) जान्थ्यौँ, हामी । विद्युतीय ‘ट्रली बस’ चढेर सूर्य विनायक पिकनिक जान्थ्यौँ, हामी । अहिलेका पुस्ताले न हरिया रङका साझा बस देखे, नतै ट्रली बसमा चढ्ने सौभाग्य नै पाए ।
अहिले यो सहर झैँ यहाँको बासिन्दाको मन पनि खुम्चिएको छ । त्यही सूर्य विनायक वरिपरि हिजोका दिनमा हामीले पिकनिक मनाएका खाली जग्गाहरूमा घर उम्रिसकेका रहेछन् । हिजोका दिनमा हामीले आलीमा टेक्दै लह लहराउँदा धानका हरिया बाला सहलाउँदै फरक आनन्द अनुभूति गर्ने । साथीभाइ मिलेर चुरोटका सर्का तान्ने खेतहरू आज सहर बनिसकेका रहेछन् । अनि हेर्दा हेर्दै हामीलाई हिलाम्मे बनाउने खेतका गराहरू त अहिले मोटर गुड्ने सडकमा रूपान्तरित भइसकेका रहेछन् । दसैँका बेला चङ्गा लुट्न जाने त्यही कपन पनि आज कङ्क्रिटको जालो बनिसकेको छ । काठमाडौँका अरू धान फल्ने खेतहरू झैँ ।
त्यही कपनका खेतहरूमा सेनाले प्यारा जम्पर उतार्थ्यो । सेनाका विमानका पुछारबाट फुत्त–फुत्त पहेँला रङका डल्लाहरू झरेको देख्दा मन नै रमाइलो हुन्थ्यो । घरबाट दौडिएर हेर्न जाँदा ती डल्लाहरू मानिस बनिसकेका हुन्थे । लाग्थ्यो कुनै दिन म पनि यसरी नै हाम फाल्नेछु । तर, हिजोआज काठमाडौँका बच्चाहरूले टिभी सेटमा मात्र त्यस्तो दृश्य हेर्छ पाउँछन् ।
लाग्छ, प्रकृतिको विनाशसँगै समय पनि बेइमान बन्दै छ । अनि बेला मौकामा आफ्नो रूप देखाइहाल्छ, कहिले भूक्षयका नाममा त कहिले बाढी पहिरोका नाममा । खोलाको बाढीले हामीलाई कहिल्यै दुख दिँदैन, हामीले उसको मार्गलाई अवरुद्ध पार्यौँ, अनि पो उ हामीसँग रिसाउँछ । अनि पो बेला न कुबेला तहल्का मच्चाइदिन्छ । कसैको बन्देज बिना खुला विचरण गर्ने खोलाका किनारालाई चार आना, आठ आनामा काटेर प्लटिङ गर्यौँ, घर बनायौँ ।
त्यो काममा अनेकौँ षडयन्त्रका ताना बाना जेलिएका होलान् । तर, प्रकृतिलाई आफ्नो विनाश मन्जुर हुँदै रहेछ । त्यसैले केही दिन अगाडिको वर्षाले कपनका सडकलाई खोला झैँ बनाइदिएछ । केही वर्षअघि अनामनगर, तीनकुने तिर पनि खोला घर–घरमा पसेकै थियो । मानिसले प्रकृतिलाई जित्न नसक्ने यथेष्ट नजिर छन् । अनि किन सराप्नु हामीले ती खोला–नदीलाई, जसको भूमि मिचेर हामीले महल खडा गरेका छौँ, आफ्नो महल ।
कोरोनाका कहरका कारण हिजोआज काठमाडौँका सहरमा सार्वजनिक यातायात चल्दैनन् । निजी सवारी पनि जोर–बिजोरका आधारमा चल्छन् । तर, पनि सडकमा जाम कम छैन । हामी चाबहिलको मुख्य सडकमा फुटबल खेल्थ्यौँ । लामै समयको अन्तरालमा चल्ने गाडिलाई केही बेर बाटो छाडिदिन्थ्यौ, अनि फेरी खेल्न थाल्थ्यौ । तर, अहिलेका पुस्ताका लागि खेल्ने चउर समेत छाडिएको छैन ।
झन्, अस्तव्यस्त र कुरूप बनाइँदै छ, यो उपत्यकालाई । व्यापारको नाममा ३–४ आनामा खुम्चाइन थालिएको छ, यो सहरलाई । काठमाडौँ मात्र त के, मुलुकको हरेक सहरको पीडा अहिले यही छ । हिजो हामीले धान फलेको देखेको खेतहरू अहिले नोट फलाउँदै छन् । अझै ठुलो विनाश निम्त्याउँदै छन् । यस्तै लाग्छ ।
मेरा बाबा विदेश गएर आउँदा खिचेका तस्बिर हेरिन्थ्यो । अनि सोचिन्थ्यो, कहिले बन्ला मेरो सहर पनि यस्तै भन्ने । जब विदेश पनि देखियो, तब थाहा भयो । ठुला घर र चौडा सडकले मात्र सहर बन्दैन रहेछ । सहर बन्नका लागि दीर्घकालीन योजना र काम गर्ने आत्मविश्वासी मनहरू पनि चाहिँदो रहेछ । अनि नोटका बिटा देखेर नचिलाउने हातहरू पनि । विकासको नाममा विनाश भित्राउने सहर त हाम्रै मात्र रहेछ । योजना बिना त हामी मात्र सहर बनाउँदा रहेछौँ । लाग्छ, बरु हिजो जस्तो थियो, त्यस्तै छाडिदिएको भए हुन्थ्यो, यो सहर । ‘भर्जिन’ नै ।
कुनै समय थियो, यो उपत्यकामा जति भगवान भेटिन्थे, लगभग त्यति नै ढुंगेधारा पनि । आज कति भगवान विलुप्त भइसके भने अधिकांश ढुंगेधारा बटुवा तिर्खाएको देख्दा आफ्नो लाचारीमा आँसु पनि बगाउन नसक्ने अवस्थामा पुगेका छन् । हामीले देखेका कति धारा र पोखरीमा त अहिले घर पो उम्रिसकेका रहेछन् । त्यस्तो ठाउँमा समेत घर ठड्याउने सक्ने कति बहादुर रहेछौँ हामी । अनि त्यस्तो जग्गामा समेत घर बनाउन स्वीकृति दिने कति बेइमान रहेछौ, हामी ।
त्यसैले आजकाल म आफ्नै सहरका गल्लीहरूमा हराउन थालेको पनि छु । आफू जन्मिएको सहरमा हिँड्दा पनि गुगल म्यापको सहारा लिनुपर्ने बाध्यतामा छु । २०२२ सालको नापी नक्सा र अहिलेको नक्साको तुलना गर्ने हो भने नै हजारौँ रोपनी सार्वजनिक जग्गा निजी बनिसकेका छन् । त्यसैले होला, आज म आफ्नै सहरमा हराउँछु ।
पहिले बागमतीमा पनि पौडी खेल्न सकिन्थ्यो । आजकाल त आकाशबाट बर्सिने पानी पनि हिलो बोकेर आउँदो रहेछ । विनाशका अनेकौँ जुक्ति लगाएर हामीले खोला मात्र होइन, आकाशलाई पनि प्रदूषित पारि सकेका रहेछौँ । हामी आफैले चिहान बनाइरहेका छौँ, आफ्नै बस्तीलाई ।
वास्तवमा यो मुलुक सिंहदरबार झैँ ‘रेट्रो’ को सहारामा उभिएको छ कि जस्तो लाग्न थालेको छ । सिंहदरबारको कुर्सी छिमेकीले आँखा तर्दा हल्लिँदो रहेछ । जेनतेन मुलुक धानेको खम्बा भोलि कसले आँखा तर्दा ढल्ने हो कुन्नि ? अनि हामीले कस्तो विनाश भोग्नुपर्ने हो कुन्नि ? कल्पना गर्दा पनि आङ जिरिङ्ग हुन्छ ।
हामीले कतै छाडेका छैनौ, यो बस्तीलाई कुरूप बनाउन । एकाध महिना मात्र गर्मीको महसुस हुन्थ्यो । सुत्न त सिरक नै चाहिन्थ्यो । अब काठमाडौँमा अचाक्ली गर्मी हुन थालेको छ तर, सिरक ओढ्ने बानी हटाउन सकिएको छैन । बरु, पङ्खा चलाइन्छ तर सिरक ओढेरै सुतिन्छ । अनियन्त्रित सहरीकरणको कुरूप पाटो कै देन हो, यो अचाक्ली गर्मी ।
‘कृषि प्रधान मुलुक’ भनेर हामीले किताबमा पढ्यौ । अझै पनि यो राग पट्याउन छाडेका छैनौँ । तर, गाउँ–बस्तीका जमिन बाँझा छन् । हिजोसम्म निर्यात गर्ने धान आज आयात गर्न थालेका छौँ । गाईबस्तु पाल्ने रहर भए पनि पालिँदैनन् रहेछन्, आजकाल गाउँघरमा । गर्न सक्ने जति सबै लाहुर भासिएका छन्, गाउँघर त बुढापाकाले कुरेर बसेका हुन्छन् । अनि कसरी रोपिन्थ्यो र’ धान ? अनि कसरी पाल्ने गाईबस्तु ? रेमिट्यान्सका नाममा आफ्नै मुलुकमा धमिरा लागेको हामीले बुझ्न सकेका छैनौ कि जस्तो पनि लाग्छ ।
किशोरावस्थामा नै आँबुखैरेनीदेखि मनकामना पैदल जाँदा बाटोमा पानी माग्दा मोइ पिउन पाइएको थियो । तर, आजकाल गाउँतिर बरालिँदा दूध खान पाइँदैन । दही खान पाइँदैन । गोठालाहरू उँट चराउने दर्जामा उक्लिएकाले पनि यस्तो भएको होला ? विकासका नाममा ठडिएका सपिङ मलहरूले बेच्ने थालेका छन्, बरु आयातित महँगा दूधका बट्टाहरू ।
वास्तवमा यो मुलुक सिंहदरबार झैँ ‘रेट्रो’ को सहारामा उभिएको छ कि जस्तो लाग्न थालेको छ । सिंहदरबारको कुर्सी छिमेकीले आँखा तर्दा हल्लिँदो रहेछ । जेनतेन मुलुक धानेको खम्बा भोलि कसले आँखा तर्दा ढल्ने हो कुन्नि ? अनि हामीले कस्तो विनाश भोग्नुपर्ने हो कुन्नि ? कल्पना गर्दा पनि आङ जिरिङ्ग हुन्छ । दिक्क लाग्छ, हाम्रो राष्ट्रियता कुनै पार्टी वा व्यक्ति विशेषको फुट्टाइँ छाड्ने भाँडो मात्र बनिसकेको देख्दा । मुलुकको स्टेरिङ समातेर बसेको सिंहदरबार झैँ जीर्ण बनिसकेको रहेछ, हाम्रो स्वाभिमान पनि । त्यो त लिम्पियाधुरा, लिपुलेक, कालापानी पनि चिच्याइ–चिच्याइ भनिरहेकै छ ।