मंसिर ०७, २०८१, शुक्रबार
               

म झुक्छु मात्र आफ्नै अहङ्कारसँग

चेतन पाण्डे
भदौ १०, २०७७

ADVERTISEMENT

साँच्चै भनेको ! अहिलेका बाउ–आमाका पुस्ता भएका भए मेरो जन्म असम्भव झैँ थियो । १–१ जना छोरा र छोरी जन्माइ सकेका मेरा बाबा–ममीलाई के सन्की चढ्यो कुन्नि ? मलाई जन्माए । त्यो पनि हुन सक्ला, बाबा–ममीको गल्तीको परिणाम हुँ, म । त्यही कारण मृत्युको फैसला सुनेर जन्म लिएँ मैले पनि । तर, मानिसले आफू जस्तै अर्को मानिसलाई घृणा र तिरस्कार गर्ने यो लोकमा अवतरित हुनु पर्दा सुखभन्दा दुख नै बढी अनुभव हुन्छ ।

मृत्यु जति सत्य छ, जन्म त्यति नै अन्योलग्रस्त । मृत्यु कसैको वशमा छैन तर, जन्म दुई शरीरको मिलनमा मात्र सम्भव छ । मेरो बीजारोपण भएको दिन बाबालाई वास्ता नगरेर ममी कोल्टे फेरेर सुतिदिएको भए मेरो जन्म नै अन्योलमा पर्थ्यो नै । 

त्यसमाथि अहिलेको जमानामा त शायद नै कसैले तेस्रो सन्तानको कल्पना गर्छन् होलान् । यो जिन्दगीमा खुसी मनाउने हो भने मेरो जन्मको समय सही रहेछ । नत्र सन्तान जन्माउने, हुर्काउने, खुवाउने, पढाउने अनि उनीहरूका जायज–नाजायज फर्माइस पुरा गर्दा लाग्ने खर्चले नै साधारण नेपालीको मन काँप्छ अहिले त । एउटा सन्तानलाई खुट्टामा उभ्याइ दिँदासम्मको खर्च गन्न भगवानले दिएका दुई हातले नपुग्ने दिन आइसक्यो । लाग्छ, अब नेपाली बृहत् शब्दकोशबाट माइला, साइँला जस्ता शब्द पनि बिस्तारै बिलाउँदै जाने छन् ।

जालझेल, माया प्रेम जहाँ, जे भए पनि म जन्मिएर नै छाडेँ । मेरो काया बनाउन सहयोग गर्ने ‘स्पम’ कुनै परिवार नियोजनको अस्थायी साधनको बाधामा परेको भए शायद मेरो अघिल्लो जन्मको आत्मालाई फेरि हजारौँ वर्षपछि जन्मिनु पर्ने बाध्यता आइलाग्थ्यो । वा कुकुर, गधा यस्तै प्राणीका रूपमा मेरो जन्म हुन सक्थ्यो । हुनत फरक नै के छ र ?

आजकालका मानिसको चोला लिएर जन्मिने हरेक प्राणीको दैनिकी कुकुर र गधाभन्दा कहाँ कम छ र । सधैँ अरूलाई झम्टिन तयार कुकुर झैँ बनेका छन्, अहिलेका मानिस ।

अझ गरुड पुराणलाई आधार मान्ने हो भने त ठोकेर भन्छु, यो संसारमा एउटै पनि धर्मात्मा छैनन् । पराइ पुरुष, पर स्त्री, पराइ धनलाई कड्के नजरले हेरे पनि पाप लाग्छ रे । त्यही पुराण वाचकले सुनाएका । अनि को पो होला र, धर्मात्मा ? कसले नहरेका होलान्, पराइ पुरुष, स्त्री र धनलाई कड्के नजरले ।

हिन्दु धर्ममा भनिएको छ । मानिसको चोलामा जन्मिनेले यथेष्ट धर्म गरे मात्रै पुनर्जन्म लिनु पर्दैन रे । धर्मात्मा मरेपछि उसको आत्माले मुक्ति पाउँछ रे अनि सिधा स्वर्गको बासिन्दा हुन पाउँछ रे । पापीले फेरि अन्य कुनै चोलामा यो संसारमा अवतरित हुनै पर्छ रे । यसको अर्थ यो युगमा जन्मिने अधिकांशको पुनर्जन्म अवश्यम्भावी छ ।

शास्त्रमा नै लेखे जस्तो धर्मात्मा त कहाँ भेटिन्छन् होला आजको युगमा ? मलाई त पुरा विश्वास छ, मेरो अर्को जन्म अवश्य हुनेछ । तर, कुन प्राणीका रूपमा, त्यो भने भन्न सक्दिन । मानिस भएर नजन्मिए राम्रै हुन्थ्यो । कम से कम यस्ता जालझेलका जीवन र समाजबाट त मुक्त रहिन्थ्यो । अब त लाग्न थालेको छ, धनको मातमा मानिसको आत्माभित्र प्रेम मर्दै छ । घृणा, तिरस्कार र लोभ बलियो बन्दै छन् ।

अझ गरुड पुराणलाई आधार मान्ने हो भने त ठोकेरै भन्छु, यो संसारमा एउटै पनि धर्मात्मा छैनन् । पराइ पुरुष, पर स्त्री, पराइ धनलाई कड्के नजरले हेरे पनि पाप लाग्छ रे । पुराण वाचकले सुनाएका । अनि को पो होलान् र, धर्मात्मा ? कसले नहेरेका होलान् । पराइ पुरुष, स्त्री र धनलाई कड्के नजरले ।

जन्मिन लेखेको थियो, जन्मेरै छाडियो । आखिर जीवन के रहेछ र ? दुई विपरीत लिङ्गीको क्षणिक आनन्दको फल ! जसको भार जन्म लिने मनुष्यले बाँचुन्जेल तिरिरहनु पर्छ । असीमित प्रेमका कारण जन्मिएका प्राणीको मनमा प्रेम मात्र हुर्किँदैन रहेछ । उमेरसँगै मनमा जति प्रेम फस्टाउँछ, त्यति नै घृणाको बीजारोपण पनि हुँदै जाँदो रहेछ । त्यति नै रिसको कालो बादल विस्तार हुँदै जाँदो रहेछ । त्यति नै लोभ जाग्दै जाँदो रहेछ ।

हुनत नैतिकताको शिक्षा दिनेले कसैलाई घृणा सिकाउँदैनन् । मानिस न हो पढे, सिकेको कुरो जिन्दगीको यात्रामा लागू गर्न सक्दैन रहेछन् । त्यसैले मेरो मनमा पनि घृणाका अथाह ज्वालामुखी विस्फोट भइरहन्छन् । जसले मायाको समुन्द्रको चिसो पानीलाई तताएर बाफ बनाइ दिन्छन् । अनि रिसका पोकोलाई बादल झैँ विशाल बनाइ दिन्छन् । दिन दिनै बढ्ने क्यान्सरको घाउ झैँ ।

अनि कुनै बेला आफ्ना झैँ लाग्नेहरू पनि समयको वेगसँगै दुस्मन झैँ भइदिँदा रहेछन् । जसले जलेको घाउमा अमिलो निचोर्छ, त्यसलाई आफ्नो मानिरहनु पनि धर्मको परिभाषामा अटाउँदैन नै होला । मेरो मन–मस्तिष्कमा कुँदिएका परिभाषामा त पक्कै अटाउँदैन । त्यसैले हिजोआज धेरै मान्छे मलाई आफ्ना झैँ लाग्न छाडेका छन् । अनि मेरो घृणाको परिधि पनि बिस्तारै फराकिलो बन्दै छ ।

मैले पाएको नैतिकताको शिक्षा र मैले आफैँ लेखेको नैतिकताको परिभाषामा निकै अन्तर छ । मलाई सधैँ सिकाइयो, ‘बरु शिर झुकाउनु तर, कसै तिर लक्षित गरेर चोरी औँला नठड्याउनु । तर, किन हो किन मलाई जो मन पर्दैनन्, उनीहरूतिर माझी औँला नै ठड्याउन कहिल्यै आपत्ति भएन । फरक छन्, मेरा मन र मस्तिष्क । मनमा जति माया खाँदिएका छन्, मस्तिष्कमा त्यति नै घृणा भरिएका छन् । 

मलाई लाग्छ, अन्याय सहनु र सहन लगाउनु दुवै पाप हो । आफूमाथि होस् वा अरूमाथि भएका । कतै अन्याय भएको देख्दा मेरो मन–मस्तिष्कमा करेन्टको झट्का लाग्छ । त्यसको प्रतिकार गर्न मन लाग्छ । अनि मलाई पछाडि कसैको कुरा काट्नुभन्दा अगाडि भिड्न असाध्यै प्यारो लाग्छ । हुनत जो मेरा प्यारा छन्, उनीहरूका तितो वचन पनि मिठैसँग पचाइ दिने खुबी पनि प्रशस्त छ । मैले आफ्नाका लागि अरूसँग भिडेको पनि छु । आफ्नो गल्तीमा माफी पनि मागेको छु ।

०००

धेरै वर्ष बित्यो ।

एउटा घरमा डिस एन्टेना जोडेर सारा बस्तीले हेर्नुपर्ने दिन पनि थिए । त्यो पनि केवल भारतीय सरकारी च्यानल दूरदर्शन मात्रै । स्पष्ट दृश्य आउनु त पर कै कुरो हुन्थ्यो । एन्टेना र बुस्टरको जमानाभन्दा केही स्पष्ट भने हेर्न पाइन्थ्यो ।

हाम्रो घरमा पनि त्यसरी जोडिएको थियो, एउटा लाइन । सधैँ जस्तो बेलुका खाना खाएपछि टिभी हेर्न बसिन्थ्यो । एक दिन कुनै राम्रै कार्यक्रम आइरहेको थियो । शायद फिल्म आएको हुनुपर्छ । एक–दुई दिनदेखि डिस्कको लाइन बिग्रिएको थियो । जसले वितरण गरेका थिए, मर्मत–सम्भारको जिम्मा पनि उसकै हुनु स्वाभाविक थियो । त्यस बेला अटेरी नै गरेर बनाइ रहेको थिएन, हाम्रो घरको लाइन । हाम्रो घरभन्दा केही परै थियो, त्यो वितरकको घर ।

टिभी नै हेर्नै नसकिने भएपछि ममीले लाइन बाँड्नेलाई एक साँझ फोन गरिन् । ममीको आवाज पनि केही रुखै थियो । त्यो व्यक्ति पनि कुन मुडमा थियो कुन्नि, ममीलाई तथानाम गाली गरेछ । शायद अरूले पनि फोन गरेर टेन्सनमा दिएका थिए होलान् । ममीलाई गाली गरेको मैले सहन सकिन । घरमा रहेको भुत्ते खुकुरी बोकेर दौडिए, त्यसको घर तिर ।

मूल ढोका खुलै रहेछ । त्यो व्यक्ति र उसका परिवारले अचानक कल्पना नगरेको दृश्य आँखा अगाडि देख्नु पर्‍यो । एउटा १४–१५ वर्षको खाइलाग्दो ठिटो खुकुरी बोकेर थर्काउन कोठा मै आउँछ भने कसको मन नकाँप्ला ? त्यसमाथि मेरा घरमा त्यस बेला रहेका अरूहरू पनि मलाई रोक्न मेरै पछाडि दौडिँदै आइपुगेका थिए, त्यहाँ । उनीहरूलाई लाग्यो होला, ग्याङ नै आएछन् भनेर ।

अनि त हामीलाई देखेर त त्यो घरमा रुवाबासी नै चल्यो । त्यसमाथि म एकोहोरो ती डिस्क धनीलाई गाली गर्दै थिएँ । भुत्ते खुकुरी नचाउँदै । डिस्कको लाइन नबनाए ठिक पार्ने धम्की पनि दिँदै थिएँ । ती व्यक्ति यति बिघ्न भयभीत भए कि हातै जोडेर माफी मागे । भोलि जसरी भए पनि दूरदर्शन सफा आउने बनाइदिने बाचा गरे । म माझी औँला ठड्याउँदै, उसलाई चेतावनी दिँदै घर गएँ । 

घर पुगेपछि भने मनमा बेचैनी बढ्यो । आफ्नो रिस देखेर आफैँसँग लाज लाग्यो । एक पटक त त्यही घरमा गएर ऊसँग माफी मागूँ कि झैँ पनि लाग्यो । फेरि आफ्नै अहम् अगाडि तेर्सियो, जे भए पनि माफी नमाग्ने अठोटसहित सुतेँ । भोलिपल्ट बिहानै त्यही व्यक्ति मेरो घरमा आइपुग्यो । मनमा चिसो पनि पस्यो । कतै प्रहरी नै लिएर आयो कि भनेर । तर जब उसले डिस्कको लाइन बनाइ दिएको बतायो, मुटुको गति ह्वात्तै कम भयो । मैले पनि उसलाई आवेगमा आफूबाट केही गल्ती भएको बताएँ । उसले पनि मेरी ममीसँग अपशब्द बोल्न नहुने स्विकारे । माफी मागे । त्यो घटनापछि हाम्रो सम्बन्ध राम्रै बनेको थियो । बस्, यति हो डिस्कको लाइन बिग्रेको खबर गर्नासाथ प्राथमिकताका साथ बन्न थाल्यो ।

०००

हुनत, म गुन्डा होइन, थिइन पनि । रिस भने थाम्न गाह्रै हुन्थ्यो, अहिले पनि हुन्छ । तर, कतिलाई त अहिले पनि म रिसाउँछु भन्ने पत्याउन समेत कठिन पर्छ । दुई रूप छन्, मेरा । संसारका लागि एउटा, म आफ्नै लागि अर्को । मलाई आफ्नै अहम्सँग बाँच्न साह्रै आनन्द आउँछ । खै किन हो कुन्नि धेरैको नजरमा म सोझै छु रे । आफूलाई पनि लाग्छ, कहिले काहीँको आवेग बाहेक म अति सोझो छु । मेरो स्वभावले कमैको मन दुखाएको छ । तर, दुखाएको अवश्य छ । जो नचाहिने कुरोमा मसँग जोरी खोज्छ, उसलाई पानी मुनिसम्म पनि छाड्दिन । अनि तत्काल प्रतिक्रिया जनाउन पनि पछाडि पर्दिन ।

नेपाल राष्ट्र बैङ्कबाट अवकाश पाएपछि मेरा बाबा विभिन्न सरकारी–निजी कार्यालयमा सल्लाहकारका रूपमा कार्यरत थिए । त्यस मध्ये एउटा अर्ध सरकारी कार्यालयमा पनि थियो ।

त्यहाँ भर्खर जस्तो कर्मचारीको युनियन खुलेको रहेछ । अरू कार्यालयमा जस्तै त्यहाँ पनि युनियन खलेपछिको पहिलो एजेन्डामा हाकिम हटाउनु नै रहेछ । बहुदलले दिएको कुसंस्कार थियो, त्यो । संस्थाका प्रमुखभन्दा युनियनका पदाधिकारी बलिया हुन्छन् भन्ने भ्रम छर्न ।

बहुदलीय व्यवस्थाको आगमनका केही वर्षभित्रै खुलेको त्यो कार्यालयको कर्मचारी युनियनले पनि प्रमुखसहित मेरा बाबालाई पनि हटाउन माग अघि सारेको रहेछ । युनियन र त्यो कार्यालयका प्रमुखबिच वार्ता चल्दै रहेछ । त्यही बेला मेरा बाबाले त्यो कार्यालयका प्रमुखसँग मिलेर अथाह अनियमितता गरेको समाचार एउटा साप्ताहिकमा छापियो । त्यस बेला म पत्रकारितामा भर्खरै मात्र लागेको थिएँ ।

मलाई मेरा बाबाको इमानदारितामाथि यति बिघ्न विश्वास थियो कि बरु पशुपतिनाथले अनियमितता गर्न सक्लान् तर, मेरा बाबा अनियमितता गर्न सक्दैनन् भन्ने । वास्तवमा चाहँदा पनि घुस खाने आँट गर्नसक्ने हिम्मत उनीसँग थिएन । मुटु दह्रो भए पो गर्थे, अनियमितता । फेरी त्यसमाथि त्यो कार्यालय अनियमितता गर्न लायकको पनि थिएन । हाकिम त जति लिटर, त्यति किलोमिटर भन्ने जस्तो थोत्रो कारमा हिँड्थे ।

जब बाबाको नाम मुछिएर अनियमितताको समाचार छापियो, तत्कालै मेरो पारा तात्यो । सिधै गएँ, त्यो कार्यालयमा । सिटमा बसिरहेको ती अध्यक्षलाई सिटबाट उठ्न आदेश दिएँ । जुरुक्क उठे पनि । बाहिर बोलाएँ, लुसुक्क आए पनि । वास्तवमा सोझा रहेछन् । अरूको लहलहैमा लागेका मात्र रहेछन् । तरपनि, तथानाम गाली गरे । आँधी बतास झैँ उसमाथि गर्जिरहेँ । दुई झापड पनि हान्न मन लागेको थियो । तर, सबैले रोकेका कारण सफल हुन सकिन ।

भोलिपल्टै अर्को कुनै साप्ताहिकमा ती अध्यक्षको अनियमितताका समाचार छापिदिएँ । ती अध्यक्षले थप प्रतिकार गर्ने आँट गरेनन् । कुनै विवादमा पर्न नचाहिने मेरा बाबाले सल्लाहकारको पदबाट राजीनामा पनि दिए । आफ्नै अरू काममा लागिरहे । बरु मलाई त्यसरी नरिसाएको भए हुन्थ्यो भनेर शालीन शब्दमा सम्झाए मात्र ।

अनि मलाई रगतका नाताभन्दा आफैले बनाएका नाता प्यारो लाग्छन् । नगरेको गल्तीमा मतिर चोरी औँला ठड्याउनेहरू मलाई कहिल्यै आफ्ना जस्ता लागेनन्, लाग्दैनन् । त्यसैले फुर्सदमा सोचेर निष्कर्षमा पुगेको छु । जन्मसँगै मेरो मन र मस्तिष्कमा जबरजस्ती कोचिएका कतिपय नाताहरूसँग अब सदाका लागि सम्बन्ध विच्छेद गर्ने कसम खाएको छु ।

सबैभन्दा रमाइलो घटना त मेरो विवाहपछि घट्यो । ती अध्यक्ष महानुभाव त मेरा ससुराली खलकका पो रहेछन् । हिजोआज कुनै भेटघाटमा आँखा जुध्दा हाँसेर अभिवादन गरिन्छ । हालचाल सोधिन्छ । पुराना कुरा सम्झिँदा मन भने लाजले भुतुक्क हुन्छ । तर, के गर्नु जवानीको जोस नै त्यस्तो हुँदो रहेछ । कसैको वशमा रहन नचाहने । आफ्नै मनको मात्र गर्न मन लाग्ने । मस्तिष्कलाई सधैँ ‘बाइपास’ गर्ने ।

०००

जिन्दगीमा यस्ता झिना मसिना धेरै लफडा गरियो । शिर झुकाउन नजाने कै कारण धेरैको मन पनि दुखाइयो । अनि धेरैले मेरो पनि मन दुखाए । अहिलेसम्म दुखाउन छाडेका छैनन् । दुई–चार झापड त धेरैको गालामा कसेको छु तर पनि फेरि भन्छु, म कहिल्यै गुन्डाको परिधिभित्र अटाइन । गुन्डा बनिन । अहिले पनि झनक्क रिस उठ्दा त्यसलाई शान्त पार्न मस्तिष्कले मनलाई सम्झाउन निकै परिश्रम गर्नु पर्छ । बिना कारण मतिर चोरी औँला ठड्याउनेहरूलाई माझी औँला देखाउनै मन लाग्छ । चाहे ती मभन्दा ठुला हुन् वा साना । तर पक्का छ, गरुड पुराणलाई आधार मान्ने हो भने त्यस्ताका हर्कतका कारण मेरो आत्माले यो जुनीमा वैतरणी तर्न पाउँदैन ।

गल्ती मैले पनि हजारौँ गरेको छु । तर, जहाँ मेरो गल्ती छैन, त्यहाँ मलाई गलत प्रमाणित गर्ने प्रयास हुन्छ भने ती सबैसँग नाता तोड्न म दुई पटक कहिल्यै सोच्दिन । अनि त्यो कार्यप्रति म कहिल्यै लज्जित पनि बन्दिन । तर, जसले सही बोल्छ, सही गर्छ । उसको काँधसँग काँध मिलाएर हिँड्न सधैँ तयार रहन्छु पनि । आफूले गरेका गल्तीको माफी माग्न सधैँ तयार रहन्छु पनि ।

अनि मलाई रगतका नाताभन्दा आफैले बनाएका नाता प्यारो लाग्छन् । नगरेको गल्तीमा मतिर चोरी औँला ठड्याउनेहरू मलाई कहिल्यै आफ्ना जस्ता लागेनन्, लाग्दैनन् । त्यसैले फुर्सदमा सोचेर निष्कर्षमा पुगेको छु । जन्मसँगै मेरो मन र मस्तिष्कमा जबरजस्ती कोचिएका कतिपय नाताहरूसँग अब सदाका लागि सम्बन्ध विच्छेद गर्ने कसम खाएको छु ।

जुन सम्बन्ध हिजो पनि मेरो थिएन र भोलि पनि मेरा हुन सक्दैनन् । त्यस्ता सम्बन्धलाई जबरजस्ती साथ लिएर हिँड्नुभन्दा एक्लै हिँड्नुको मजा नै बेग्लै हुन्छ । त्यसैले म यस्ता निर्णयमा कहिल्यै पछुताउँदिन, त्यो भने पक्का हो । कुनै दिन मसँग जोरी खोज्नेहरू सबैलाई माझी औँला भने देखाउने चाहना मनमा रही नै रहन्छ । कतिलाई देखाइसकेँ अनि कतिलाई देखाउन नै बाँकी छ । मैले धेरै पटक यसरी सम्बन्धहरूमा पूर्णविराम पनि लगाएकै छु ।

मलाई थाहा छ, बादलले जति कोसिस गरे पनि आकाश छुन सक्दैन । बादलले आकाश छोएको भ्रम त सधैँ पाल्छ तर, यथार्थमा ऊ आकाशको उचाइभन्दा निकै टाढा रहन बाध्य नै छ । उसलाई थाहा पनि छ, आकाश छुने असफल कोसिस गर्दा उसको अस्तित्व नै लोप हुन्छ भन्ने पनि । अनि आफैँ आकाश भएको भ्रम पाल्न पनि कहिल्यै छाड्दैन । जब आकाश छुन र बन्न नसकेको भ्रमबाट मुक्त हुन्छ, त्यही झोँकमा ऊ आँधी बनेर बर्सिन्छ । आफ्नै अहङ्कारको रिस हामीमाथि बर्साउँछ । त्यही बादल जस्तै छन्, कतिपय मेरा सम्बन्ध, चाहेर पनि अहिलेसम्म जिन्दगीबाट चोक्टाउन नसकिएका ।

त्यस्तै हुन्छन् होला ती मानिसहरू पनि, जो आफ्नो घमन्डका खातिर अरूको मनमा तीर चलाउँछन् । अनावश्यक सम्बन्ध खल्तीमा बोकेर हिँड्न मैले कहिल्यै चाहिन । किनकि मलाई मलामीको सोख कहिल्यै जागेन । मैले जसलाई तिरस्कार गरेँ, उनीहरूले मेरो लासमा पानी चढाए भने मेरो लास नै एक पटक रुन्छ कि जस्तो पो लाग्न थालेको छ, अब त । म लास बनेर सड्न तयार छु । तर, म मेरो लास त्यो काँधले बोकेको सहन तयार छैन, जसले बाँच्दा मेरो मनलाई जलाइ रहे । सुइरोले घोचिरहे । 

बादल झैँ घमन्ड पालेर आकाश बनेको भ्रम पाल्नेहरूसँग घृणा छ, मलाई । सारा संसार आफैँबाट सञ्चालित छ भन्ने भ्रममा बाँचेकाहरूसँग पनि । मलाई घृणा लाग्छ, त्यस्ता सोचसँग पनि । अनि कामना छ, यथार्थमा अर्को जन्म छ भने त्यस्ता नातेदारका वरिपरि फेरि जन्म लिन नपरोस् । मेरो अर्को जन्मका लागि त्यही सम्बन्धहरू कायम नगरियोस् ।

त्यसैले भन्छु, मभित्र असीमित घृणा पनि छ । मेरा बाबा–ममीको तेस्रो गल्ती म, निकै घमन्डी पनि छु । आफ्नो शिर कसैको पाउमा लिलामी गर्न सक्दिन । मैले नचाहेसम्म कसैले मेरो शिर झुकाउन पनि सक्दैन । म झुक्छु बस्, आफैँसँग । आफ्नै अहङ्कारसँग ।

साढे दुई दशकदेखि पत्रकारितामा सक्रिय पाण्डे फ्ल्यास संचार प्रालिका अध्यक्ष हुन् ।

कस्तो लाग्यो ?

यो पनि