यो ब्रह्माण्डले खाने चक्करसँगै समय पनि बद्लिरहन्छ तर, भाग्य भने केहीको मात्र । हो, बद्लिँदैन त मात्र समयको रफ्तार । एक सुरले हिँडे पनि । हतार गरे पनि, थकाइ मारे पनि । न रोकिन्छ, न थामिन्छ । आफ्नो चाललाई नियन्त्रणमा राखेर अघि बढिरहन्छ । मात्र ऊसँगै हिँड्नेको चाल पो बिगार्न खप्पिस हुँदो रहेछ, समय ।
राजा महेन्द्रले यो लोक छाड्दा म जन्मिएको थिइन । वीरेन्द्रको राज्याभिषेकमा भने यो लोकमा मेरो पर्दापण भइसकेको थियो । म जन्मिएकाले मात्र त के होला र ? यो देशले हरेक दशक केही न केही परिवर्तनको स्वाद वा बेस्वाद चाख्नु परेको । उज्यालोको आशामा अँध्यारो मात्र सहनु परिरहेको ।
मेरो जन्म र सिंहदरबारमा आगलागी केही समयको अन्तराल मै भएको रहेछ । तर, त्यही वर्ष पाएको रहेछ नेपालले एउटा नैतिकवान् प्रधानमन्त्री, कीर्तिनिधि विष्टका रूपमा । जसले सिंहदरबार जलेको कारण नैतिकताका आधारमा राजीनामा दिएका रहेछन् । नेपालले न त उनी अघि नतै उनीपछि कुनै त्यस्तो नैतिकवान् नेता पाउन सक्यो । बरु समयसँगै धेरै ‘नेरो’हरू यो देशले पायो । मुलुक जल्दा पनि बाँसुरी कै धुनमा मस्त रहने । समयसँगै बदलिरह्यो नेताहरूको चरित्र ।
त्यही बम काण्डले काँग्रेसको सत्याग्रह तुहियो । सिंहदरबारको सपना देखेका सिंह निर्वासनमा भारत जानु पर्यो । तत्कालीन व्यवस्थाले उनलाई मृत्यु दण्डको फैसला सुनायो ।
म जन्मिएकै दशक नेपालमा पहिलो र एक मात्र जनमत सङ्ग्रह भयो । बहुदल हार्यो, सुधारिएको पञ्चायती व्यवस्थाको जित भयो । जित र हारको पाटा केलाउन सक्ने जति ठुलो पनि भइसकेको थिइन । किन र कसरी कसको जित र कसको हार भयो, इतिहासले साक्षी बकिसकेको छ । बरु त्यही पञ्चायती व्यवस्थालाई जिताउन सकुनीको भूमिका निभाएका सूर्यबहादुर थापाले भविष्यमा अविश्वासको प्रस्तावबाट सत्ता च्युत हुनु पर्यो । जनमत सङ्ग्रहमा पञ्चायतलाई जिताएको ४ वर्षपछि नै उनलाई पञ्चायतका अनुदारवादी खेमा मानिने लोकेन्द्रबहादुर चन्दहरूले अविश्वास प्रस्तावबाट सत्ता च्युत गरे ।
४० को दशक, सूर्यबहादुरमाथि अविश्वासको प्रस्तावबाट सुरु भए पनि त्यसको २ वर्ष मै नेपाली काँग्रेसले शान्तिपूर्वक शासन व्यवस्था परिवर्तन गराउने उद्देश्यबाट सत्याग्रह पनि गरेकै थियो । जसलाई गणतन्त्रवादीहरुले नै सफल हुन दिएनन् । गणतन्त्रवादी नेताको छवि बनाएका रामराजाप्रसाद सिंहको नेतृत्वमा रहेको जनवादी मोर्चाले नारायणहिटी राजदरबारसहित दर्जनौँ स्थानमा बम विस्फोट गरायो ।
त्यही बम काण्डले काँग्रेसको सत्याग्रह तुहियो । सिंहदरबारको सपना देखेका सिंह निर्वासनमा भारत जानु पर्यो । तत्कालीन व्यवस्थाले उनलाई मृत्यु दण्डको फैसला सुनायो । त्यस बेलासम्म म केही बुझ्ने भइसकेको थिएँ । बम पड्किएको दिन सारा मुलुक स्तब्ध थियो । केही व्यक्तिहरूको ज्यानसमेत गएको थियो । जताततै चर्चा मात्र विस्फोट कै हुन्थ्यो । निकै दिन त्यो चर्चा सेलाउन पाएन । एक दिनको बम काण्डले राज्यलाई स्तब्ध बनाएको थियो । तर, कालान्तरमा त्यस्ता विस्फोटका समाचारलाई वास्ता समेत गर्न छाड्नु पर्ने दिन आयो । समयसँगै मन पनि बदलिँदो रहेछ । समयसँगै मानिस पनि बद्लिँदा रहेछन् । काँचो माटो झैँ हृदय पनि चट्टान झैँ कठोर बन्दा रहेछन् ।
त्यो बम काण्डको २ वर्षपछि नै ७१ जना खेल प्रेमीको ज्यान जाने गरी दशरथ रङ्गशालामा दुर्घटना भयो । जनकपुर चुरोट कारखाना र बङ्गलादेशको मुक्तिजोद्धा बिच खेल भइरहेको बेला अचानक असिनासहित हुरी बतास चल्दा भएको भाग दौडमा ती व्यक्तिहरूको ज्यान गएको थियो । तत्कालीन शिक्षामन्त्री केशरबहादुर विष्ट र एन्फाका अध्यक्ष कमल थापाले नैतिकताका आधारमा राजीनामा दिएका थिए । राजनीतिबाट आज हराएको नैतिकता त्यस बेला देखाइयो । उनै नेतामा पनि आज त्यही नैतिकता जीवित छ कि छैन भन्ने दोधार मनमा सधैँ उत्पन्न हुन्छ । समयको रफ्तारसँगै मानिसको मन पनि बदलिन्छ । कठोर बन्छ । अनि समय पनि बद्लिँदो रहेछ ।
जनमत सङ्ग्रह भएको ठ्याक्कै १० वर्षपछि नेपालमा पञ्चायती व्यवस्थाविरुद्ध जनआन्दोलन नै भयो । एउटा व्यवस्था फालियो, अर्को ल्याइयो । परिवर्तन आयो, शासन व्यवस्थामा । तर, आएन जनताको भाग्यमा परिवर्तन ।
बहुदलीय व्यवस्थाको सुरुवात नै राजनीतिक चलखेलबाट भयो । ४७ सालको संविधान लागू गराउने प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको हारसँगै शिशु बहुदलीय व्यवस्थाको जन्म मै दाग देखिन थाल्यो । अनि अनियमितता र भ्रष्टाचारले राज्य प्रणालीमाथि प्रहार गर्न थालेको बज्रले बनाएका घाउहरू अहिले पनि सुक्न पाएका छैनन् । बरु पीडा झन् बढ्दै छ । घाउ झन् पाक्दै छन् । केही व्यक्तिको हातमा सीमित हुन पुगेको राज्य शक्तिले गरिबको आँसु कहिल्यै पुछ्न सकेन । नेताको महल ठडिँदै जाँदा जनताको चुहिएको छानो कहिल्यै टालिएन । जनताको आँखा र छानाबाट पानी चुहिन पनि कहिल्यै छाडेन । समय बद्लिएको छ तर, भाग्य बद्लिएको छैन । गरिबका छत बद्लिन पाएको छैन । चेली बेचबिखन रोकिन सकेको छ । युवाहरूको विदेश भासिने बाध्यता हटाउन सकिएको छैन । बरु तीनै युवाहरूले पसिनाका रूपमा बगाएका रगतको कमाइलाई रेमिट्यान्सका रूपमा देश भित्राउन पाउँदा शासकलाई लाज लाग्न छाडेको छ । गर्व महसुस हुन थालेको छ । समय बद्लिएको छ ।
एउटा हत्या काण्डले नेपालको इतिहासलाई फरक मोड दियो । अनियमितता र भ्रष्टाचार, राजनीति गर्नेका लागि जन्मसिद्ध अधिकार बन्यो । त्यो पनि मान्नै पर्छ । अनि राजनीति व्यापार बन्न थाल्यो ।
बहुदलीय व्यवस्थाका विसङ्गतिको फाइदा लिन पायो, ५० को दशकको सुरुवात मै सुरु भएको माओवादी सशस्त्र युद्धले । राज्यबाट हेपिएर निसास्सिएका जनतालाई आकाशको तारा टिपेर दिने सपना देखाउँदा मुलुकले एक दशकभन्दा बढी रक्तपातमा बिताउनु पर्यो । त्यही कारण हिजोसम्म लटरम्म घानका बाला झुल्ने खेतहरू बाँझो रहन थाले । खेत जोत्ने युवाहरू कि माओवादी तिर लागे कि त विदेश भासिए । जता दौडिए पनि ती युवाहरूको सपना भने एउटै थियो । सुन्दर भविष्यको खोजी । सशस्त्र द्वन्द्वमा लागेका युवाहरूको सपना अहिले पनि त्यही हात नलागेको तारालाई टोलाइरहेको छ । तर, नेताका सपनाका महल यथार्थमा परिणत हुँदै गएका छन् । फाटेको चप्पलको स्थान महँगा ब्रान्डेड जुत्ताले लिँदै छ । वास्तव मै समय बदलिँदो रहेछ । कसैका सपनालाई फलैंचाका रूपमा बिपना मै ओछ्याइदिँदो रहेछ त कसैको सपनालाई बिहानी हुनु अगावै चुँडेर लग्दो रहेछ ।
२०५० को दशकको अन्त्यतिर यो मुलुकले अर्को अकल्पनीय दिन देख्नु पर्यो । राजा वीरेन्द्रको वंश नास भएको दिन शायद कसैले बिर्सन सक्छ होला । त्यो हत्या काण्ड एउटा पागल प्रेमीको मनको भडास थियो कि कुनै षडयन्त्रको जालो ? आज पनि सबैको मस्तिष्क हुँडलिरहेको छ । मदन भण्डारीको हत्या गरियो कि दुर्घटना भन्ने यथार्थ खोतल्न नखोज्ने राज्यको शीर्ष शक्तिमा रहेका उनका आफन्तहरूले झन् दरबार हत्या काण्डलाई फेरि के खोतल्लान् र’ कुन्नि ? दरबार हत्या काण्डले धेरैको मन रुवायो तर, सीमित व्यक्तिको स्वार्थपूर्ति गर्ने माध्यम पनि बन्यो । सिधै भन्नु पर्दा त्यही हत्या काण्डले नेपालमा गणतन्त्रको श्री गणेश गर्यो भनेर मान्नै पर्छ । एउटा हत्या काण्डले नेपालको इतिहासलाई फरक मोड दियो । अनियमितता र भ्रष्टाचार, राजनीति गर्नेका लागि जन्मसिद्ध अधिकार बन्यो । त्यो पनि मान्नै पर्छ । अनि राजनीति व्यापार बन्न थाल्यो ।
नेपालको इतिहास जहिलेदेखि लेखिन थालियो । त्यही बेलादेखि राजतन्त्र पनि अस्तित्वमा रहेको इतिहास लेखियो । गोपालवंशदेखि शाहवंशसम्म । तर, हजारौँ वर्षको इतिहास २०६० को दशकबाट फरक लेखिन थाल्यो । सशस्त्र जनयुद्धलाई परिवर्तनको बटम लाइन बनाउनेहरू थकित हुन थाले । राज्य हिंसामुक्त हुने कल्पनाले नै मनहरू फुरुङ हुन थाले । मुलुकमा हुने हिंसा त रोकियो तर, मनमा हुने हिंसा रोकिएन । जनताको सपनामाथि तोप पड्कन रोकिएन । खाडीको तातो बालुवामा मरेका सपना जगाउने असफल प्रयासहरू पनि रोकिएका छैनन् । भाग्य बदलिएन, बस् क्यालेन्डरका पाना मात्र बदलिए । सपनाको वजन मात्र फेरिए । सपनाका आकार मात्र फेरिए ।
इतिहास मै पहिलो पटक हामी राजा बिनाका प्रजा बन्यौँ । शासन जसले गरे पनि जनता भोको रहनु हुन्न भन्ने मान्यताले सधैँ मेरो मनमा राज गर्यो । तर, गणतन्त्र झन् बोझिलो बनेर आयो, जनताका लागि । एउटा राजाको अस्तसँगै अनेकौँ राजा उदाउन थाले । सीमित व्यक्तिको स्वार्थमा राज्य सञ्चालन हुन थाल्यो ।
उध्रिएका सपना फेरि बुनिने आसामा हरेक दशक झैँ लगाइने परिवर्तनका नयाँ नारामा साथ दिएका जनताहरू अब आजित हुन थालेका छन् । नेता अझै नोटको बिटो गनेर थाकेका छैनन् । समय वास्तव मै बद्लिँदो रहेछ । सपना उन्न त बस् नेताले मात्र जानेका हुँदा रहेछन् । जनताको सपना उधार्दै ।
२०७२ सालमा आएको विनाशकारी भूकम्पको पराकम्पन त अहिले पनि महसुस हुन्छ नै । त्यस बेला आसा थियो, अब देशको मात्र होइन मनको पनि पुनर्निर्माण हुन्छ भनेर ।
अहिले हामी बाँचिरहेको २०७० को दशक पनि पहिले यो मुलुक र अहिले सारा संसारका लागि अभिशाप बनिरहेको छ । आफू बाँचेको समयलाई धिक्कार्नु पर्ने अवस्था आएको छ ।
२०७२ सालमा आएको विनाशकारी भूकम्पको पराकम्पन त अहिले पनि महसुस हुन्छ नै । त्यस बेला आसा थियो, अब देशको मात्र होइन मनको पनि पुनर्निर्माण हुन्छ भनेर । भूकम्पले सारा राजनीतिक दल नजिकिएका थिए । मुलुकको ढुकुटीलाई घाँडो बनिरहेको संविधान सभाले मुलुकको नयाँ संविधान पनि जारी गर्यो । भुईँचालोले काँपेका मनहरूलाई केही राहत दियो । भारतले लगाएको नाकाबन्दीका समयलाई समेत नेपालीले हाँसेरै बिताइ दिए । लामो समयपछि मुलुकले राजनीतिक स्थायित्व दिन सक्ने सरकार पायो । तर, जनताका भाग्यमा लागेको नाकाबन्दीलाई नयाँ संविधानले उघार्न सकेन । भाग्यमा कोरिएका स्थायी दुखलाई मेटाउन सकेन । नेताको स्वभावमा परिवर्तन आएन । चुहिएका छतहरू अझै टाल्न सकिएन । फाटेका मन त झन् कसरी सिउन सकिन्थ्यो र ?
अहिले कोरोना भाइरसले आतङ्क मच्चाएको छ । सरकारले जनताका अगाडि हात उठाएको छ । निर्लज्ज बनेर ‘अब हामी तिम्रो उपचार गर्न सक्दैनौ,’ भनी सकेको छ । यसको सोझो अर्थ जो सँग भाग्य र खर्च गर्न सक्ने हैसियत छ, उसले यो मुलुकमा बाँच्ने अधिकार पाएको छ । बाँकीलाई पशुपतिनाथले बचाए खै कुन्नि ? नत्र ‘राम नाम सत्य’ पक्का छ । हामीले घाँटी सुकाएर र रगत बगाएर ल्याएको नयाँ नेपाल यस्तै छ । जहाँका शासकमा न नैतिकता छ, नतै जनताप्रति उत्तरदायित्व बोध । यस्ता परिवर्तन त बस्, केही व्यक्तिको सत्ता चढ्ने भर्याङ मात्र पो बन्दो रहेछन् । जनताको भाग्य कहिल्यै बदलिएन । बदलियो त बस् समय मात्रै ।
जिन्दगी केही वर्ष मै आधा शताब्दी पनि पुरा गर्दै छ । हरेक वर्ष नै भित्तामा नयाँ क्यालेन्डर फेरिए । त्यति नै पटक पुराना पर्व पनि दोहरिएर आए । समृद्धिका कामना र चाहना भने कहिल्यै फेरिएन । फेरि पनि समय बदली रह्यो, भाग्य कहिल्यै बदलिएन ।
जे भए पनि परम्परा निभाउनै पर्ने रहेछ । यो बडा दसैँले कोरोना भाइरस र समाजका भाइरसबाट मुलुकको रक्षा गरुन् । यही कामना छ ।
शुभ विजया !