मेरो सहर आफ्नै पुरानो रफ्तार समात्न आतुर छ । केही महिनादेखि सोच्दै थिए, यो नै मेरो सहर हो कि होइन भनेर । लाग्थ्यो, म हुर्किएको सहरमा यस्तो मुर्दा शान्ति कहिल्यै छाएको थिएन । एकाबिहानै भूकम्पले झट्का दिँदा त पक्कै यो मेरै सहर रहेछ भन्ने मनमा भयो । लाग्न थालेको थियो, यो बस्ती मेरै जस्तो रहेन । मेरो मनमा अटाउन सक्ने जस्तो ।
दसैँ मुखमा आएको छ । अब क्रमशः बढ्ने छ, मानिसका भिडभाड, सवारी साधनका जाम । अनि दसैँमा घर जानेको चटारो । सडकमा बढ्दो चहल पहलसँगै वातावरण भने बिस्तारै प्रदूषित हुन थाल्छ नै होला । मानिसका मन झैँ । मेरै पुरानो सहर झैँ ।
तर हाँस्न सकेका छैनन्, यो सहरका हरेक अनुहार । सारा जिन्दगी नै यही काठमाडौँलाई सुम्पिएर पनि राजधानीका अनागरिक नै बनिरहेका हजारौँ अनुहार मध्ये एक जनासँग मेरो कुरा भएको थियो । केही दिनअघि मात्र । सामान्य मानिसभन्दा बढी नाम कमाएकै छन् तर, दाम कमाउन सकेका छैनन् । खान लगाउन पुगेको छ । कमाइ पनि त्यही खान लाउन पुग्ने सेरोफेरो मै हुन्छ । अहिले कमाइ बन्द रहेछ ।
त्यसमाथि उनले त सन्तान, पत्नी सबैको वियोग व्यहोरेका छन् । कति तर्साउँदो हो, ती घरका भित्ताहरूले एक्लो उनलाई । आखिर लकडाउनमा उनले गर्न नै के सके र’ एकतमास भित्ता नियाल्नु सिवाय । शायद उनले रचेका सङ्गीतले बाँच्न ऊर्जा दिएकै हुनु पर्छ । लाग्छ, नत्र त मरिहाल्थे नि । एक पटक भेटेर खुलस्त कुरा गर्ने रहर जागेको छ । अङ्कमाल गर्ने रहर जागेको छ ।
बाबु लाहुरे हुँदा भारत तिरै पढेका उनको अङ्ग्रेजी पनि सामान्य नेपालीको भन्दा राम्रो छ । हेर्दा लाग्छ, कुनै सम्भ्रान्त परिवारका मुखिया हुन् । बाहिरबाट जति सभ्रान्त देखिन्छन्, भित्रबाट बिलकुलै उल्टो । मानिसको मनको पीडा अनुहारबाट कहाँ पत्तो लाग्दो रहेछ र’ । तर, उनी बोलीमा जति नम्र छन्, मन त्योभन्दा पनि नम्र छ । मलाई विश्वास छ । शायद जालझेलबाट मुक्त रहेकै कारण बुढेसकालसम्म काठमाडौँमा घर जोड्न नसकेका होलान् ।
अन्य सहरिया झैँ सङ्गीतको पनि शौक छ । अस्ति मात्र टेलिफोनमा भन्दै थिए, ‘यो कोभिडले उब्जाएका समस्याका कारण डिप्रेसनमा जान्छु कि जस्तै भइसक्यो ।’ मलिन आवाजमा उनले बोलेका ती वाक्यले मेरो मनलाई अमिलो बनायो । किनकि बेला बखत म पनि यस्तै सोच्छु । घरको भित्तालाई लामो समयसम्म नियाल्दा त्यसले नै खर्लप्प निलिदिन्छ कि जस्तो पो लाग्छ । मैले अनुभव गरेको छु । शायद उनलाई पनि त्यस्तै लाग्दो हो ।
त्यसमाथि उनले त सन्तान, पत्नी सबैको वियोग व्यहोरेका छन् । कति तर्साउँदो हो, ती घरका भित्ताहरूले एक्लो उनलाई । आखिर लकडाउनमा उनले गर्न नै के सके र’ एकतमास भित्ता नियाल्नु सिवाय । शायद उनले रचेका सङ्गीतले बाँच्न ऊर्जा दिएकै हुनु पर्छ । लाग्छ, नत्र त मरिहाल्थे नि । एक पटक भेटेर खुलस्त कुरा गर्ने रहर जागेको छ । अङ्कमाल गर्ने रहर जागेको छ ।
अवश्य केही समयका लागि भए पनि सहर आफ्नै स्वरुपमा फर्कने छ । अब केही दिनपछि त पुरा रफ्तारमा हुइँकिने छ होला । दसैँ आउन लागेको छ नि । बजार पनि केही रन्किने नै छ । लाग्न थालेको छ, उनी पनि सार्वजनिक यातायात चढेर बजार घुम्न निस्कने छन् । जबरजस्ती नै सही, कोरोनाबाट मर्ने त्रासलाई जितेर । डिप्रेसनबाट नमर्ने कसम खाएर । प्रार्थना छ, खाँदिएका गाडी र मानिसका गन्धले गुम्सिएका सहर–बजारले उनलाई कोरोना पीडित नबनाओस् । उनको ज्यान जोखिममा नपरोस् ।
०००
कोरोना महामारीले मानिसको मनमा पनि कतै डढेलो त लगाएको छैन ? यस्तो पनि लाग्न थालेको छ । त्यही डढेलोले कतिपयका काला मनलाई झनै कालो बनाएको हुनुपर्छ ।
एक जना अर्को पनि छन् चिनापर्चीका व्यापारी । कोरोनाको महामारीअघि राम्रै चलिरहेको उनको व्यवसाय अहिले ठप्प रहेछ । ठप्प के, धराशायी बनेको छ । जति पुँजी जम्मा थियो, खाएर र कर्मचारीलाई भोको मर्न नदिएर रित्याएछन् । करोडपति व्यापारी गरिबको श्रेणीमा ओर्लिएका छन् ।
प्राय सहरिया झैँ बसेको घर पनि ऋण काढेरै किनेका रहेछन् । व्यापारी न थिए, बेला मौका काम लाग्ने सोचेर सहकारीबाट ऋण पनि लिएका रहेछन् । घर किन्न र व्यापार चलाउन । बैङ्कबाट धितो बराबर ऋण त लिएका नै थिए । उनको टाउकोमा अब बस् ऋण मात्र बाँकी छ रे । अनि धरौटी राखेका सम्पत्ति पनि । बचत त रित्तिइसक्यो रे ।
अस्ति दिक्क मानेर भन्दै थिए, ‘न बैङ्कले नत सहकारीले नै टेन्सन दिन छाडेका छन् । आम्दानी शून्य छ । झन् तनावमाथि तनाव थपिएको छ । ब्याज नतिरौँ सारा सम्पत्ति र व्यापार नै डुब्ला भन्ने डर । सामाजिक प्रतिष्ठा नै माटोमा मिल्ला भन्ने त्रास । तिरौँ त कसरी तिरौँ, कुनै उपाय नै छैन । यहाँ परिवार कै पेट पाल्न कठिन छ । अरूलाई कसरी बुझाउने खै ? डिप्रेसनमा गइन्छ कि जस्तो पो लाग्न थालेको छ । अब मिटर ब्याज मै केही रकम उठाऊँ कि जस्तो पो लाग्न थालेको छ । तनावले मर्नुभन्दा दुई गाँस कम खानै वेश हुन्छ कि ।’
उनले ऋण लिएका सहकारी कै एक सञ्चालकले ३६ प्रतिसतमा ब्याज दिन्छु भनेको पनि छन् रे । लाग्यो, राम्रै मुनाफा गर्दै रहेछन्, सहकारी सञ्चालकहरू । लाग्यो, छ्या कस्तो मन ती सञ्चालकको दुखीका घाउमा झनै नुन चुक दल्न सक्ने ।
ती मित्रको करण रोदन सुनेर मनमनै लाग्यो पनि । यस्ता मुनाफाखोर संस्थाहरूलाई तुरुन्त सरकारी करण गर्नु पर्छ । अनि सरकारले राहत दिएरै भए पनि नागरिकको ज्यान जोगाउनु पर्छ । हिजो पाखुराको भरमा राजश्व बुझाएकाले भोलि पनि कमाएर यो सरकारलाई पाल्ने नै छन् । सरकारले आफ्नै जनतामाथि विश्वास गर्न नसके, कोमाथि गर्ने त ? तर, सरकार पनि त मुनाफाखोर नै त छ । राजश्व उठाउन लासको गिन्ती बढाउन पनि पछि नपर्ने ।
हो, अब बजार खुल्ने छन् । दसैँ कै बहानामा सही । कामना छ, मेरा मित्रको व्यापार फेरि फस्टाओस् । उनले डिप्रेसनको औषधी खान नपरोस् । कुनै दिन उनको अकल्पनीय मृत्युको खबर पनि यो कानले सुन्न नपरोस् । सुन्न थालेको छु, हिजोआज डिप्रेसनका कारण आत्महत्याको दर पनि बढ्दो छ रे । मन अकल्पनीय भयले काँप्छ नै ।
०००
उच्च मध्यम र मध्यम वर्ग जो आफ्ना पाखुरामा विश्वास गर्छन् अहिले उनीहरू समेत यस्तो दयनीय अवस्थामा आएका छन् । आज कमाएर आजैको छाक टार्नु पर्ने गरिब जनताको अवस्था झन् कति दयनीय बनिसक्यो होला ? कति जना डिप्रेसनमा गइसके होलान् ? अनि कतिले मृत्युलाई नै स्वीकार गरिसके होलान् ? कति घरमा त चुल्होमा भाँडा नबसालिइएको पनि निकै दिन बितिसके होलान् । नत्र किन लाग्थ्यो र’ राहतको खाना खान लाइन । आफूलाई दरिद्र देखाउने चाहना आखिर कसको नै हुन्छ र’ ।
यो बस्तीका कालो मन भएका बासिन्दाले यस्ता पीडा कहाँ देख्न र सुन्न सक्लान् र’ ? यो समाजले अभावमा तड्पिएर वरण गरिएका मृत्युलाई कोरोनाका कारण भएको भनेर कसरी मान्न सक्ला र ? हिजोआज मस्तिष्क पनि रन्थनाउन थालेको छ । मनको भाका दिमागले बुझ्न छाडेको छ ।
अझै निकै मृत्यु हामीले सहनु पर्ने नै छ । कोलाहल अझै बढ्ने नै छ । कति निन्द्राहरू अझै हराउन बाँकी नै छन् । किनकि मेरो सहरमा पुरानै रौनक फर्कँदै छ । अब सडक र आकाशमा पनि जाम हुनेछ ।
हुनत सरकार त आफ्नो आम्दानीका लागि जनताको बलि दिन तयार छ कि जस्तो पो देखिन्छ । कर उठाउने बेला राजश्व कार्यालयमा हुने ठेलम् ठेललाई बेवास्ता गर्छ । तर, घरभित्र सामाजिक दुरी कायम गर्ने नारा घन्काउँछ । काला मन भएकाहरूको रैथाने बस्तीको थप एक बासिन्दा बनेको छ, हाम्रो सरकार ।
व्यापारीको राहतका लागि बिस्तारै खुल्ला गरिएको यो सहरले अझै कति लास निल्नुपर्ने हो ? आदेश जारी गर्नेहरू समेत ओठ लेप्र्याउन बाहेक केही गर्न सक्दैनन् । सिधै भन्नु पर्दा यो सहरको जनसङ्ख्या घटाउने बहानाहरू पो तयार हुँदै छन् । किन लकडाउन र निषेधाज्ञा जारी हुन्छ र खारेज गरिन्छ, जनताले बुझ्न सकेका छैनन् ।
हुनत त पेटमा माड कसरी लगाउने भन्ने सुर्तामा रहेका जनताले सत्ताबाट हुने अनेकौँ जालझेलका तानाबाना बुझ्न पनि सक्दैनन् नै । त्यसैले अब लाग्न थालेको छ । आकाशमा देखिने सेता बादल मात्र भ्रम हुन् कि भनेर । ती सबै सेता बादलभित्र काला बादल लुकेका हुन्छन् कि जस्तो पो लाग्न थालेको छ । जब मौका पाउँछ, गर्जन थालिहाल्छ । लाग्छ, हाम्रो समय पनि त्यसरी नै चल्दै होला । बाहिर जति तामझाम देखिए पनि मन भित्र पीडाका काला बादल मडारिएकै छ ।
मस्तिष्क सोच्न बाध्य छ, अहिले सहरमा देखिएको चमक दमकले भोलि कतिका घर र मनमा अँध्यारो ल्याउने हो कुन्नि ? मन भन्छ, यति पनि सहर नखुले कोरोनाले भन्दा बढी भोक र तनावले लासहरू जन्माउने छन् । डिप्रेसनका बिरामीहरूको सङ्ख्या बढाउने छ । आर्यघाट झनै ‘जाम’ हुनेछ ।
हो, सहर खुल्दै छ । मेरो पुरानै बस्ती झैँ देखिने पनि छ । तरपनि, मलामी जान बन्देज नै छ । आफन्तका लासमाथि एक थुँगा फूल चढाएर दुई थोपा आँसु चुहाउन र पुछ्न पनि बन्देज नै छ । लकडाउन त अझै रहेछ, खुल्ला आकाशमा विचरण गर्न लालायित मनमा । अनि अझै खुलेको रहेनछ लकडाउन, अभिभावक वा सन्तान वियोगमा पुगेकाहरूलाई अङ्कमाल गरेर ढाडस दिने चाहनामा ।
फेरि सोच्न बाध्य हुन्छु । जनतालाई युरिया मल सहजरुपमा बिक्री गर्न नसक्ने । अनि मल किन्नेहरूको कोसौँ लामो लाइनलाई पनि टुलुटुलु हेर्न बाध्य मेरो सरकार वास्तव मै लाचार नै रहेछ । यस्तो महामारीको बेला हरेक किसानको आँगनमा मल पुर्याएर जनतालाई ‘ए मेरो पनि राज्य रहेछ’ भन्ने विश्वास दिलाउनुको सट्टा ‘तिमीहरूको काम मात्र हामीलाई भोट हाल्ने हो’ भन्ने नीचताको सीमा पार गरिसकेको सरकारसँग के नै आशा गर्ने र खै ?
अब त शायद म जस्तै धेरैले मेरो देशमा सरकार पनि छ भन्ने बिर्सिसकेका हुनु पर्छ । अनि लाग्छ, किसानलाई धान फलाउने युरिया मल दिन नसक्ने सरकारले दसैँका लागि नयाँ नोट छापेर किन नौटङ्की गर्नु ? पसलहरू किन खोल्नु पर्यो ? फेरि लाग्छ, बाँच्न त ती व्यापारीहरूले पाउनु पर्छ नै । सरकारले नहरेपछि पसल त खोल्नै पर्यो नि । तर, यसपालिको दसैँमा नयाँ समानको व्यापारलाई पनि कोरोना महामारीले सलह झैँ सखाप पार्छ कि भन्ने भय उनीहरूको मनमा पनि दबिएकै होला । शायद डिप्रेसनका बिरामीहरूको सङ्ख्या त्यसपछि पनि बढ्न सक्छ नै होला ।
हो, सहर खुल्दै छ । मेरो पुरानै बस्ती झैँ देखिने पनि छ । तरपनि, मलामी जान बन्देज नै छ । आफन्तका लासमाथि एक थुँगा फूल चढाएर दुई थोपा आँसु चुहाउन र पुछ्न पनि बन्देज नै छ । लकडाउन त अझै रहेछ, खुल्ला आकाशमा विचरण गर्न लालायित मनमा । अनि अझै खुलेको रहेनछ लकडाउन, अभिभावक वा सन्तान वियोगमा पुगेकाहरूलाई अङ्कमाल गरेर ढाडस दिने चाहनामा ।
तरपनि, खुसी नै छु । मेरो बस्तीको चमक फर्किँदै छ भनेर । चाहे भोलिका दिनमा अथाह लासको वियोगमा पछुताउन नै किन नपरोस् । तर आज निकै खुसी नै छु । किनकि मेरा सन्तानले यसपालिको दसैँमा पनि कुनै मलमा किनिने नयाँ लुगा पहिरिन पाउने छन् । दशैँ मनाउने परम्परा नटुट्ने भएको छ । बिहानै आएको पराकम्प झैँ ।