लेख्न बसिएको छ, गाईजात्रा कै दिन । प्रकाशित गरियो भोलिपल्ट । के नै भो र ! मुलुक नै गाईजात्रे नै बनेको छ । यस्तो बेला अरू खुराक फुराउनु पनि पनि कसोरी ?
आज मलाई हाम्रा प्रधानमन्त्री केपी शर्मा ओलीको सोचसँग जिउने रहर जागेको छ । त्यही सोचलाई लिपिबद्ध गर्ने आँट पलाएको छ । बालुवाटारको सिंहासनमा बसेर सारा मुलुक हाँक्न पाउनु कम गर्वको कुरो होइन । त्यसमाथि कुनै जमानामा हवाई चप्पल पड्काउँदै हिँड्ने ख्याउटे कुमाईं बाहुन अहिले मोटाएर अर्ना जस्ता भएका छन् । सबैलाई सिङले हिर्काएर सिध्याउँछु भन्ने हावादारी सोच पालेर बसेका छन् । हुनत म पनि कुमाईं बाहुन नै हुँ । अर्ना जस्तै पनि छु । तर, अहिलेसम्म कसैलाई सिङले हिर्काउने आँट गरेको छैन । शायद हाम्रा प्रधानमन्त्री र म जन्मिएको भूगोलले पनि केही फरक पारेको होला ।
अनि त्यस्तो मान्छेले बिहानै उठ्ने बित्तिकै के सोच्दा हुन् कुन्नि ? हिजोआज । मलाई लाग्छ, यस्तो सोच्छन् ।
०००
आज त सबेरै पो उठिएछ ।
हुनत आजकाल सुत्न पनि कहाँ दिएका छन् र ! मोराहरूले । कहिले आफ्नै कोटरीकाले त कहिले प्रचण्ड कोटरीकाले ।
मिर्गौला फेर्ने बेला चिर्न काटेको घाउ अहिले पनि कहिले काहीँ चर्चराउँछ । नचराउँदा प्रचण्ड कमरेडले आएर नुन चुक दल्दिने गरेकै छन् क्यार । एक दिन माधव कमरेडलाई पनि ल्याए, आजकाल भने झलनाथ कमरेड आउँछन् ।
प्रचण्डले दल्दा झलनाथ नुन थपिदिन्छन् । झलनाथले दल्दा प्रचण्ड चुक थपिदिन्छन् । त्यै, सुवास कमरेड बाठा छन् । मेरो घाउमा चिसो बरफ ल्याएर दल्दिरहेका छन् । अहिले दुखेको घाउ निको पार्ने अनेकौँ उपाय सुझाइ रहेका छन् । अनि पो सुत्न सकेको छु । ननिदाए पनि, निदाए जस्तो गरेर ।
कहिले एपेन्डिक्स् र कहिले मिर्गौलाका कारण पेट चिरियो । ऐनामा हेर्दा मेरो भुँडी हो कि उहिले मैले लगाउने कमिज हो, झुक्किन्छु पनि, कहिले काहीँ त । ठाउँ ठाउँमा टालिएको थियो । शायद माधव कमरेडले टालिदिनु हुन्थ्यो जस्तो लाग्छ । ऊ जमानामा कमिज समेत टालिदिने कमरेड आजकाल त शरीरमा किला पो रोप्न थालेका छन् । चित्त त मेरो पनि छ, दुखी हाल्छ नि ।
पेटमा जताततै सिलाइएका डाम हेर्दा मैले पनि मुलुक भ्वाङलाई टाल्ने सिवाय के गरेको छु जस्तो लाग्छ । ठेक्का त नयाँ बनाउने दिने गरेको छु, बिचरा ठेकेदारहरू पनि पनि गाह्रो छ नि । सबैतिर कमिसन बुझाउनै परेको छ । लाग्छ, समाजको एउटा तप्कालाई त अचाक्ली धनी बनाएकै छु नि । गरिबले त गरिबीसँग बाँच्न सिकेकै छन् नि ।
भुस्याहा भएर जन्मिएपछि कहाँ सोफामा बस्नेको ठाँट देखेर लोभ गर्न पाइन्छ त ।
सक्दैनन् हो सक्दैनन् । मैले स्थायी कमिटी र केन्द्रीय समितिको बैठक राखे पो । बामदेव कमरेड फेरि मतिर ढल्किसके क्यार । अब त सचिवालय बैठकको रटान लगाउने हो । बरु, युवराजलाई बलिको बोका बनाउनु परे पनि बामदेव कमरेडलाई राष्ट्रिय सभामा लैजाने हो । उपप्रधानमन्त्री बनाउने हो । अढाइ वर्ष ढुक्कसँग खाने हो ।
देश बनाउन अलिकति फुर्सद त निकाल्नै पर्ने थियो । तर, खै मोराहरू बैठक राखूँ भनेर किचलो गर्दा गर्दै देश बनाउनु पर्छ भन्ने त भुसुक्कै बिर्सिसके छु । तरपनि, बालकोटमा आफ्नो नामको सङ्ग्रहालय बनाइ रहेका छन् । त्यता पनि ध्यान दिनै पर्यो । देश नै त हो बनाउँदै गरुँला । अब अढाइ वर्ष छाडिन्न क्यारे । पहिले सङ्ग्रहालय बनाएर बाहिर आफ्नो सालिक बनाएपछि त देश बनाइहाल्छु नि । जिउँदै हुँदा आफ्नो सालिक हेर्ने ठुलो रहर पनि जागेको छ । आफैँ अनावरण गर्ने सोच छ । यो देशमा मभन्दा ठुला अर्को कोही हुनु पनि पर्यो नि ।
०००
दोस्रो पटक मिर्गौला फेरेपछि त औषधी धेरै खानु पर्छ । खै के के जातका छन् । बेसार मात्र खाएर नहुने रहेछ । कस्ता औषधी भने कहिले ग्यास्ट्रिकले त कहिले दिमाग नै सुन्न बनाएर साह्रै समस्या दिन्छ । फुस्स...फुस्स निस्किरहन्छ, हावा क्या ! अनि दिमाग रन्किहाल्छ नि । पछाडिबाट निकाल्न नमिल्ने ठाउँमा छु भने दिमाग झन् तात्छ । अनि यस्तो स्टन्ट दिन्छु कि फुस्स छाड्दा पनि कसैले थाहा पाउँदैनन् । सबै ताली बजाउन व्यस्त हुन्छन् नि ।
नत्र त पत्रकार नै हुन्, प्रधानमन्त्रीले मञ्च मै छाडे भनेर लेखिदिन के बेर । युट्युबेले त झन् आवाजसहित हालिदिन्छन्, ठ्वाँ... गरेको । मेरो समस्या नबुझेकाहरुले भने ओलीले अन्टसन्ट बोले भनेर प्रचार गर्दा रहेछन् । अनि पुग्दैन त प्रचण्डलाई खुराक ।
हुनत उठ्ने बित्तिकै बिरामीले प्रयोग गर्ने कमोड ल्याइदिन्छन्, कोठैमा । एक दुई पटक गर्दैमा कहाँ सबै ग्यास जान्छ र भन्या ! पहिले राधिकाले नै ल्याउँथिन्, कमोड । आजकाल सुसारेहरूले ल्याउँछन् । आची पनि पुछिदिन्छन् । नरम ट्वाइलेट पेपरले । हङकङबाट मगाइन्छ । यहाँ पाउनेले अलि बिझाउँछ । यति समूहले मगाउँछ अनि ल्याइदिन्छ, बालुवाटार । बिचराहरूलाई देश खान अलि पुगेको छैन भन्दै थिए । अब कतातिर दिऊँ भनेर सोचिरहेको छु । उसैले बर्थडेमा ल्याइदिएको केक झैँ देशलाई काटेर कप्ल्याक्क दिऊँ कि जस्तो लाग्दै छ । साह्रै माया लाग्छ मोराहरूको । आङ छिरिङ गएपछि त टुहुरा पनि भएका छन् नि । बिचराहरू । अनि रेदखेद गर्ने जिम्मा मेरै भएको छ । हिजोका दिनमा छिरिङले जसरी मेरो गरेका थिए ।
पहिले गाउँमा बस्दा जस्तो कहाँ हो र, घाँसले पुछ्नु पर्ने । आची क्या ! आजकाल ट्वाइलेट पेपरले पुछ्ने बानी बसिसकेको छ । विदेश जाँदाको बेलाको पनि ख्याल गर्नु पर्यो नि । विदेशमा त पानीले धुने सुविधा पनि नहुँदो रहेछ । अझै कति पटक गइने हो कुन्नि ? त्यसैले पानीले धुने बानी बसालेको छैन । कोरोनाको महामारीपछि स्यानिटाइजर पनि दल्न लगाउने गरेको छु । शरीरमा प्वाल भेट्यो कि छिरिहाल्दो रहेछ, त्यो फटाहा कोरोना । घमन्ड पो बलिलो छ, शरीर त कमजोर नै छ नि ।
गोकुल र महेशलाई अब अढाइ वर्ष बालकोट फर्किन्न भनेर फुइँ हानि सके । अब त प्रचण्ड, माधवलाई त जसरी पनि तह लगाउनै पर्छ । जति अफर दिए पनि मानिरहेका छैनन् । मेरो बालकोटको दराज देखे कि क्या हो ? गोकुलले त देखाउन नपर्ने हो । सङ्ग्रहालय बनाउने कामदारले पो देखे कि ?
मलाई राम्रैसँग थाहा छ । तिनीहरू फट्याङ्ग्रा नै हुँ भन्ने । हेलिकप्टर बनेर आकाशमा उठ्ने सपना मात्र देख्ने । जमानामा पनि त्यसै भनेको थिएँ, चुनाउ ताका । तर, के गर्नु रकेट चढेर पो संविधान सभामा गएका थिए ।
०००
आज पनि आए । हिजो मान्लान् कि भनेर गुलियो जेरीले सत्कार गरेँ । आज तिते करेला नै ख्वाइदिएँ । चाखुन् न मेरा मनका स्वाद पनि । के थाहा तिनीहरूलाई मेरो मन कालो मात्र छैन भन्ने तीतो पनि रहेछ भनेर । थाहा पाए नि खुच्चिङ ! एउटै कुरो छ, कुर्सी छाडिन्न । स्थायी कमिटी र केन्द्रीय समितिको बैठक बोलाइन्न । अनि हेरम्ला नि कसरी हटाउँदा रहेछन् ? सुवास र शंकरले पनि छाड्न हुँदैन भनेर कुर्सीका भाँचिएका खुट्टा दह्रोसँग समाइदिई रहेका छन् । प्रदीप, ईश्वर र विष्णुले पनि ढाडस दिइरहेका छन् ।
सक्दैनन् हो सक्दैनन् । मैले स्थायी कमिटी र केन्द्रीय समितिको बैठक राखे पो । बामदेव कमरेड फेरि मतिर ढल्किसके क्यार । अब त सचिवालय बैठकको रटान लगाउने हो । बरु, युवराजलाई बलिको बोका बनाउनु परे पनि बामदेव कमरेडलाई राष्ट्रिय सभामा लैजाने हो । उपप्रधानमन्त्री बनाउने हो । अढाइ वर्ष ढुक्कसँग खाने हो । यस पटक बामदेव कमरेडसँग गरेको बाचाबाट नभाग्ने कसम खाएको छु ।
०००
अँ साँच्चै इनफ इज इनफले के गरिरहेका छन् कुन्नि ? अनि अरूतिर के भइरहेको होला ? सूर्यले जे सुनाउँछ, त्यही पत्याउन परिरहेको छ । न्युज पोर्टलमा आएका समाचार प्रिन्ट गरेर ल्याइदिन्छ । मलाई मन पर्ने खालका । गाली गलौच गरेका समाचार आफैँ पढ्नु अनि आफैँ ट्विट गरेर गाली गर्नु भनेकै छु ।
मेरो काम त सबैलाई जेरी जस्तै गोल गोल घुमाइरहने अनि उनीहरुलाई पकाइरहने नै त हो । भित्र चास्नी भर्ने जिम्मा त खानेको हो । पकाइदिने पनि म ! अनि गुलियो पनि मैले नै हाली दिनु पर्ने ? बडो गज्जब छ बा ! गुलियो खाने हो भने त अर्ली महाधिवेशनसम्म कुर्नु पर्छ नि । जेरीमा पनि कहाँ पाक्ने बित्तिकै चास्नी पस्छ र ? कुर्न सक्ने बानी बसाल्नु पर्छ । मैले जनतालाई पनि मनमनै भन्ने गरेको छु, कुरौँ ५० वर्ष जति । म देश बनाइ छाड्छु । तर, पानी जहाज र रेल ल्याइ छाड्छु । पत्याउँदैनन् ।
हुनत मैले जेरीलाई पनि छेरपटि लाग्ने गरेर बासी बनाउन जानेको छु । अब अढाइ वर्षमा भारतसँग यसरी सम्बन्ध बिगारिदिन्छु कि फेरि राम्रो बनाउँदा बनाउँदा तिनीहरुको ढाड सेकियोस् ।
भारतसँग मलाई साह्रै चित्त दुखेको छ । त्यति सुन्दरी हु यान्छीसँग नाम जोडेर मलाई बदनाम गर्ने ? भारतको टेलिभिजनले त्यो समाचार देखाएको रात त निर्दै परेन । सुसुले निकै च्याप्यो । मिर्गौलाका रोगीलाई सुसु आएको त राम्रै हो । त्यसपछि अलि तङ्ग्रिए पनि । अनि ठोरीको स्टन्ट फालिदिएँ ।
०००
सत्ते..धरोधर्म मैले जिन्दगीमा यति शौक गर्न पाउँछु भनेर कहिल्यै सोचेको थिइन ।
मूलधारको राजनीतिमा आउनुअघि मेरो अवस्था कस्तो थियो, सबैलाई थाहै छ । गाउँको भत्कन लागेको घरलाई फेरी नयाँ बनाइयो । त्यही गएर दुरुस्त नेपाल जस्तै देखिने केक पनि काटियो । हेलिकप्टर मालिकलाई फाइदा दिँदा आफूले पनि फाइदा पाइँदो रहेछ, बुझियो ।
भूमि नै फिर्ता त मैले पनि कहाँ ल्याउन सकुँला र ? नक्सा भने बनाइयो । गुगल म्याप हेरेर त्यो जाबो कागजमा कोर्न गाह्रो पनि रहेनछ । कोर्न लगाएँ । भारतले मसँग वार्ता नगर्ने रे । मलाई पनि निकै लाग्यो, वार्ता गरेको भए भूमि पनि फिर्ता गराइ छाड्थेँ त भन्न पाइयो नि । अब हेरम्ला ! अरूको ताल । केही नभए पनि राष्ट्रिय विभूति बन्न पाइन्छ कि भन्ने लागेको छ । अहिले घोषणा गर्न मिल्ने भए त्यो पनि गरिदिन्थे ।
कम्युनिस्ट भगवान मान्दैनन् । म पनि मान्दैन थेँ । जब २–४ पटक अप्रेसन सफल भो । २–२ पटक प्रधानमन्त्री बन्न पाइयो । पार्टीका नेता जति सबै बनिसक्दा पनि म हेरेको हेरै थेँ नि । तर, कस्सम सपना पुरा भएपछि भगवान पनि मानिँदो रहेछ ।
ल भन्नुस् ! उता मोदी पनि राम सेवक । अब मोदीको मुटु मै प्रहार गर्न त राम कै नाम लिनु पर्यो नि । ग्यास्ट्रिक भएको बेला ट्रिक लगाएँ पछाडिबाट हावा नछाड्ने । अनि भनिदिएँ, अयोध्या त ठोरीमा छ । चितवन कै नाम लिएपछि प्रचण्डले पनि समर्थन गर्लान् भनेको त, मेरो अगाडि आएर मुस्कुराए मात्र । अनि फेरि दुवै पद छाड्ने सुगा रटान थालिहाले नि ।
कस्सम भनेको ! यो राजसी ठाँट कसरी छाड्नु । बेहोस भएर अस्पतालमा सुत्दा त कुर्सी जाला कि भन्ने डरले तर्साउँथ्यो । कसरी समातेर राखेको छु, मलाई मात्र थाहा छ ।
औषधी खाने बेला भो, राधिका चिच्याउँदै छे । मसँग हैन, सुसारेसँग । यही त रहेछ, शासकको रइसी शौक । सबै कम्युनिस्टले कहाँ गर्न पाउँछन् र । बरु, गोकुल सुत्यो कि सुतेन बालकोटमा । घरभन्दा पनि घरभित्रको सुरक्षा गर्न राखेको, त्यो पनि छोरा जस्तो भनेर । सुत्यो भने त भुसुक्क पार्छ त ।
त्यो टालेको कमिज आफ्नै सङ्ग्रहालयमा राख्ने विचार थियो, अब नराख्ने निर्णय गरेको छु । कतैबाट कमाइ नहुने राजनीति गरेर राष्ट्र सेवामा लागेको त्यो ख्याउटे यति मोटो र सम्पन्न कसरी भयो भनेर फेरि औँलो उठाइ रहने हुन् कि भन्ने पनि डर पनि छ । लाग्छ नि, कहिले काहीँ डर । बाहिर देखिए झैँ कहाँ जण्डु छु र म पनि ! इमेज मात्र खराब बनाइ दिएका छन् ।
०००
आज भने मात्र १ घण्टा गफ दिएर पठाइयो । गाईजात्रा मनाउन हतार रहेछ झलनाथ कमरेडलाई । नत्र ३–३ घण्टा गफमा भुलाएर पठाइन्थ्यो । कहिलेसम्म धाउलान्, बालुवाटार म पनि हेरौँला नि । सधैँ ३ घण्टा वार्ता गरे झैँ गर्दा राम्रो देखिएन भनेर हिजो त साढे ३ घण्टा गफ दिएँ नि । बालुवाटारमा मैले नियुक्ति दिएकालाई गफ दिऊँ भने मेरो बुद्धिको स्तरसँग स्तर मिल्ने कोही छैनन् ।
के गफ गर्नु मोराहरूसँग जे भने पनि होमा हो मिलाउँछन् मात्र । मलाई एकसरो गफ गरेको मन पनि पर्दैन । अलि नुन–अमिलो मिलेको हुनुपर्छ गफमा । मलाई थाहा छ नि म सबैलाई पेल्न सक्छु भने । त्यसैले बरु प्रचण्ड र झलनाथ कमरेडसँग समय बिताउन रमाइलो हुन्छ । झगडा गरे जस्तो पनि हुन्छ, समय मिल्दा कहिले काहीँ लुडो खेल्दा पनि रमाइलै हुन्छ । ४ जना खेल्दा रमाइलो हुँदो रहेछ, लुडो । त्यसैले २ जना थपेका छौँ ।
०००
औषधी खाने बेला भो, राधिका चिच्याउँदै छे । मसँग हैन, सुसारेसँग । यही त रहेछ, शासकको रइसी शौक । सबै कम्युनिस्टले कहाँ गर्न पाउँछन् र । बरु, गोकुल सुत्यो कि सुतेन बालकोटमा । घरभन्दा पनि घरभित्रको सुरक्षा गर्न राखेको, त्यो पनि छोरा जस्तो भनेर । सुत्यो भने त भुसुक्क पार्छ त ।
सुरक्षाकर्मीहरू सबै कोरोना लागेर होम आइसोलेसनमा गएका छन् क्यार ? अस्पतालमा सुविधा भए पो । खै के गर्ने हो, कहिले काहीँ त बालुवाटारलाई नै बालकोटमा सारुँ कि जस्तो पनि लाग्न थालिसक्यो । टिचिङ अस्पताल अलि टाढा हुन्छ, हावा पानी त ठिकै छ । अरु १० वर्ष थप बाँचिन्छ पनि होला ? अनि पो होला, बाँचुन्जेललाई आनन्द । त्यसपछि त झन् छाडिन्न, कुर्सी ।
०००
अब सुवासहरू पनि आइपुगे । फेरि भोलिको तयारी गर्नु छ ।
सबैलाई गुड नाइट । मनतातो पानीमा बेसार हालेर पिउन र तातो पानीको बाफ लिन नबिर्सनु ल !